0 प्रतिक्रिया
सगरमाथा आरोही किशोर लिम्बुको टोलीद्वारा पाँचथरको मुवा झरनामा क्यान्योनिङ सफल परीक्षण
पाँचथर । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ र ६ को संगमस्थलमा अवस्थित मुवा झरनामा पहिलोपटक क्यान्योनिङ (Canyoning) खेलको सफल परीक्षण गरिएको छ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसक्नु भएका किशोर लिम्बुको नेतृत्वमा रहेको टोलीले बुधबार उक्त साहसिक खेलको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो। टोलीमा सुजन तामाङ, मनोज लिम्बू र जिवन सिलवाल समेत सहभागी थिए।
क्यान्योनिङ प्राकृतिक खोँच, झरना तथा खोल्साबाट डोरीको सहायताले ओरालो झर्ने, पौडी खेल्ने, चट्टान चढ्ने र फड्को मार्ने जस्ता गतिविधिको संयोजनबाट गरिने साहसिक खेल हो। यस खेलका लागि उपयुक्त भौगोलिक संरचना, पानीको बहाव, उच्चस्तरीय सुरक्षा उपकरण र अनुभवी मार्गदर्शक अनिवार्य मानिन्छ। विश्वका विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको क्यान्योनिङ नेपालमा पनि साहसिक पर्यटनको नयाँ सम्भावनाका रूपमा विकसित हुँदै गएको छ।
मुवा झरनामा गरिएको परीक्षणका क्रममा झरनाको उचाइ, चट्टानी बनावट, पानीको तीव्रता तथा सुरक्षाका पक्षहरूको अध्ययन गरिएको जनाइएको छ। अनुभवी आरोहीको नेतृत्वमा परीक्षण सफल भएपछि मुवा झरना क्यान्योनिङका लागि उपयुक्त गन्तव्य बन्ने सम्भावना थप बलियो भएको सहभागीहरूको भनाइ छ।

परीक्षण कार्य सफल बनाउन फालेलुङ गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष भरत कुमार खपाङ्गी मगर, वडा नं. ६ का वडा अध्यक्ष अमर राई लगायतका जनप्रतिनिधि साथै स्थानीयवासीको महत्वपूर्ण सहयोग रहेको जनाइएको छ। स्थानीय तह र समुदायको सहकार्यले साहसिक पर्यटन विकासमा नयाँ ढोका खुलेको उनीहरूको विश्वास छ।
यस स्थान नेपालको मात्र नभई विश्वस्तरमै उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा विकास हुन सक्ने उच्च सम्भावना रहेको श्रेष्ठले जानकारी गराउनुभयो। उहाँका अनुसार भौगोलिक संरचना, झरनाको प्राकृतिक बनावट र वातावरणीय सौन्दर्यका कारण मुवा झरना अन्तर्राष्ट्रिय स्तरका क्यान्योनिङ गन्तव्यसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतायुक्त स्थान हो।
प्राकृतिक सौन्दर्यसँगै रोमाञ्चक अनुभव प्रदान गर्ने मुवा झरनालाई आगामी दिनमा बिगिनरदेखि एडभान्स स्तरसम्मका खेलाडीका लागि उपयुक्त साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसमार्फत पाँचथरलाई सुरक्षित, व्यवस्थित र उत्कृष्ट साहसिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अघि सारिएको छ।
यस प्रकारका साहसिक खेल गतिविधिले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।













