+
+

९७ वर्षमा गाउँलाई भ्यू–टावर ‘उपहार’

Clock २०८२ आश्विन २८, मंगलवार १५:२२
-- Sponsored --

पाँचथर, २८ असोजः

पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका जसबहादुर खेवाङले ९७ वर्षको उमेरमा निजी लगानीमा भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिनुभएको छ। 

बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त हुनुभएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आउनुभएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू–टावर निर्माण गर्नुभएको हो। रु. १५ लाखको लागतमा निर्माण गरिएको भ्यू–टावरको सोमवार निर्माणकर्ता खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गर्नुभयो। 

खेवाङको ९७ औं जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका वडा नं. ६ को कार्यालय र स्थानीयवासीले भ्यू–टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए। भ्यू–टावरको उद्घाटनपछि पछिल्लो पुस्तामा प्रचलनमा रहेझैं केक काटेर खेवाङको जन्मदिन मनाइएको थियो । भेला भएका स्थानीयवासी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायतले मिठाइ र फलफूल खाएर खेवाङको जन्मदिन मनाएका थिए । 

वयोवृद्ध खेवाले गाउँमा आइपर्ने सबै समस्याहरुमा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक–६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले वताउनुभयो । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले वताउनुभयो ।

उमेरले ९७ वर्ष पुगेपनि खेवाङ हिँडडुल, दैनिक सामान्य काम र गाउँलेसँग नियमित भेटघाट गर्दै आउनुभएको छ । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भएपनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको वताउनुभयो। 

“उहाँलाई यहाँ गाउँमा पाउनु नै ठूलो कुरा हो । त्यसमाथि उहाँले गाउँका हरेक क्षेत्रका योगदान दिनुभएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो, “उहाँको आउँका हरेक क्षेत्रका योगदान दिनुभएको छ”, उपाध्यक्ष मेन्याङ्बोले भन्नुभयो, “उहाँको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ । ९७औं जन्मदिनमा हामीले उहाँ अझै १०÷१५ वर्ष स्वस्थ रहनुस् भनेर कामना गरेका छौं ।”

खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त हुनुभएको छ । १९८६ साल असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मनुभएका खेवाङको परिवार २००५ सालदेखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना हुनुभएको थियो । वि.सं. २०३२ सालमा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आउनुभएको छ ।

खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन । आफू पटक–पटक घुम्न बेलायत गएपनि बस्न मन नलागेको उहाँको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भन्नुभयो, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौं, दार्जिलिङ लगायत ठाउँमा बसौं भनेका थिए । तर मलाई यहाँ (परेवाडाँडा)मै बस्ने सहज लागेर बसेको हुँ ।”

आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुशी भएको उहाँको भनाइ छ । “मैले गाउँमा आवश्यक परेको ठाउँमा आफूले सक्दो आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको छु । दिएर त सकिने केही छैन । तर यसमै गाउँका सबै खुशी छन”, खेवाङले भन्नुभयो, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू–टावरमा विश्रामस्थल, मोवाइल चार्ज गर्ने ब्यवस्था समेत मिलाइएको छ । भ्यू–टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौं गाउँहरु तथा पाँचथरतर्फ नेपाल–भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिने स्थानीयवासीको भनाइ छ । 

वयोवृद्ध खेवाङले गाउँमा चिया रोपेर गाउँलेहरुलाई रोजगारी दिनुका साथै उत्पादनका विभिन्न क्षेत्रमा काम गर्ने अवसर स्थानीय युवाहरुलाई दिएको स्थानीयवासी यामकुमार काम्बाङको भनाइ छ । “नयाँ–नयाँ उत्पादनमूलक फलफूल, बोटविरुवा तथा बालीनाली लगाएर एक त उहाँले गाउँमा नयाँ शिक्षा दिने गर्नुहुन्छ भने त्यसमै गाउँलेलाई रोजगारीको अवसर पनि मिलेको छ”, काम्बाङले भन्नुभयो ।

खेवाङको जन्मदिन यहाँको गणेश माध्यमिक विद्यालयले समेत सामूहिक रुपमा मनायो । विद्यालयका सयौं विद्यार्थीहरुले वयोवृद्ध खेवाङलाई जन्मदिनको अवसरमा शुभकामना दिएका थिए । खेवाङले उक्त विद्यालयको ब्यवस्थापन समितिको सदस्यको रुपमा समेत काम गरी आर्थिक र शैक्षिक रुपमा ठूलो योगदान पु¥याएको प्रधानाध्यापक अविकेशर भारतीले वताउनुभयो । खेवाङको पहलमा उक्त विद्यालयका दुई वटा भवनहरु गोरखा वेलफेयर ट्रस्टले निर्माण गरिदिएको थियो । 

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस