+
+

घोडाभन्दा पनि छिटो दगुर्ने साइकल

102 पटक हेरिएको
Clock २०८१ असार २९, शनिबार ०४:४७
-- Sponsored --

AI सारांश

Fast AI

१. गणेश दाइको आँगनको डिलमुनिको थुम्कोमा उभिएर म ११ वर्षे केटो म बाटोमा एकटक हेरिरहेको छु, जहाँ हुलकाहुल सेता गाईगोरु, हलो जोतेझैँ दुईवटा गोरुले तानिरहेको भाउजूले लडिया भनेर चिनाएको चिज हिँडिरहेको छ ।
२. मैले पहिले कहिल्यै नदेखेको एउटा अनौठो वस्तु देखेँ, जुन पर स्कुलको ओरालोबाट दगुर्दै आयो र त्यसमाथि बाँदर बसेझैँ बसेको मान्छे अलिअलि निहुरिएर दुईवटा हातले बुटाका सुकेको डालीजस्तोलाई मुठीले समातिरहेको छ ।
३. गणेश दाइले मैले हेरिरहेको वस्तुलाई 'साइकल' भन्नुभयो र मैले त्यसपछि दिनभर त्यस्ता साइकलहरू हेरिरहेको छु, जसमा मान्छे बसेको, मान्छेले खुट्टा चलाएको र दुईवटा चर्खा फनफन्ती घुमेर हेरुँहेरुँ लागिरहेको थियो ।

आङमा फाटेको भोटो, शीरमा झुत्रा परेको मैलो टोपी, चैतको घामको रापले रातोपिरो भएको अनुहार, धुँलोले सेताम्मे भएका साँप्रा र पिँडुला, टोपी बाहिर निस्केको शिखा पारेको लामो टुपी, नाकको चुच्चाबाट सिगान चुहिन थालेको, पटपटी फुटेका खाली पाइतालाले टेकेर डलिमा ठिङ्ग उभिएको, केही दिन पहिले पहाडबाट तराई झरेको ११ वर्षे केटो म ।

म, गणेश दाइको आँगनको डिलमुनिको थुम्कोमा उभिएर तल मूल बाटोमा एकटक हेरिरहेको छु । त्यो बाटोमा कतिबेला हुलकाहुल सेता गाईगोरु हिँडिरहेका छन् । कतिबेला हलो जोतेझैँ दुईवटा गोरुले तानिरहेको भाउजूले लडिया भनेर चिनाएको चिज हिँडिरहेको छ । कतिबेला एउटा लौरोको दुईतिर दाउराको भारी अड्याएर बुरुकबुरुक खर्ल्याङ-खर्ल्याङ उछिट्टिँदै टाउकोमा फेटा बाँधेका लोग्ने मान्छेहरू हिँडिरहेका छन् । कतिबेला वक्ष र नितम्ब वरिपरिको भाग मात्रै ढाकेका टाउकोमाथि हेमानको भारी राखेका आइमाइहरू निमोठिँदै र कम्मर मर्काउँदै हिँडिरहेका छन् । यस्तै अनेक हिँडाइहरूले बाटोभर बुङबुङ्ती धुँलो उडिरहेको छ । म नजिकैको थुम्कोमा ठिङ्ग उभिएको छु । एकसुर हेरिरहेको छु । छक्क परिरहेको छु । र, उदेक मानिरहेको छु । 

यत्तिकैमा पहिले कहिल्यै नदेखेको एउटा अनौठो वस्तु देख्छु मैले- त्यो पर स्कुलको ओरालोबाट दगुर्दै आयो । म पनि त्यसलाई हेर्न दगुर्दै बाटोछेउमै पुगेँ । त्यहाँ त एक  जना मान्छे सुकेको बुटाको हाँगामा बाँदर बसेझैँ बसेको छ, अलिअलि निहुरिएर दुईवटा हातले बुटाका सुकेको डालीजस्तोलाई मुठीले समातिरहेको छ र बामे नसरेको बच्चाले झैँ सकिनसकी दुई खुट्टा बेस्करी फालिरहेको छ । छट्पटाएजस्तो गरिरहेको छ । धागो कात्दा घुमाउने चर्खाजस्तै दुईवटा वस्तु भुईंमा टेकेर बेतोडले घुमिरहेका छन् फनफन्ती । त्यो नजिकैको काठको धुरामा चड्यो र घर्ल्याङ-घर्ल्याङ गर्दै, धुँलो उडाउँदै त्यो अगाडि बढ्यो र मेरो नजिकै अगाडिबाट मृगझैँ मिल्कियो । सुइँकुच्चा ठोक्यो । त्यसमाथि बसेको मान्छे पनि सँगै लतारिँदै गयो, खुट्टा फालीफाली । अलि पर गएपछि ‘किर्लिङ-किर्लिङ’ आवाज आयो । मैले हेरेँ । त्यो पर महदैया चौराहातिर पुग्यो । मैले त्यो गएतिरै हेरिरहेँ । त्यो ओजेलमा पर्‍यो । देखिन छाड्यो । म घर आएँ ।

साइकलको पछाडि केही फलामका औजारहरूसमेत देखिन्थे । उनी ह्यान्ड पाइप गाड्ने मिस्त्री रहेछन् । साइकल देखेर म गणेश दाइको घरतिर गएँ । हाम्रो घर गणेश दाइको नजिकै थियो । साइकल ठडाएर राखिएको थियो । म सरासर साइकल भएतिरै लागेँ, त्यसका सबै अंग-अंग हेरेँ । 

मेरा लागि त्यो कहिल्यै नदेखेको अद्भूत दृश्य थियो । रातिको खाना खाएर ओछ्यानमा पल्टेपछि अनेक तर्कनाहरू ‘के होला त्यस्तो वस्तु ? कसरी अडिँदा हुन् मान्छेहरू त्यसमाथि ? के खाँदो हो त्यसले ? कति बलियो होला त्यो त्यसरी मान्छेलाई बोकेर बेतोड दौडिन सक्ने ?’ कतिबेला उज्यालो होला र बाटोको त्यो चहलपहल हेरुँला भन्ने रन्को लागि रह्यो । भोलिपल्ट बिहान उठेर मुख धोइवरी सकेपछि दगुर्दै गएँ, त्यहीँ गणेश दाइको आँगनको डिलको थुम्कोमा । देखिनेसम्म बाटोभर आँखा बिच्छाएँ । हिजोको दृश्य दोहोरिन थाल्यो सबैभन्दा अनौठो त्यही बुटाको हाँगा जस्तोमा मान्छे बसेको, मान्छेले खुट्टा चलाएको र दुईवटा चर्खा फनफन्ती घुमेर हेरुँहेरुँ लागिरहेको थियो । मैले हेर्दाहेर्दै दुई-तीनवटा त्यस्ता निकै आत्तुरी भएझैँ गरेर मेरो अगाडितिर आए, मलाई नहेरी हुइकिँदै गए । एउटाले त त्यसमाथि बसेका दुई जना मान्छे लतारिरहेको थियो । मैले थुक निल्दै, सिगान पुछ्दै हेरिरहेँ । ‘ए कान्छा अघिनैदेखि के हेरेर बसिच्चौ ? घरमा आमाले खोजेर हैरान छ । भात खान जाउ अरे ?’ एउटा परिचित आवाजले झसंग भएँ । पछाडि फर्केर पिलिक्क हेरेँ । गणेश दाइ । 

‘बाटो हेरिच्चु दाइ’ लजाउँदै जवाफ दिएँ । 

यतिकैमा फेरि दुई चर्खे वस्तु मेरा आँखा अगाडिबाट दौडियो । औँलाले त्यसैतिर इसारा गर्दै सोधेँ मैले ‘तो के हो नि दाइ ?

गणेश दाइले छित्रा दाँत देखाएर खितित्त हाँस्दै भन्नुभयो – ‘ए, तेइ हेरेर बसेका हौ ? तेल्लाई ‘साइकल’ भन्चन कान्छा । जाऊ घर अब, आमा कान्छो कहाँ गयो भनेर आत्तिनु भइच । खाना खाएपछि आएर दिनभर हेरौँला ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win