0 प्रतिक्रिया
कुम्मायक–कुस्सायक : आस्थाको धरोहरदेखि पर्यटन समृद्धिको सम्भावनासम्म
धार्मिक विश्वास, किराँत इतिहास, मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सके पूर्वी नेपालकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना
मदन थापा
पाँचथर । पूर्वी नेपालको पहाडी भूगोलमा अवस्थित कुम्मायक गाउँपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो। धार्मिक आस्थाका महत्वपूर्णस्थल, किराँत समुदायको मौलिक संस्कृति, पुस्तौँदेखि चलिआएका किंवदन्ती, हिमाली दृश्य, हरियाली पहाड र स्थानीय कृषि उत्पादनले कुम्मायकलाई अन्य क्षेत्रभन्दा फरक पहिचान दिएको छ।
कुल १२९.२९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुम्मायक गाउँपालिका साविक यासोक, माङजाबुङ, रानीगाउँ र स्याबरुम्बा गाविसलाई समेटेर बनेको हो। पाँच वडामा विभाजित गाउँपालिकाको केन्द्र यासोक बजार हो। जिल्ला सदरमुकाम फिदिमबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा रहेको यासोक आफैँमा पाँचथरको पुरानो तथा ऐतिहासिक बजारका रूपमा परिचित छ।
यासोक बजारलाई केन्द्र बनाएर वरिपरिका धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रलाई पर्यटनसँग जोड्न सकिने सम्भावना प्रशस्त छ। त्यसको प्रमुख आधार बनेका छन्—कुम्मायक, कुस्सायक र युमाधाम।
कुम्मायक नाममै जोडिएको धार्मिक पहिचान
कुम्मायक गाउँपालिकाको नामकरणसमेत धार्मिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको छ। प्रसिद्ध धार्मिकस्थल कुम्मायकको नामबाट गाउँपालिकाको नाम कुम्मायक राखिएको हो।
यासोक बजारको वरिपरिका दुई डाँडामा रहेका कुम्मायक र कुस्सायक धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र हुन्। यी क्षेत्र प्राकृतिक रूपमा पनि निकै आकर्षक छन्। मौसम खुलेका बेला यहाँबाट टाढा देखिने हिमाली हिम शृङ्खला, पहाडी बस्ती र हरियाली वनको दृश्यले आगन्तुकलाई आकर्षित गर्छ।
कुम्मायक–कुस्सायक क्षेत्रमा धार्मिक आस्था र प्राकृतिक सौन्दर्य एकै ठाउँमा भेटिन्छ। यही कारण यसलाई धार्मिक पर्यटनसँगै प्रकृति तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।
युमाधाम र लिम्बू समुदायको धार्मिक विरासत
कुम्मायक गाउँपालिका वडा नं. –१, ४ र ५ को संगम स्थल वडा नं. १ मा अवस्थित युमाधाम युमा साम्माङका अनुयायीहरूको महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ। लिम्बू समुदायको धार्मिक विश्वास, संस्कार र मौलिक परम्परासँग गहिरोसँग जोडिएको यस क्षेत्रको आफ्नै ऐतिहासिक महत्व छ।
मन्धुममा वर्णित कथन तथा स्थानीय जनविश्वासअनुसार युमा मानव रूप लिएर यस भूगोलमा प्रकट भएको विश्वास गरिन्छ। युमा र उनका अनुयायी, धार्मिक परम्परा तथा विभिन्न स्थानसँग जोडिएका कथाले कुम्मायक–कुस्सायकलाई धार्मिक तथा सांस्कृतिक अध्ययनका दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।
कुम्मायक–कुस्सायकको विशेषता यही हो—यहाँ धार्मिकस्थलसँगै एउटा जीवित संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौखिक इतिहास पनि छ।
आजको पर्यटनमा पर्यटकलाई कुनै स्थानको भौतिक संरचनाभन्दा त्यहाँको ऐतिहासिक पक्ष, संस्कृति र मौलिक जीवनशैलीले बढी आकर्षित गर्ने गर्छ। यस दृष्टिले कुम्मायकसँग आफ्नै मौलिक पर्यटन सामग्री छ।
राजा उवाहाङसँग जोडिएको इतिहास
कुम्मायक–कुस्सायकको इतिहास स्थानीय जनश्रुति र किराँत इतिहाससँग समेत जोडिएको पाइन्छ।
स्थानीय कथनअनुसार राजा उवाहाङ युमाका भक्त थिए। राज्य विस्तारका क्रममा उनले विभिन्न भूभागमा विजय हासिल गर्दै आफ्नो राज्यको सीमा विस्तार गरेका थिए। तत्कालीन मिथिला क्षेत्रको सीमासम्म राज्य विस्तार गरेको कथनसमेत इतिहास तथा जनश्रुतिमा पाइन्छ।
राजा उवाहाङले राज्य विस्तारका क्रममा विजय हासिल गर्न करिब तीन वर्ष समय लगाएको र त्यसको खुसीयाली तथा सम्झनामा कुम्मायक–कुस्सायक क्षेत्रमा युमादेवीको पूजा–आराधना गरी भोज तथा विजय उत्सव मनाएको जनविश्वास छ।
उवाहाङपछि उनका छोरा माबोहाङ इङ्सिङसमेत युमाका भक्त रहेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ। उनीसँग जोडिएको एउटा रोचक कथाले यासोक क्षेत्रको इतिहासलाई अझ रोचक बनाउँछ।
स्थानीय किंवदन्तीअनुसार माबोहाङ आफ्ना मन्त्री तथा केही सहयोगीसहित शिकार खेल्न यासोक क्षेत्रमा पुगेका बेला घना जंगलमा कुकुरले मृग लखेटेको र त्यसपछि मानिस तथा जनावरका आवाज एकाएक हराएर अस्वाभाविक शान्ति छाएको थियो। त्यही समयमा जंगलमा एक महिला तान बुन्दै बसेको देखिएको कथन छ।
माबोहाङले उनलाई आफ्नो दरबारमा लगेर रानी बनाउन चाहेको भए पनि ती महिलाले आफूलाई सामान्य मानिस नठान्न आग्रह गरेको र आफ्नो वास्तविक परिचयबारे संकेत दिएको किंवदन्ती छ। त्यसपछि माबोहाङले सात दिनसम्म युमाको ध्यान, तपस्या र प्रार्थना गरेको र युमाले वृद्ध महिलाको रूपमा दर्शन दिएर शक्ति प्रदान गरेको कथा इतिहासमा पाइन्छ।
यस्ता कथाहरू धार्मिक विश्वासका विषय मात्र होइनन्। कुम्मायकको सांस्कृतिक पर्यटनका लागि यी कथाहरू आफैँमा महत्वपूर्ण सम्पदा हुन्।
कुम्मायक र कुस्सायकमा फरक धार्मिक परम्परा
स्थानीय धार्मिक परम्पराअनुसार कुम्मायकमा धुपबत्ती, फलफूललगायतबाट पूजा–आराधना गर्ने र कुस्सायकमा बलिसहित पूजा गर्ने चलन रहँदै आएको छ।
यस्ता मौलिक धार्मिक अभ्यासले कुम्मायक–कुस्सायकको धार्मिक पहिचानलाई अझ विशिष्ट बनाएको छ। समयक्रममा यहाँ विभिन्न समुदायको प्रवेश र सहभागिता बढ्दै गए पनि यस क्षेत्रको मौलिक धार्मिक तथा सांस्कृतिक महत्व कायम छ।
विशेषगरी २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएपछि ‘राजा र देवता सबैका साझा हुन्’ भन्ने मान्यता स्थापित हुँदै गएसँगै कुम्मायकमा अन्य जातजाति, भाषा र धर्म–समुदायका मानिसहरूको समेत प्रवेश र सहभागिता बढ्दै गएको स्थानीय कथन पाइन्छ। त्यसयता कुम्मायक धार्मिक आस्थाको साझा स्थलका रूपमा विकास हुँदै आएको छ। अहिले यहाँ विभिन्न जातजाति, भाषा, धर्म र समुदायका मानिसहरू श्रद्धापूर्वक पूजा–आराधना गर्न आउने गरेका छन्। यसले कुम्मायकलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सांस्कृतिक विविधता र सहअस्तित्वको प्रतीकका रूपमा समेत स्थापित गरेको छ। यसरी कुम्मायक कुनै एक जाति वा समुदायको मात्र धार्मिकस्थल नभई विभिन्न जातजाति, भाषा र धर्मका मानिसहरूको साझा आस्थाको केन्द्रका रूपमा विकसित हुँदै आएको छ।
अठारौँ शताब्दीदेखिको पुजारी परम्परा
कुम्मायक–कुस्सायकको धार्मिक इतिहाससँग पुजारी परम्परा पनि जोडिएको छ।
स्थानीय जानकारहरूका अनुसार अठारौँ शताब्दीको आसपासदेखि रानीगाउँका रैनमुखी सम्बाहाम्फेले कुम्मायक–कुस्सायकको पुजारीका रूपमा सेवा गरेको इतिहास पाइन्छ। उनलाई युमामाङबाट ईश्वरीय शक्ति प्राप्त भएको र त्यसपछि व्यवस्थित रूपमा पूजा–आराधना सञ्चालन गर्ने जिम्मेवारी पाएको जनविश्वास छ।
त्यसअघि कुम्मायकमा निश्चित विधि र संरचनाभन्दा पनि अवसरअनुसार पूजा गर्ने परम्परा रहेको बताइन्छ। रैनमुखिले सेवा सुरु गरेपछि पूजा व्यवस्थापन तथा मन्दिर संरक्षणको क्रम अघि बढेको जानकारहरुको भनाई छ।
त्यतिबेला मानव बस्ती कम र चारैतिर घना जंगल रहेकाले नियमित रूपमा मन्दिरमा पुगेर पूजा गर्न कठिन थियो। त्यसैले पर्व तथा विशेष अवसरमा मात्रै कुम्मायक–कुस्सायकमा पूजा गर्ने परम्परा रहेको बताइन्छ।
त्रिशाली पर्व : धार्मिक परम्परादेखि पर्यटनको अवसरसम्म
कुम्मायक–कुस्सायकको पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा महत्वपूर्ण सांस्कृतिक अवसरमध्ये एक हो—त्रिशाली पर्व।
राजा उवाहाङले राज्य विस्तार गर्न तीन वर्ष लगाएको खुसीयाली तथा त्यसको सम्झनामा सुरु भएको मानिने तङ्सुम तङ्नाम अर्थात् त्रिशाली पर्व प्रत्येक तीन–तीन वर्षमा वैशाख महिनामा आयोजना हुँदै आएको छ।
यस पर्वमा धार्मिक पूजा तथा मेलासँगै विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, नाचगान र विभिन्न जातजातिका मौलिक भेषभूषा प्रस्तुत हुने गरेका छन्।
परिवार तथा आफन्तबाट टाढा रहेका मानिसहरू पर्वका अवसरमा घर फर्किने, भेटघाट गर्ने र खुसी साटासाट गर्ने परम्पराले त्रिशालीलाई धार्मिक पर्वसँगै सामाजिक एकताको पर्वसमेत बनाएको छ।
अब यस पर्वलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सकिन्छ। स्थानीय खाना, मौलिक संस्कृति, हस्तकला, कृषि उत्पादन, नाचगान र धार्मिक अनुष्ठानलाई एउटै पर्यटन महोत्सवमा समेट्न सके त्रिशाली पर्व कुम्मायकको पर्यटन ब्रान्ड बन्न सक्छ।
कुम्मायकबाट हिमालदेखि पहाडी बस्तीसम्म
धार्मिक महत्वसँगै कुम्मायक–कुस्सायकको प्राकृतिक पक्ष पनि उत्तिकै बलियो छ।
मौसम खुलेका बेला यहाँबाट सगरमाथा, कुम्भकर्ण (फक्ताङलुङ), कञ्चनजङ्घालगायत हिमशृङ्खला देख्न सकिन्छ। राष्ट्रिय फूल लालीगुराँस तथा विभिन्न जैविक वनस्पतिले यहाँको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएका छन्।
डाँडाबाट देखिने पहाडी गाउँबस्ती, हरियाली वन, शान्त वातावरण र चिसो हावापानीले कुम्मायकलाई प्रकृति पर्यटनका लागि समेत उपयुक्त बनाउन सक्छ।
यसलाई पदयात्रा, सूर्योदय–सूर्यास्त अवलोकन, हिमाल दर्शन तथा गाउँ पर्यटनसँग जोड्न सकिन्छ।
धार्मिक पर्यटनसँग कृषि जोड्ने अवसर
कुम्मायक गाउँपालिकाको अर्को महत्वपूर्ण सम्भावना कृषि हो।
अदुवा, बेसार, खुर्सानीलगायतका कृषि उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रसँग जोडिएका छन्। पछिल्लो समय स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणतर्फ समेत चासो बढ्दै गएको छ।
अब यी कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सकिन्छ।
पर्यटकलाई खेतबारी अवलोकन गराउने, स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने, अदुवा–बेसारलगायतका वस्तुको बिक्री गर्ने तथा कृषि फार्मलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने हो भने पर्यटनको लाभ किसानसम्म पुर्याउन सकिन्छ।
पर्यटकले कुम्मायकको मन्दिर हेर्ने मात्र होइन, कुम्मायकमा उत्पादित वस्तु किनेर घर फर्किने वातावरण बनाउनु आवश्यक छ।
होमस्टे र रोजगारीको सम्भावना
पर्यटकको आगमन बढे स्थानीय युवाका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुन सक्छन्।
स्थानीय होमस्टे, होटल तथा रेस्टुरेन्ट, पर्यटन गाइड, यातायात, स्थानीय हस्तकला र कृषि उत्पादनको बिक्रीमार्फत गाउँमै आम्दानीको स्रोत बढाउन सकिन्छ।
विशेषगरी महिलाले सञ्चालन गर्ने होमस्टे र स्थानीय परिकारलाई पर्यटनसँग जोड्न सके पर्यटनबाट हुने आम्दानी घरपरिवारको तहसम्म पुर्याउन सकिन्छ।
यस अर्थमा कुम्मायकको पर्यटन विकास मन्दिर संरक्षणको विषय मात्र होइन, स्थानीय रोजगारी र आयआर्जनसँग जोडिएको विकासको विषय हो।
पूर्वाधार निर्माणमा बढ्दो सरकारी लगानी
कुम्मायक–कुस्सायकको पर्यटन विकासका लागि विगतदेखि विभिन्न तहका सरकारबाट लगानी हुँदै आएको छ।
आर्थिक वर्ष २०७०/७१ मा मेची पहाडी पर्यटन विकास बोर्ड इलामको २० लाख रुपैयाँ लगानीमा कुम्मायकमा सिँढीमार्ग निर्माण भएको थियो।
आर्थिक वर्ष २०७४/७५ मा कुम्मायक गाउँपालिकाको ११ लाख रुपैयाँबाट कुम्मायक–१, ४ र ५ नम्बर वडाबाट मन्दिर पुग्ने सिँढी निर्माण गरिएको थियो।
आर्थिक वर्ष २०७५/७६ मा ५८ लाख रुपैयाँ बजेटबाट भक्तजनको सहजताका लागि सिँढी निर्माण तथा जीर्ण मन्दिरको पुनर्निर्माण गरिएको थियो।
पुनर्निर्माणका क्रममा मन्दिरमा प्राचीन कला तथा संस्कृतिको झल्को दिने आकृति र चित्र निर्माण गर्नुका साथै मन्दिर आसपास वृक्षरोपणसमेत गरिएको छ।
आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरी भौतिक संरचनाका बाँकी काम पूरा गरेको थियो। कुस्सायकमा ५ लाख रुपैयाँ बजेटबाट पदमार्ग तथा रेलिङ निर्माण गरिएको छ।
प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा कुस्सायक परिसरमा पोखरीसमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मन्दिर प्रवेश गर्ने क्षेत्रमा सिँढी, रेलिङ तथा पदमार्ग निर्माण भएका छन्। त्यसयता पनि बिभिन्न समयमा स्थानीय सरकारबाट लगानि भईरहेको पाईन्छ ।
संघीय सरकारको साझेदारी पनि जोडिँदै
कुम्मायक–कुस्सायक पर्यटन विकासमा संघीय सरकारको लगानीसमेत महत्वपूर्ण छ।
आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको १ करोड ७५ लाख ३० हजार ९ सय ११ रुपैयाँ र कुम्मायक गाउँपालिकाको ७५ लाख १३ हजार २ सय ४७ रुपैयाँ लागत साझेदारीमा कुल २ करोड ५० लाख ४४ हजार १ सय ५८ रुपैयाँको लागतमा पर्यटन विकास आयोजना सञ्चालन गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो।
उक्त आयोजनाअन्तर्गत सिँढीमार्ग निर्माण, मन्दिर परिसर संरक्षणलगायतका काम अघि बढाइएका थिए।
आर्थिक वर्ष २०७८/७९ देखि संघीय सरकारको २ करोड ५० लाख रुपैयाँ सहयोगमा कुम्मायक–कुस्सायक पर्यटन विकास आयोजनाबाट सिँढीमार्ग निर्माण, मन्दिर परिसर संरक्षणलगायतका काम निरन्तर सञ्चालन हुँदै आएका छन्।
यसरी संघीय, प्रदेश र स्थानीय सरकारको लगानीले कुम्मायक–कुस्सायकको पर्यटन पूर्वाधारको आधार क्रमशः बलियो हुँदै गएको छ।
अब पूर्वाधारसँगै पर्यटन प्रवर्द्धन आवश्यक
पूर्वाधार निर्माण महत्वपूर्ण छ। तर पर्यटकीय गन्तव्य बनाउन पूर्वाधारसँगै प्रचारप्रसार र व्यवस्थापन उत्तिकै आवश्यक हुन्छ।
अब कुम्मायक–कुस्सायकलाई देश तथा विदेशका पर्यटकसम्म पुर्याउन डिजिटल प्रचार, भिडियो डकुमेन्ट्री, सामाजिक सञ्जाल, पर्यटन वेबसाइट, सूचना केन्द्र, पर्यटन नक्सा र बहुभाषिक सूचना सामग्री निर्माण गर्न आवश्यक देखिन्छ।
यासोकलाई प्रवेशद्वार बनाएर यासोक–युमाधाम–कुम्मायक–कुस्सायकलाई एउटा पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ।
यसमा धार्मिकस्थलसँगै स्थानीय होमस्टे, कृषि फार्म, प्राकृतिक दृश्यावलोकन क्षेत्र, स्थानीय संस्कृति र कृषि उत्पादनलाई जोड्न सकिन्छ।
कुम्मायकको पर्यटनले गाउँको अर्थतन्त्र बदल्न सक्छ
पर्यटन विकासको वास्तविक अर्थ पर्यटकको संख्या बढ्नु मात्र होइन। पर्यटनबाट स्थानीय समुदायले कति लाभ पायो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ।
पर्यटक आएपछि होटल र होमस्टे चल्छन्।
स्थानीय परिकारको माग बढ्छ।
किसानको उत्पादनले बजार पाउँछ।
स्थानीय हस्तकलाको बिक्री बढ्छ।
युवाले रोजगारी पाउँछन्।
महिलाको आयआर्जन बढ्छ।
स्थानीय संस्कृति र परम्पराको संरक्षण हुन्छ।
यसैले कुम्मायक–कुस्सायकको पर्यटन प्रवर्द्धनलाई स्थानीय आर्थिक विकासको रणनीतिसँग जोड्नुपर्ने आवश्यकता छ।
कस्तो बन्न सक्छ कुम्मायकको पर्यटन सर्किट?
कुम्मायकलाई एउटै धार्मिकस्थलमा सीमित नगरी धर्म–संस्कृति–प्रकृति–कृषिलाई एउटै प्याकेजमा जोड्न सकिन्छ।
पर्यटक यासोकबाट यात्रा सुरु गर्ने, युमाधाम पुग्ने, कुम्मायक दर्शन गर्ने, कुस्सायकसम्म पदयात्रा गर्ने, हिमाल तथा पहाडी दृश्य हेर्ने, स्थानीय संस्कृति बुझ्ने, स्थानीय परिकार खाने, कृषि उत्पादन अवलोकन गर्ने र होमस्टेमा बस्ने व्यवस्था गर्न सकिन्छ।
यसले पर्यटकलाई केही घण्टाका लागि होइन, एक–दुई दिनसम्म कुम्मायकमा बस्ने वातावरण बनाउन सक्छ।
अब कुम्मायकले आफ्नो कथा देश–विदेशलाई सुनाउनुपर्छ
कुम्मायक–कुस्सायकसँग पर्यटकलाई सुनाउने कथा छ।
राजा उवाहाङको कथा छ।
माबोहाङको कथा छ।
युमाधामको धार्मिक इतिहास छ।
लिम्बू समुदायको मौलिक संस्कृति छ।
त्रिशाली पर्व छ।
कुम्मायक र कुस्सायकको धार्मिक परम्परा छ।
हिमालको दृश्य छ।
लालीगुराँस र जैविक विविधता छ।
कृषि र गाउँको मौलिक जीवनशैली छ।
अब यी सबैलाई एउटै पर्यटन कथामा जोडेर देश–विदेशमा प्रचार गर्नुपर्ने समय आएको छ।
कुम्मायक–कुस्सायक पूजा गर्ने ठाउँ मात्र होइन। यो इतिहास हो, संस्कृति हो, प्रकृति हो, आस्था हो र स्थानीय समृद्धिको सम्भावना पनि हो।
सरकारले पूर्वाधार बनाउने, स्थानीय समुदायले पर्यटन व्यवसाय सञ्चालन गर्ने, युवाले प्रचार तथा गाइडको भूमिका खेल्ने र निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार गर्न सके कुम्मायकको पर्यटनले नयाँ गति लिन सक्छ।
कुम्मायक–कुस्सायकको पर्यटन विकासको सफलता कति बजेट खर्च भयो वा कति संरचना बने भन्नेमा मात्र होइन, कति पर्यटक आए, कति समय बसे, स्थानीयले कति आम्दानी गरे र स्थानीय संस्कृति तथा उत्पादनले कति बजार पाए भन्ने कुराले निर्धारण गर्नेछ।
त्यसैले अबको लक्ष्य “पर्यटकलाई कुम्मायकसम्म ल्याउने” मात्र होइन, “पर्यटकलाई कुम्मायकको इतिहास, संस्कृति, प्रकृति र उत्पादनसँग जोड्ने” हुनुपर्छ।
यही सोच र योजनाका साथ अघि बढ्न सके कुम्मायक–कुस्सायक पाँचथरको मात्र नभई पूर्वी नेपालको महत्वपूर्ण धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा कृषि पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रशस्त सम्भावना बोकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







