+
+

गाउँमा सरकार पुगे पनि भूमिसेवा पुगेन, ९४ वर्षीया आमा बोकेर सदरमुकाम

19 पटक हेरिएको
Clock २०८३ भाद्र २३, मंगलवार २१:५८
-- Sponsored --
रवीन्द्र काफ्ले 
पाँचथर, २३ भदौः

पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी ९४ वर्षीया धनमाया योङहाङ लिम्बू भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेञ्चमा सुतिरहनु भएको थियो। उहाँका छोरा रिकुमार योङहाङ आफ्ना बावुको नाममा रहेको जग्गा आमा धनमाया र आफ्नो नाममा अंशबण्डा तथा नामसारीका लागि कार्यालयका विभिन्न फाँटमा धाइरहनु भएको थियो। दृष्टि गुमाएर १६ वर्षदेखि ओच्छ्यान पर्नुभएका धनमायाको हातपाउ पनि लाग्न छोडिसकेका छन। सामान्य हिँडडुल गर्नदेखि शौचालय जानसमेत उहाँलाई सहारा नभइ हुँदैन। बेञ्चमा सुतिरहनु भएका धनमायालाई आफन्तले पटक–पटक शौचालय लैजाँदै र ल्याउँदै गरिरहनु भएको थियो। 

जग्गा अंशबण्डा तथा नामसारीका लागि बायोम्याट्रिक अनिवार्य भएका कारण धनमायाको हातगोडा चल्न छोडेपनि भूमि प्रशासन कार्यालय आउनै पर्ने बाध्यता आइलागेको थियो। छोरा रिकुमारले आफन्त र छिमेकीसँग समेत सहयोग मागेर गाउँदेखि सदरमुकाम चल्ने सवारीमा आमालाई लिएर आउनुभएको हो। बावुको आठ वर्षअघि नै निधन भइसकेको र आफू लामो समय वैदेशिक रोजगारीमा रहनु परेका कारण जग्गा अंशबण्डा र नामसारी गर्न नभ्याएको उहाँको भनाइ थियो। 

रिकुमारको घरदेखि हिलिहाङ गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँड्दा पनि १० मिनेट मात्रै लाग्छ। तर नापी र मालपोतसँग सम्बन्धित काम जिल्ला स्थित कार्यालयबाट मात्रै हुने हुँदा नजिकै गाउँपालिकाको कार्यालय भएपनि बुढी आमा लिएर सदरमुकाम आउनु परेको दुःखेसो रिकुमारको छ। “पैदल हिँड्दा पनि आमालाई बोकेर १० मिनेटमा गाउँपालिकाको कार्यालय पुग्थ्यौं। तर त्यहाँ जग्गाको काम नहुने भएकाले फिदिम झर्नुपर्ने बाध्यता आइलाग्यो”, रिकुमारले भन्नुभयो, “यहाँको सेवा पनि गाउँपालिका वा वडा कार्यालयबाटै दिइएको भए म जस्तै धेरै सेवाग्राहीलाई सहज हुन्थ्यो होला।”

विहान गाउँबाट सदरमुकाम आउने सवारी साधनमा आमालाई लिएर आइपुग्दा ढिला भइसकेको थियो। त्यसमाथि हातपाउ बसेकी आमालाई खाना खुवाएर कार्यालय आइपुग्न रिकुमारको टोलीलाई अझै केही समय लाग्यो। भूमि प्रशासन कार्यालयमा काम सम्पन्न गर्दा ४ः३० भइसकेको थियो। फाँटहरुमा धाउँदै गर्दा गाउँ फर्कने सवारीका चालकले रिकुमारलाई फर्कने बेला भइसकेको भनेर पटक–पटक फोन गरिरहेका थिए। 

तर काम नसकि नर्फकने भनेपछि रिकुमारको टोलीको गाउँ फर्कने गाडी पनि छुट्यो। “यहाँ (फिदिममा) गोर्खा वेलफेयर सेन्टरमा पनि थोरै काम थियो। तर त्यहाँ त भिडियो कलबाट पनि काम हुन्छ”, रिकुमारले भन्नुभयो, “यहाँ (भूमि प्रशासन कार्यालयमा) पनि त्यस्तै ब्यवस्था भएको भए झनै सहज हुन्थ्यो। आज ढिलो हुँदा गाउँ जाने गाडी पनि छुट्यो ।” तर सदरमुकाम फिदिममा आफन्तले कोठा लिएकाले त्यो दिन त्यतै बस्ने योजनामा उहाँहरु हुनुहुन्थ्यो। 

भूमिसम्बन्धी सेवा स्थानीय तहमा विस्तार नहुँदा सेवाग्राहीहरुले रिकुमार र धनमायाले जस्तै सास्ती खेप्दै आएका छन। फिदिम नगरपालिकाबाहेक जिल्लाका सात वटै गाउँपालिकाबाट भूमिसम्बन्धी सेवा प्रवाह हुनुपर्ने स्थानीयवासीको माग छ। 

जग्गाको किनबेच, अंशबण्डा र नामसारी गर्दा जग्गाधनी स्वयम् उपस्थित भइ बायोम्याट्रिक गर्नुपर्ने ब्यवस्था भएका कारण जेष्ठ नागरिकहरु पनि कार्यालय आउनै पर्ने बाध्यता रहेको भूमि प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी पदमबहादुर नेम्बाङको भनाइ छ। “उहाँको (रिकुमार) हकमा एक्लो छोरा भएकाले आमाको शेखपछि (निधनपछि) जग्गा स्वत छोराको नाममा आउने हो। तर गाउँमा कुनै संस्थालाई जग्गा दिनुपर्ने भएका कारण अंशबण्डा र नामसारीका लागि आउनुभएको रहेछ”, नेम्बाङले भन्नुभयो, “जग्गाको कारोबार गर्नैपर्ने अवस्थामा चाहिँ बायोम्याट्रिक गर्न जो–कोही कार्यालय आउनै पर्छ।”

भूमि प्रशासन कार्यालयको सेवा स्थानीय तहबाटै प्रदान हुनुपर्ने धेरै सेवाग्राहीले माग गरेपनि जिल्लाको याङवरक गाउँपालिकाले मात्रै प्रकृया अगाडि बढाएको नेम्बाङको भनाइ छ। “याङवरक गाउँपालिकाले भूमि प्रशासनको सेवा दिनका लागि प्रकृया अघि बढाएको छ”, नेम्बाङले भन्नुभयो, “स्थानीय तहबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई केही न केही सहज हुन्छ होला। अन्य गाउँपालिकाले भने प्रकृया अगाडि बढाएको बुझेका छैनौं।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win