0 प्रतिक्रिया
त्रिशाली पूजा तथा मेला नजिकिँदै, देश–विदेशका भक्तजनको घुईँचो लाग्ने अपेक्षा, तयारी तीव्र
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा तङ्सुम् तङ्नाम (त्रिशाली पूजा तथा मेला)को छोटो सारांश दिएको छ:
* पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परापूर्वकालदेखि प्रत्येक तीन/तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम् तङ्नाम (त्रिशाली पूजा तथा मेला) यस वर्ष २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म भव्य रूपमा सम्पन्न गरिने भएको छ।
* कुम्मायक–कुस्सायक क्षेत्र लिम्बू समुदायको मुन्धुममा वर्णित पवित्र तीर्थस्थल हुन्, जहाँ विधिपूर्वक पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने, रोगव्याधी हट्ने र सुख–शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ।
* त्रिसाली पूजा तथा मेलाको प्रमुख उद्देश्य यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्नु हो, साथै युमा देवीप्रतिको आस्था र विश्वासलाई अझ सुदृढ बनाउनु यसको मूल उद्देश्य मानिन्छ।
मदन थापा, पाँचथर
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा परापूर्वकालदेखि प्रत्येक तीन/तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम् तङ्नाम (त्रिशाली पूजा तथा मेला)यस वर्ष २०८३ साल बैशाख २३ गतेदेखि २५ गतेसम्म भव्य रूपमा सम्पन्न गरिने भएको छ। पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देबेन्द्र कुमार लावतीका अनुसार कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने कुम्मायक–कुस्सायक क्षेत्र लिम्बू समुदायको मुन्धुममा वर्णित पवित्र तीर्थस्थल हुन्। युमामाङ (युमासाम)अनुयायीहरूका लागि यि स्थलहरु विशेष आस्थाको केन्द्रका रूपमा रहँदै आएको भए पनि यहाँ सबै जातजाति,भाषा–भाषी तथा विभिन्न धर्म मान्ने मानिसहरूले समान श्रद्धा र विश्वासका साथ पूजा–अर्चना गर्ने गरेका छन्। यहाँ विधिपूर्वक पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने,रोगव्याधी हट्ने र सुख–शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ।
कुम्मायक र कुस्सायक धार्मिक स्थलमा परापूर्वकालदेखि नै नेपालसहित भारत, भुटान, चीन लगायत विभिन्न देशबाट भक्तजनहरू आउने गरेका छन्। विशेषगरी त्रिसाली पूजा तथा मेलाका अवसरमा यहाँ श्रद्धालुहरूको ओइरो नै लाग्ने गर्दछ, जसले यस क्षेत्रको धार्मिक महत्व र आकर्षणलाई अझ प्रष्ट रूपमा झल्काउँछ।
कुम्मायकमा धुपबत्ती र फलफूलद्वारा पूजा गर्ने परम्परा रहेको छ भने कुस्सायकमा बलिसहित पूजा गरिन्छ। कुम्मायकमा मनोकामना पूरा होस् भन्ने विश्वासका साथ परेवा उडाउने चलन पनि आजसम्म कायम छ।

इतिहास तथा जानकारहरू बताउँछन् कि याक्थुङ राजा उवाहाङले आफ्नो राज्य विस्तारपछि कुम्मायक–कुस्सायक क्षेत्रमा युमा देवीको आराधना गरी परेवा उडाउँदै हर्षोल्लासका साथ विजय उत्सव मनाएका थिए। सोही ऐतिहासिक स्मरणमा प्रत्येक तीन वर्षमा त्रिसाली पूजा तथा मेला आयोजना गर्ने परम्परा बसालिएको हो।
यो मेला धार्मिक अनुष्ठान मात्र नभई सामाजिक तथा सांस्कृतिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइन्छ। देश तथा विदेशमा रहेका आफन्तजन, इष्टमित्रहरू यस अवसरमा भेला भई खुशी साटासाट गर्ने, विभिन्न जातजातिका भेषभूषामा नाचगान गर्ने तथा विविध सांस्कृतिक र खेलकुद कार्यक्रमहरू सञ्चालन गरिने प्रचलन रहेको छ।



प्राकृतिक रूपमा पनि अत्यन्तै आकर्षक रहेको कुम्मायक–कुस्सायक क्षेत्रबाट सगरमाथा, कञ्चनजंगा र कुम्भकर्ण (फक्ताङलुङ) हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। लालीगुराँसले ढाकिएका डाँडाहरू, शान्त वातावरण र चिसो हावापानीले यहाँको सौन्दर्यलाई अझ मनमोहक बनाएको छ।

यस क्षेत्रको संरक्षण तथा विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न पूर्वाधार निर्माणका कामहरू अघि बढाउँदै आएका छन्। सिँढीमार्ग, पदमार्ग, मन्दिर पुनर्निर्माण, रेलिङ तथा अन्य संरचना निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ।
कुम्मायक–कुस्सायक क्षेत्रमा आयोजना गरिने त्रिसाली पूजा तथा मेलाको प्रमुख उद्देश्य यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्नु हो। याक्थुङ राजा उवाहाङको विजय उत्सवसँग जोडिएको ऐतिहासिक परम्परालाई जीवन्त राख्दै युमा देवीप्रतिको आस्था र विश्वासलाई अझ सुदृढ बनाउनु यसको मूल उद्देश्य मानिन्छ। साथै, यस मेलामार्फत स्थानीय मौलिक संस्कृति, परम्परा र पहिचानको प्रचार–प्रसार गर्दै कुम्मायक–कुस्सायक क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने, आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई आकर्षित गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य राखिएको छ। यसले स्थानीय अर्थतन्त्र सुदृढ गर्न तथा समुदायबीच आपसी एकता र सद्भाव अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









