+
+

पूर्वाधारदेखि सामाजिक न्यायसम्म : एमाले पाँचथरको चुनावी प्रतिबद्धता सार्वजनिक

Clock २०८२ फाल्गुन १०, आईतवार १९:२८
-- Sponsored --

पाँचथर — नेपालको संविधान २०७२ अनुसार संघीय संसद प्रतिनिधिसभाको निर्वाचन हरेक पाँच वर्षमा हुने व्यवस्था रहे पनि मुलुकमा सिर्जित विषम परिस्थितिका कारण आगामी २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिएको सन्दर्भमा नेकपा (एमाले) पाँचथरले जिल्लाको समग्र विकास, सार्वभौमिकता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विस्तृत प्रतिबद्धतासहित चुनावी एजेन्डा सार्वजनिक गरेको छ।

पार्टीका अनुसार २०८२ भदौ २३ गते नवयुवा पुस्ताले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा प्रतिगामी, प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरूको योजनाबद्ध घुसपैठ भई भदौ २३ र २४ गते आन्दोलनलाई विध्वंस, आगजनी र अराजकतामा परिणत गरिएको थियो। त्यसकै परिणामस्वरूप जननिर्वाचित सरकार अपदस्त गरी नयाँ सरकार गठन गरिएको र निर्वाचन घोषणा गरिएको भन्दै यो निर्वाचन केवल प्रतिनिधि छनोटको विषय मात्र नभई देशको सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्णायक लडाइँ भएको एमालेको निष्कर्ष छ।

नेकपा (एमाले) ले आफ्नो उम्मेदवारी लामो बलिदान र कुर्बानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र (हाल संकटमा परेको) को रक्षा, संविधानलाई सही ट्र्याकमा हिँडाउन, देशको सार्वभौमिकता जोगाउन र पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न केन्द्रित रहेको जनाएको छ। विगतमा अग्रजहरूले सुरु गरेको विकास निर्माणलाई पूर्णता दिँदै जिल्लाका विविध समस्या समाधान गरी समृद्ध पाँचथर निर्माण गर्नु पार्टीको मूल उद्देश्य रहेको बताइएको छ।

पाँचथर विकासका लागि एमालेका मुख्य प्रतिबद्धताहरूः-

भौतिक पूर्वाधारमा प्राथमिकता

एमालेले सबै वडासम्म पुगेका तर बाह्रैमास सञ्चालन नहुने सडकलाई स्तरोन्नति गर्ने, वडाकेन्द्र तथा मुख्य सडकको वर्गीकरण गरी ग्राभेल र कालोपत्रे बनाउने जनाएको छ। जिल्ला सदरमुकाम र मुख्य हाइवेबाट आठवटै पालिका केन्द्रसम्म कालोपत्रे सडक, विगतमा एमाले सरकारले सुरु गरेका रणनीतिक सडक पाँच वर्षभित्र सम्पन्न गर्ने, संघ र प्रदेशबाट सुरु भएका सडक योजनालाई निरन्तरता दिई समयमै सम्पन्न गरिने उल्लेख छ।

रणनीतिक महत्वका तर सडक नपुगेका क्षेत्रमा आवश्यकता र औचित्यका आधारमा सडक सञ्जाल विस्तार गरिनेछ। राष्ट्रिय महत्वका पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर कोरिडोर, राकेँ–रवि–भेडेटार, फिदिम–फालोट लगायत सडकलाई तीव्रता दिइनेछ। केचना–कञ्चनजंघा पर्यटन मार्ग अघि बढाइने, फिदिम नगरपालिका लक्षित रिङरोड निर्माण, प्राकृतिक विपदबाट क्षति पुगेका सडक–पुलको पुनर्निर्माण, मेची हाइवे स्तरोन्नति, सामुदायिक भवन, कभर्डहल, बाँकी वडा कार्यालय, अस्पताल र स्वास्थ्य चौकी भवन निर्माण पनि प्राथमिकतामा छन्।

शिक्षा र स्वास्थ्य सुधार

शिक्षा क्षेत्रमा जीर्ण विद्यालय भवन पुनर्निर्माण, सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, स्थानीय तह र अभिभावकसँग समन्वय गरी विद्यालय मर्ज तथा आवासीय विद्यालय विकास गरिनेछ। “एक गाउँपालिका–एक प्राविधिक विद्यालय”, हरेक विद्यालयमा आईटी कक्षा, आवश्यकताअनुसार भाषा कक्षा सञ्चालन, विपन्न बालबालिकालाई छात्रवृत्ति र जेहेन्दार विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराइनेछ। निजी विद्यालयलाई सहज, झन्झटमुक्त र प्रतिस्पर्धी वातावरणमा सञ्चालन गर्न पहल गरिनेछ।

स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई कम्तीमा १०० शय्याको सुविधासम्पन्न अस्पताल बनाउने, पालिका स्तरका ५, १० र १५ शय्याका अस्पताल पूर्ण सञ्चालनका लागि जनशक्ति, उपकरण र व्यवस्थापनमा पहल गरिनेछ। वडाका स्वास्थ्य चौकी स्तरोन्नति, विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा, सबै नागरिकलाई बीमामा पहुँच, बीमाङ्क वृद्धि, जेष्ठ नागरिक र असहायलाई सामाजिक सुरक्षा कोषमार्फत निःशुल्क सेवा, प्रत्येक पालिकाबाट सदरमुकामसम्म निःशुल्क एम्बुलेन्स सेवा, महिला स्वास्थ्य स्वयंसेविकालाई थप सुविधा, दीर्घ तथा घातक रोगीका लागि निःशुल्क जाँच र औषधि वितरण गरिनेछ।

कृषि, पर्यटन र जलस्रोत

कृषिमा बढ्दो उदासिनता र पलायनलाई गम्भीर समस्याका रूपमा लिँदै कृषिलाई व्यवसायिक र उद्योगका रूपमा विकास गरिनेछ। अनुदान, सहुलियत ऋण, बजारीकरण, सिंचाइ सुविधा, समयमै मल–बिउ, कृषक लाइसेन्स वितरण, अर्गानिक कृषि अभियान, भण्डारण व्यवस्था, कृषि पर्यटन, कृषि एम्बुलेन्स, पकेट–जोन–सुपरजोन विकास, कृषि अनुदान पारदर्शिता तथा मासु, दूध, अण्डा, मसला र तरकारीमा आत्मनिर्भर जिल्ला बनाउने लक्ष्य लिइएको छ।

पर्यटनतर्फ “महागुरु फाल्गुनन्द” को तपोभूमि सिलौटी–लब्रेकुटी क्षेत्रको डीपीआरअनुसार विकास गरिनेछ। बहुप्रतिक्षित तमोर जलाशययुक्त जलविद्युत आयोजना अघि बढाइनेछ। मिक्लाजुङ, सेहोनाम्लाङ, कुम्मायक–कुस्सायक, गढी (सुम्हात्लुङ), हिलिहाङ दरबार, आगेजुङ गुम्बा, जोरपोखरी, तिम्बुङ पोखरी, लामपोखरी, चारराते फालोट, तिजोक, साधुटार, झरना, माझीटार, सुकेपोखरी–लोहकिललगायत क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रचार गरिनेछ। होटल, होमस्टे र स्थानीय पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ।

विपद्, उद्योग, संस्कृति र सञ्चार

विपद् व्यवस्थापनमा वातावरणीय प्रभाव मूल्याङ्कन कडाइका साथ लागू, विपद् प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन, विपद् प्रतिरोधी आवास र एकीकृत बस्ती विकास गरिनेछ।

उद्योग–व्यापारतर्फ युवालाई स्वरोजगार बनाउने सीपमूलक तालिम, कृषि, जडीबुटी र स्थानीय उत्पादनमा आधारित साना तथा घरेलु उद्योग स्थापना, डिजिटल प्रणालीमार्फत पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा पहल गरिनेछ।

कला, संस्कृति र खेलकुद संरक्षण, सबै जाति र धर्मप्रति समान सम्मान, “एक वडा–एक खेलमैदान”, खेल अगुवाको सम्मान र नयाँ प्रतिभा उत्पादनमा जोड दिइनेछ। सूचना तथा सञ्चार क्षेत्रमा सबै नागरिकमा इन्टरनेट पहुँच विस्तार, सामाजिक सञ्जालको कानुनी र प्रणालीगत सञ्चालन, मोफसलका मिडियाको संरक्षण र संवर्द्धन गरिनेछ।

विविध प्रतिबद्धता

निजामती सेवा चुस्त–दुरुस्त बनाउने, संघीय निजामती विधेयक तथा कानुन निर्माणमा ट्रेड युनियनको सहभागिता, वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि रोजगार तथा स्वरोजगार कार्यक्रम, वन–वातावरण संरक्षण, जडीबुटी प्रवर्द्धन, युवालाई कुलतबाट मुक्त गर्ने अभियान, महिला, दलित, पिछडिएका वर्ग र असहायका लागि बहुआयामिक योजना तथा भूमिहीन, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासलाई पाँच वर्षभित्र व्यवस्थित गर्ने प्रतिबद्धता एमालेले जनाएको छ।

यसरी नेकपा (एमाले) पाँचथरले प्रस्तुत गरेको विस्तृत प्रतिबद्धतापत्रले संविधान, लोकतन्त्र र सार्वभौमिकताको रक्षा गर्दै समृद्ध पाँचथर निर्माणका लागि पार्टी दृढ संकल्पित रहेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस