Comments Add Comment

लोरिपामा बोहोरा बन्धुहरूको कुलपूजा : परम्परा, पहिचान र एकताको सन्देश

युद्धबहादुर बोहोरा

पाँचथर-पाँचथरको कुम्मायक–५ लोरिपामा कपिल गोत्रीय बोहोरा समुदायले मंसिर १९ र २० गते भव्य उधौली गोठधुप तथा कुलपूजा सम्पन्न गरेको छ। बोहोराबन्धु परिवार प्रतिष्ठान, कुम्मायक शाखा यासोकद्वारा आयोजित कार्यक्रम मंसिर १९ गते बिहान ९ बजे कुलधामी भिमबहादुर बोहोराको निवासमा गोठधुप, दाजुभाइहरूको सामूहिक भेला तथा सांस्कृतिक अनुष्ठानबाट सुरु भएको थियो। मुख्य पूजाविधि भने मंसिर २० गते बिहान ११ बजे कुलधामीद्वारा सम्पन्न गरियो। सहभागी बन्धुहरूले फलफूल, भेटी, दूध, धूप, अक्षता आदिसहित परम्परागत शैलीअनुसार पूजा–अर्चना गरेका थिए।

कार्यक्रममा कुम्मायक, तुम्बेवा, मिक्लाजुङ, इलाम (फाकफोकथुम/खाम्बाङ), झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लाबाट बोहोरा बन्धुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष लालबहादुर बोहोरा, केन्द्रीय सचिव पहलमान बोहोरा, कुम्मायक शाखा अध्यक्ष यामबहादुर बोहोरा, उपाध्यक्ष युवराज बोहोरा, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष तेजबहादुर बोहोरा तथा समितिका सदस्यहरू सहित बाल–बालिका देखि ९० वर्षे अग्रजसम्म ठूलो संख्यामा सहभागी थिए।

शाखाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै बन्धु, चेली–बेटी तथा अग्रजहरूप्रति आभार व्यक्त गरेको छ। शाखाको २०७९ को कार्यसमितिले अनिवार्य सहभागिताको निर्णय गरेकाले कार्यक्रम अझ व्यवस्थित र अनुशासित भएको बताइएको छ। कुलधामी भिमबहादुर बोहोराले दान गरेको एक रोपनी जग्गामा निर्मित लोरिपा कुल मन्दिर अहिले बोहोरा समुदायको साझा आस्थाको केन्द्रका रूपमा स्थापित भएको छ।

मन्दिर निर्माणका लागि ५ नं. वडा कार्यालयबाट रु. १,९३,८०० र समुदायबाट रु. ६,२३,९४७ संकलन गरी कुल रु. ८,१७,७४७ खर्च भएको शाखाले जनाएको छ। मन्दिर परिसरमा अझै सडक, खानेपानी, शौचालय, भुईमा टायल र पूजास्थल व्यवस्थापनका काम आवश्यक रहेको पनि बताइएको छ।

कार्यक्रमका क्रममा कुलधामीले ५२ कुलदेवताहरूको उत्पत्ति, सत्य–त्रेता–द्वापर–कलियुगसम्मको परम्परा, कपिल गोत्रीय बोहोराहरूले अपनाउँदै आएको धार्मिक विधि तथा लोरिपालाई पवित्र थलो मान्ने विश्वासका आधारबारे विस्तृत जानकारी प्रस्तुत गरे। यसैबीच शाखाको वंशावली अद्यावधिक कार्य निरन्तर जारी रहेको र वाजे–बाबु, आमा, छोरी–चेली सहित विस्तृत विवरण समेटिएको जानकारी सचिव नरेन्द्र बोहोराले दिए।

२०७३ सालमा शाखाले बनाएको सात निर्णय—शुभ–अशुभमा अनिवार्य निमन्त्रणा, मृत्युमा दशौँ दिन सामूहिक उपस्थिति, गोठधुप–कुलपूजामा अनिवार्य सहभागिता, बाहिर बस्नेको मृत्युसमाचार तुरुन्त प्रवाह, जुठो चलन यथावत, काजकिरिया सकिँदासम्म शुभकार्य रोक्ने तथा समितिको निर्णय कार्यान्वयन—हालसम्म निरन्तर लागू रहेको शाखाले जनाएको छ।

बोहोराबन्धु परिवार प्रतिष्ठानका पूर्व केन्द्रीय सचिव जगत बोहोरा अनुसार, वि.सं. २०४१ पौष ७ मा मानबहादुर बोहोराको अध्यक्षतामा प्रारम्भ भएको प्रतिष्ठानले वंशावली अभियान १७ औँ पुस्तासम्म अभिलेखीकरण गरिसकेको छ। पछिल्ला वर्षहरूमा मोतिबहादुर बोहोरा, टेकबहादुर बोहोरा, रत्नबहादुर बोहोरा, ललित बोहोरा हुँदै हाल देवेन्द्र बोहोरा नेतृत्वमा प्रतिष्ठान अघि बढिरहेको छ।

हालका सल्लाहकार संयोजक जगत बोहोराले तीन दशकभन्दा बढी सचिवको नेतृत्व सम्हाल्दै वंशावली तथ्याङ्क संकलन तथा विभिन्न गतिविधि सञ्चालन गरिएको बताए। २०६४ मा प्रतिष्ठान दर्ता भइसकेपछि २०६८ मा ललित बोहोरा अध्यक्ष बनेका थिए। त्यसपछि डिल्लीबहादुर बोहोराको संयोजकत्वमा बनेको वंशावली खोज समिति मार्फत २०७० सालमा ३४४ पृष्ठको पहिलो संस्करण पाँच सय भन्दा बढी प्रकाशित भएको थियो। दोस्रो संस्करण छिटो ल्याउन बन्धुहरूबाट सुझाव तथा तथ्य संकलन भइरहेको छ।

वि.सं. २०४२ माघ २९ को निर्णयअनुसार रत्नबहादुर, रुद्रबहादुर र जगत बोहोरा सहितको टोलीले भैरहवा, गोरखा र काठमाडौं क्षेत्रमा रहेका बोहोरा परिवारहरूको खोजीपछि बोहोराहरू कपिल गोत्रीय भएको प्रमाणित गरेका थिए। ८० वर्षे पण्डित दण्डपाणि अर्याल र योगी नरहरिनाथसँगको भेटपछि बोहोराहरू कपिलदेवका शिष्य–सन्तानको परम्परामा आधारित रहेको तथ्य वंशावलीमा उल्लेख गरिएको छ।

गोत्र पहिचान र बन्धु एकताको उद्देश्यले २०४१, २०४२ र २०४३ मा कनकाई माईनजिक कोटिहोम यज्ञस्थलमा क्रमशः श्रीमद्भागवत, श्रीदेवीभागवत र हरिवंश पुराणको आयोजना गरियो, जसमा करिब ४ सय बोहोरा घरधुरी सहभागी भएका थिए। हाल झापा दमक–४ स्थित कृष्ण मन्दिर क्षेमा प्रमुख कुल मन्दिरको रूपमा प्रयोग हुँदै आएको छ भने कोटिहोममा नयाँ मन्दिर निर्माण अन्तिम चरणमा पुगेको शाखाले जनाएको छ।

बोहोराहरूको मूल थाक–थलो पूर्वी नेपालको रामेछाप मानिन्छ। पुर्खाहरू त्यहाँबाट भोजपुर हुँदै पाँचथरको लोरिपासहित झापा, मोरङ, सुनसरी, इलाम तथा पूर्वका विभिन्न भू–भागमा विस्तार भएका छन्। यस वर्ष झापा–मोरङका बोहोराहरू पनि लोरिपामै भेला भई पूजा–अर्चना गरेका थिए।

यस वर्षको गोठधुप–कुलपूजा धार्मिक अनुष्ठान मात्र नभई वंशीय पहिचान, परम्परा संरक्षण र समुदायिक एकतालाई सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा अविस्मरणीय रह्यो। कार्यक्रमले परम्परा संरक्षण र बन्धु एकताको संदेश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै