तेहरान, २ पुस । इरान सरकारको निर्दयी अनुहार फेरि एकपटक बाहिर आएको छ।
इरानले गत आइतबार मात्रै ११ जना कैदीलाई फाँसी दिएको छ भने एक राजनीतिक कैदीलाई गत हप्ता अन्य कैदीहरूबाट छुट्टै कक्षमा पठाइएको छ। एकै दिन ११ जना कैदीलाई मृत्युदण्ड दिए पछि मानवअधिकार संगठनहरूले इरान सरकारमाथि प्रश्न उठाएका छन्।
नर्वेको हाङ्गाव र इरानको हलभास समूहले भनेका छन् कि मृत्युदण्ड दिइएका मध्ये ७ जनालाई मध्य इरानको याजद केन्द्रीय कारागारमा र ४ जनालाई दक्षिण पूर्वको जाहेदान केन्द्रीय कारागारमा फाँसी दिइएको थियो। यसरी फाँसी दिइएका कैदीहरू हत्या र लागूऔषध सम्बन्धी अपराधमा अभियुक्त थिए।
मानव अधिकार समूहहरूले यस हप्ता बुधबार र आइतवारको बीचमा इरानी जेलहरूमा कम्तिमा ३४ कैदीहरूलाई फाँसी दिइएको जानकारी दिएका छन । शनिबार राजनैतिक बन्दी समन मोहम्मदी–खियारेहलाई कारजको घेजेल हेसार कारागारको एकान्त कक्षमा पठाइएको थियो । यो कदमले उनलाई चाँडै फाँसी दिने संकेत गरेको छ। इरान इन्टरनेशनलका अनुसार उनको परिवारलाई अन्तिम भेटका लागि बोलाइएको छ।
मोहम्मदी खियारेहलाई १९ वर्षको उमेरमा शासन विरोधी समूहहरूको सदस्यता मार्फत ‘भगवान विरुद्ध युद्ध’ गरेको आरोपमा गिरफ्तार गरिएको थियो, जसमा उनी दोषी पाइएको जनाइएको छ । र, हाल उनलाइ मृत्युदण्डको सजाय सुनाइएको छ ।
एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार विश्वका ५५ देशमा मृत्युदण्डको व्यवस्था छ । सन् २०२२ को तथ्याङ्कअनुसार चीनले सबैभन्दा बढी मृत्युदण्ड दिएको छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका पछि यसमा सामेल रहेका छन्।
साउदी इरान जस्ता देशमा फाँसी दिने मात्र नभई सार्वजनिक रूपमा पनि झुण्ड्याउने व्यवस्था छ । धेरै मानव अधिकार समूहहरूले मृत्युदण्डको कानुनको विरोध गर्दै आएका छन् र देशहरूलाई मृत्युदण्डको सजाय हटाउन माग गर्दै आएका छन्।