रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौ संस्करणको कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा म्याङलुङ नगरपालिका तेह्रथुम, हिलिहाङ गाउँपालिका पाँचथर पुगेका छन । पृथ्वी माविको खेलमैदानमा सम्पन्न भएको तेस्रो दिनको पहिलो सेमिफाइनल खेलमा सडनडेथमा ८–७ अन्तरले फाल्गुनन्द गाउँपालिकालाई हराउँदै हिलिहाङ गाउँपालिका फाइनलमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि सडनडेथमा हिलिहाङले फाइनलको यात्रा पक्का गरेको हो । सोही दिनको दोस्रो सेमिफाइनल खेलमा ३–० गोल अन्तरले फालेलुङलाई हराउँदै तेह्रथुमको म्याङलुङ नगरपालिकाले फाइनलको यात्रा तय गरेको हो । म्याङलुङको जीतमा बिशाल काफ्लेले २४ औ मिनेटमा, शुलभ लिम्बुले ३२ र १३ औ मिनेटमा लगाएको गोल सहित ३–० जित निकालेको हो ।
प्रतियोगिताको उत्कृट खेलाडी हिलिहाङका निरोज लिङदेन र म्याङलुङका क्याप्टेन गोलरक्षक प्रेम लिम्बु घोषित हुदै नगद पारे । प्रतियोगिताको फाइनल खेल आज दिउसो म्याङलुङ नगरपालिका तेह्रथुम र हिलिहाङ गाउँपालिका पाँचथर बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पाँचथरका सात र तेह्रथुमको म्याङलुङ नगरपालिका सहित आठ स्थानीय तहको सहभागीता मा प्रतियोगिता सञ्चालन भईरहेको रहेको छ ।


