Comments Add Comment

फाल्गुनन्द गोल्डकपः एनआरटी सेमीफाइनलमा प्रवेश

रवीन्द्र काफ्ले
पाँचथर, ११ पुसः
पाँचथरको फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सल्हेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजीत गर्दै न्यू रोड टिम (एनआरटी) क्लब, काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलको निर्धारित समयमा दुवै फुटवल टोलीबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा एनआरटीका लागि कृतिश छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन बिष्टले गोल गर्नुभएको थियो । यता सल्हेशका कुलदीप कार्की, बिवेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गर्दा विदेशी खेलाडी हेन्रीको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बनाउन सफल हुनुभयो।
निर्धारित समयमा दुवै टोलीले गोल गर्ने राम्रो अवसरहरु गुमाएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आजको खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ दी म्याच) एनआरटीका अभिषेक लिम्बू घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो।


क्वाटरफाइनलका खेलहरु सकिएपछि प्रतियोगिताको सेमीफाइनलको समिकरण पूरा भएको छ । जसअनुसार भोलि पहिलो सेमीफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौंवीच प्रतिस्पर्धा हुने छ । यस्तै शनिवार आजको विजेता एनआरटीले मछिन्द्र क्लबको सामना गर्ने छ।
प्रतियोगिताको फाइनल खेल यही पुस १५ गते हुने छ । प्रतियोगिताका विजेता टोलीले रु. १० लाख तथा उपविजेता टोलीले रु. पाँच लाख पुरस्कार सहित ट्रफी प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै