काठमाडौँ, १५ कात्तिक : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गर्नुभएको छ । पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उहाँले बताउनुभयो।
आजदेखि पाँचवटा भाषा (नेपाली, अङ्ग्रेजी, मैथिली, नेपाल र अवधी) मा समाचार दिन थालेको ‘नयाँ विकल्प’ अनलाइनलाई शुभकामना दिँदै अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव दिनुभयो । “आजको प्रविधिको युगमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ”, उहाँले भन्नुभयो–“तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।”
प्रेस काउन्सिलले तीन महिनायता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको अध्यक्ष बस्नेतले बताउनुभयो । प्रेस काउन्सिलले सञ्चारमाध्यमको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ । –––