+
+

सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित

144 पटक हेरिएको
Clock २०८१ कार्तिक २८, बुधबार १३:०२
-- Sponsored --

AI सारांश

Fast AI

१. याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा १८ महिनादेखि समस्या झेल्दै आएका छन्।
२. यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन, र गोरेटो बाटोसमेत अवरुद्ध छ।
३. यी क्षेत्रबाट मेवा खोलालाई पाँच स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ, तर खोला तर्नुपर्ने पाँचमध्ये तीन स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ।

पाँचथर, २८ कात्तिकः बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन्। यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन।

यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ। बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताउनुभयो।

जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ। मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो।

“खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ”, गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि बोकेर समरजुङ हुँदै च्याङथापू पुर्याउनु परेको उहाँले बताउनुभयो । यी क्षेत्रबाट मेवा खोलालाई पाँच स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ । खोला तर्नुपर्ने पाँचमध्ये तीन स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ । गाउँले मिलेर पैदलमार्ग बनाए पनि स्टेचर बोकेर हिँड्न मिल्ने ठाउँ छैन । “हामी ठूलो समस्यामा छौँ । डेढ वर्ष भयो यस्तो बेहाल भोगेको । बाढी आयो कि फड्के बगाइहाल्छ”, बाढीपहिरो प्रभावित क्षेत्र मङ्गरडाँडाका स्थानीयवासी वडाध्यक्ष खालिङले भन्नुभयो, “गाउँलेहरू मसँग गुनासो गर्नुहुन्छ । हामी एक्लैले समस्या समाधान गर्न सकेनौँ ।”

आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उहाँले बताउनुभयो । “यो सडक पुनर्निर्माण गर्न थोरै पैसाले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले हाम्रा समस्या बुझेका छैनन्”, वडाध्यक्ष खालिङले भन्नुभयो । गोरेटो बाटो नहुँदा यहाँका स्थानीयले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेरै घर पुर्याउने गरेका छन् ।

अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन्। बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय स्थानीय बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका भने कोही झापा नै पुगे”, वडाध्यक्ष खालिङले भन्नुभयो, “साना नानी हुने धेरै जनाले अहिले गाउँ छाडिसकेका छन् ।”

दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ । “सानो नानी जोगाउन नै कठिन हुने। जताततै पहिरो थियो”, अशोककी श्रीमती धनकुमारी राईले भन्नुभयो, “नानी पढाउनकै लागि च्याङथापूमा बसेर सानो व्यवसाय थालेका छौँ ।”

बाढीपहिरो प्रभावित बस्तीसहित लामपोखरीलाई जोड्ने उद्देश्यले समरजुङबाट मङ्गरडाँडासम्म विस्तार भएको कृषि सडकलाई गाउँपालिकाले मास्लोगाउँमा रहेको पुरानो ट्रयाकमा जोडेको थियो। नयाँ ट्रयाक निर्माण भएपछि ट्रयाक्टरमा खाद्यान्नलगायत सामग्री गाउँसम्म पुर्याइएको थियो। लामपोखरीस्थित सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)मा समेत नयाँ ट्रयाकबाट खाद्यान्न पुर्याइएको थियो। तर गत साउन र असोजमा खसेको पहिरोले उक्त ट्रयाक पनि क्षतिग्रस्त बनाएको छ।

“यही नयाँ ट्रयाकलाई वैकल्पिक सडक बनाउने हाम्रो योजना छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “सडक मर्मत गर्न प्राविधिकले निरीक्षण पनि गरिसकेका छन्। गाउँपालिका र प्रदेश सरकारलाई बजेट मागेका छौँ। याङवरक–१ च्याङथापूका १० बस्तीका तीन सय घरपरिवार डेढ वर्षदेखि बाढीपहिराको चपेटामा परे पनि सरकारी निकायको यहाँ उपस्थिति छैन।” खोलाघारीका राजेश राईले भन्नुभयो, “हामी बर्खा लाग्यो कि त्रासमा बाँच्नुपर्छ। गाउँपालिकाले सामान्य सहयोग गरे पनि अन्य सरकारी निकायले हामीलाई हेरेका छैनन्।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win