रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका-५ का निर्वतमान वडाअध्यक्ष याम बहादुर बोहोराले जन्म दिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ। बोहोराले ६३ औं जन्म दिनको अवसर पारेर दुई विद्यालयका ८१ जना विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको शैक्षिक सामाग्री बितरण गर्नुभएको हो। वडाको जनकल्याण आधारभूत विद्यालयका १४ र कागेश्वरी आधारभूत विद्यालयका ६७ गरी ८१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बोहोराले जानकारी दिनुभयो । कक्षा–१ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई पुस्तकको संख्या अनुसार कपी, पेन्सिल, डट र कटर बितरण गरिएको थियो।
जन्मदिन मनाउदा अनाश्वयक खर्च गर्ने परम्परा बढेको भन्दै आफुले त्यस्तो परम्परा तोड्न शिक्षा क्षेत्रमा लगानी गरेको बोहोराले बताउनुभयो। आगामी दिनमा पनि निरन्तर शिक्षा क्षेत्रमा थप लगानी गर्दै जाने बोहोराको भनाइ छ। शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी कुम्मायक गाउँपालिका–५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र निवर्तमान गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बोहोराले शिक्षा क्षेत्रमा गरेको लगानी उदाहरणीय रहेको भन्दै प्रशंसा गर्नुभएको थियो।
यस अघि पनि उहाँले ६३ औं जन्म उत्सव पारेर सोही वडाका हिमालय र देउराली आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरुलाई २२ हजार मुल्य बराबरको स्कुल ब्याग वितरण गर्नुभएको थियो।


