0 प्रतिक्रिया
कुम्मायकमा २६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी सम्मानित
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिकामा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्तीको अवसरमा ४२२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
२. कक्षा १२ को परीक्षामा उत्कृष्ट GPA हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
३. कार्यक्रममा सहभागी अतिथिहरूले महागुरु फाल्गुनन्दका विचारहरूको महत्त्व र शिक्षाको क्षेत्रमा यस्ता कार्यक्रमको सकारात्मक योगदानको चर्चा गरेका छन्।
मनोज थापा
पाँचथर । १६औँ राष्ट्रिय विभूति, समाज सुधारक तथा शान्तिका अग्रदूत महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीको अवसरमा पाँचथरको कुम्मायक गाउँपालिकामा २६८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै कक्षा १२ को परीक्षामा उत्कृष्ट GPA हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ।
महागुरु फाल्गुनन्द शालिक संरक्षण, संवर्द्धन तथा अक्षयकोष समिति, कुम्मायक यासोकको आयोजनामा मंसिर २ गते गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
समितिका अध्यक्ष सूर्यविक्रम चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती प्रमुख अतिथि रहनुभएको थियो। गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङ र प्राज्ञ तथा भाषाविद् हरिश्चन्द्र लावती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिकाभित्रका ३५ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का २६८ जना विद्यार्थीलाई कापी, कलम, इरेजरलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययनप्रति प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, कक्षा १२ को परीक्षामा उत्कृष्ट GPA हासिल गर्ने पाँच जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ। सम्मानित हुनेमा साधारण धारतर्फ पृथ्वी माध्यमिक विद्यालयका रवि लावतीले ३.४३ GPA, सिद्ध सरस्वती माध्यमिक विद्यालयकी अन्जु सेर्माले ३.४२ GPA र पृथ्वी माध्यमिक विद्यालयकी अनुसा चम्लागाईंले ३.४२ GPA हासिल गरेका छन्।
त्यसैगरी, प्राविधिक धारतर्फ पृथ्वी माध्यमिक विद्यालयका जेनिश खतिवडाले ३.४८ GPA र तारा खड्काले ३.६५ GPA हासिल गरेका छन्। उत्कृष्ट नतिजा प्राप्त गर्ने पाँचै जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
कार्यक्रममा सहभागी अतिथिहरूले महागुरु फाल्गुनन्दका विचार, दर्शन, आदर्श तथा समाज सुधारका योगदानको चर्चा गर्दै उहाँले देखाउनुभएको मार्गलाई व्यवहारमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थीको शैक्षिक विकास, अध्ययनप्रतिको रुचि र मनोबल अभिवृद्धिका लागि शैक्षिक सामग्री वितरण तथा उत्कृष्ट विद्यार्थी सम्मानजस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्नुका साथै शैक्षिक उपलब्धिको कदर गर्ने संस्कार विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसैबीच, समितिका कोषाध्यक्ष चन्द्रप्रसाद निरौलाले संस्थाको आय–व्यय विवरण प्रस्तुत गर्दै आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमको समापनमा सभाध्यक्ष तथा समितिका अध्यक्ष सूर्यविक्रम चेम्जोङले उपस्थित अतिथि, सहयोगी तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
महागुरु फाल्गुनन्दको विचार, दर्शन, आदर्श तथा योगदानको स्मरण गर्दै विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने र उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






