ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं २ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको प्राङ्गणमा चासोक तङ्नामको अवसर पारी लालीमा युवा क्लबको आयोजनामा जारी तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिताको उपाधि समीकरण पूरा भएको छ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गत दुई संस्करणको उपविजेता टोली कुम्मायक स्पोर्टिङ क्लव कुम्मायक, पाँचथरका सुशील लावतीको एकमात्र निर्णायक गोलमा उपाधि नजिक पुगेको हो। प्रगतिशील युवा क्लब ताप्लेजुङ र कुम्मायक स्पोर्टिङ क्लब पाँचथर बीच भएको रोमाञ्चक प्रतिस्पर्धामा साँघुरो नतिजामा पाँचथर विजेता बन्दै लगातार तीन पटक फाइनल खेल्ने एकमात्र टोली बनेको छ। उक्त खेलमा निर्णायक गोल गरेका सुशील लावती म्यान अफ द म्याच बन्दै रु २००० सहित ट्रफी प्राप्त गरेका छन्।
प्रतियोगिताकोदोस्रो सेमीफाइनल लालीगुराँस स्पोर्टिङ युथ क्लब ताप्लेजुङ र योङ बोइज धरान सुनसरी प्रतिस्पर्धा गर्दा निर्धारित समय गोल रहित बराबरीमा टुंगिए पश्चात उक्तखेलको अन्तिम निर्णय पेनाल्टी मार्फत निकालिएको हो। पेनाल्टी सुटआउटमा योङ बोइज धरानले सम्पूर्ण प्रहारलाई गोलमा परिणत गर्दा लालिगुराँस स्पोर्टिङ क्लबको तर्फबाट दुई प्रहार खेर गएको थियो। समग्रमा ताप्लेजुङलाई धरानले ४/१ को नतिजामा पराजित गर्दै उपाधी नजिक पुगेको हो। उक्त खेलमा प्रभावशाली खेल पस्किएका धरानका कप्तान लक्ष्मण लिम्बु म्यान अफ द म्याच घोषित हुँदै नगद रु २००० सहित ट्रफी प्राप्त गरेका छन्।
बिहिबार उपाधिका लागि कुम्मायक स्पोर्टिङ पाँचथर र योङ बोइज धरान सुनसरी बिच दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको बिजेताले नगद रु १ लाख ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले ९० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरू रहेका छन्।







