+
+

भाषणमुखी होइन, पहाड बचाउने राजनीति आवश्यक छ : हर्कबहादुर नेम्वाङ ‘मिक्सो’

64 पटक हेरिएको
Clock २०८२ माघ २८, बुधबार १४:१५
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले भाषणमुखी राजनीति होइन, पहाड बचाउने राजनीति आवश्यक रहेको बताएका छन्।
२. उनले पाँचथर जिल्लाका ग्रामीण क्षेत्रहरू अर्ध-मृत अवस्थामा पुगेको उल्लेख गर्दै गाउँमा वृद्धवृद्धा बाहेक अन्य उमेर समूहको उपस्थिति न्यून हुँदै गएको बताए।
३. नेम्वाङले पाँचथरमा सरकारी मेडिकल कलेज स्थापना गर्न विगतदेखि नै पहल गर्दै आएको जानकारी दिँदै निर्वाचित भए सबै सरोकारवाला पक्षलाई समेटेर वृहत छलफलमार्फत पाँचथरको विकास मोडेलको खाका तयार गरिने बताए।

पाँचथरः नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले अब भाषणमुखी राजनीति होइन, पहाड बचाउने राजनीति आवश्यक रहेको बताएका छन्। मंगलबार पत्रकार भेटघाट तथा चुनावी एजेण्डा सार्वजनिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । प्रेस सेन्टर नेपाल, पाँचथरको आयोजनामा फिदिमस्थित होटल मनस्वीमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उम्मेदवार नेम्वाङले आफू पहिलो पटक निर्वाचन प्रतिस्पर्धामा सहभागी भएको र विगत २६ वर्षदेखि निरन्तर रूपमा जनताको माझ रहेर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको बताए। उनले जेन्जी आन्दोलनबाट उठेका जनमुखी मुद्दाहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न वर्तमान निर्वाचन आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले पाँचथर जिल्लाका ग्रामीण क्षेत्रहरू अर्ध-मृत अवस्थामा पुगेको उल्लेख गर्दै गाउँमा वृद्धवृद्धा बाहेक अन्य उमेर समूहको उपस्थिति न्यून हुँदै गएको बताए। कृषिमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न सके वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने उनको भनाइ थियो। किसान केन्द्रित योजना निर्माण तथा कार्यान्वयन अपरिहार्य रहेको उनले बताए। उनले पहाडी क्षेत्रलाई राज्यले दीर्घकालदेखि उपेक्षा गर्दै आएको टिप्पणी गर्दै ठूला विकास योजनाको अभावका कारण पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा बजार संरचना कमजोर बनेको उल्लेख गरे। पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले निर्वाचनमा विजयी भएमा पहाडी क्षेत्रका नागरिकको जीवनस्तर सुधार गर्न नीतिगत तहबाट पहल गरिने बताए। शिक्षा र स्वास्थ्य सेवा कमजोर भएकै कारण तराईतर्फ बसाइँसराइ बढेको उल्लेख गर्दै त्यसलाई रोक्न स्थानीयस्तरमै गुणस्तरीय सेवा विस्तार गरिने प्रतिबद्धता जनाए। नेम्वाङले पाँचथरमा सरकारी मेडिकल कलेज स्थापना गर्न विगतदेखि नै पहल गर्दै आएको जानकारी दिँदै निर्वाचित भए सबै सरोकारवाला पक्षलाई समेटेर वृहत छलफलमार्फत पाँचथरको विकास मोडेलको खाका तयार गरिने बताए। साथै भाषिक विद्यालय स्थापना, सुशासन प्रवर्द्धन, विकास निर्माण कार्यलाई प्रभावकारी बनाउने तथा बजार व्यवस्थापन र विस्तारमा जोड दिइने योजनासमेत सार्वजनिक गरे।

कार्यक्रममा पत्रकारले राखेको “तपाईं पनि उही ढ्याङको मुला हुनुभयो भने के गर्ने ?” भन्ने जिज्ञासाको जवाफ दिँदै उम्मेदवार नेम्वाङले आफू झुटो आश्वासन नबाँड्ने स्पष्ट गरे। उनले सम्भव हुने र कार्यान्वयन गर्न सकिने विषयमा मात्र जनतासमक्ष प्रतिबद्धता जनाउने बताए। जथाभावी बोलेर पछि चुनौतीमा पर्नुभन्दा यथार्थपरक र जिम्मेवार राजनीति आवश्यक रहेको उनको भनाइ थियो। उनले अन्त्यमा भाषण होइन, पहाड बचाउने राजनीतिको खाँचो रहेको उल्लेख गर्दै सोही दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टीको चार अध्यायमा आधारित चुनावी घोषणापत्रअनुसार जिल्लामा पनि प्रभावकारी रूपमा कार्य गरिने उनले बताए। राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, भ्रष्टाचार छानबिन, संविधान पुनरावलोकनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ थियो। विभेद र असमानताको अन्त्य गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, परिणाममुखी प्रशासन प्रणाली विकास गर्ने तथा खर्चिलो निर्वाचन प्रणालीलाई सरल र कम खर्चिलो बनाउने विषयलाई घोषणापत्रमा समेटिएको उनले जानकारी दिए। मिक्सोले पाँचथरको विकासका लागि आफ्नो चुनावी एजेण्डालाई जनतासमक्ष पूर्णरूपमा कार्यान्वयनयोग्य बनाउने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार पार्टीले सानो आकारको मन्त्री परिषद् निर्माण, युवामैत्री नीति तथा आधुनिक विकासलाई प्राथमिकता दिने लक्ष्यसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नेकपा घोषणापत्रका मुख्य बुँदाअनुसार दुई वर्षभित्र ‘भोकमुक्त नेपाल’ बनाउने, गरिबीको दर पाँच प्रतिशतमा झार्ने, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्ने, वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने, दलित तथा अल्पसंख्यक युवालाई सहुलियत ऋण उपलब्ध गराउने, एक वर्षभित्र सबै किसानलाई परिचयपत्र वितरण गर्ने, २० सहरलाई स्मार्ट सिटी र ग्रामीण बस्तीलाई स्मार्ट भिलेजका रूपमा विकास गर्ने, २०८८ सालसम्म सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने, मन्त्री संख्या घटाएर विज्ञसहित सानो मन्त्रिपरिषद् गठन गर्ने, शिक्षालाई पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय बनाउने, युवा जनशक्तिलाई देशभित्रै रोक्ने नीति अपनाउने, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा जोड दिने लक्ष्य घोषणापत्रमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win