+
+

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको कुरा आयो : वर्षमान पुन

89 पटक हेरिएको
Clock २०८१ श्रावण ६, आईतवार ११:१०
-- Sponsored --

AI सारांश

Fast AI

१. निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाउनुभएको छ।
२. पुनले भन्नुभयो कि असल नियतले ल्याएको कुराभन्दा गलत तरिकाले सत्ता समीकरण भएको र त्यसलाई छोप्न संविधान संशोधनको कुरा अघि सारेको देखिन्छ ।
३. पुनले नयाँ सरकारले निराशा बाँड्न खोजेको भए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

काठमाडौँ, ६ साउन : निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले माग्नुभएको विश्वासको मतको विपक्षमा आफ्नो दल रहेको धारणा राख्नुहुँदै पुनले कुनै ठूला काण्ड ढाकछोप गर्न संविधान संशोधनको मुद्दा अघि सारिएको हुनसक्ने शङ्का व्यक्त गर्नुभयो।

“बेमौसममा संविधान संशोधनको कुरा आएको छ । खराब र बदनियतपूर्ण तरिकाले सत्ता समीकरण बन्यो कि भन्ने प्रश्न उठिरहेको बेला केही कुरा छोप्न यो विषय ल्याइएको हो कि भन्ने आशङ्का छ”, पुनले भन्नुभयो, “असल नियतले ल्याएको कुराभन्दा गलत तरिकाले सत्ता समीकरण भएको र त्यसलाई छोप्न संविधान संशोधनको कुरा अघि सारेको देखिन्छ । महिला, दलित, जनजातिले पाएका अधिकार खोस्न संशोधन गर्न खोजेको देखिन्छ ।”

समानुपातिक निर्वाचन प्रणाली र साना दलका कारण राजनीतिक अस्थिरता देखिएको र यसलाई सच्याउन संविधान संशोधन आवश्यक रहेको भन्नेमा सत्यता नरहेको उहाँको भनाइ छ । विगतमा एकल दलको बहुमतको सरकार बन्दा पनि मुलुकमा राजनीतिक स्थिरता नदेखिएको उहाँले बताउनुभयो ।

मुलुकको अर्थतन्त्रमा केही शिथिलता रहेको भए पनि चर्को निराशाको अवस्था देखाउन प्रधानमन्त्रीले संसद्मा मिथ्याङ्क प्रस्तुत गरेको आरोप पुनले लगाउनुभयो । “वर्तमान प्रधानमन्त्रीको नेतृत्वमै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमतको सरकार बनेको थियो । त्यतिखेरको अर्थतन्त्रको अवस्था, राष्ट्रको ऋणको अवस्था र आर्थिक वृद्धिदरको अवस्था हेर्दा अहिले हामी निकै राम्रो अवस्थामा पुगेका छौँ”, पुनले भन्नुभयो, “२०७४÷७५ देखि २०७७÷७८ मा मुलुकको सार्वजनिक ऋण अत्यधिक बढेर मुलुकको कूल गार्हस्थ्य उत्पादनको तुलनामा उच्च विन्दुमा पुगेको थियो ।”

अहिले समग्र अर्थतन्त्र केही समस्यामा रहेको भए पनि तथ्याङ्क बङ्ग्याएर निराशा देखिनेगरी प्रस्तुत गर्न नहुने उहाँको धारणा छ । अहिले शोधनान्तर बचतमा रहेको, बाह्य क्षेत्र सन्तुलनमा रहेको, १३ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने विदेशी मुद्रासञ्चिति रहेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेकोलगायत सकारात्मक कुरालाई नजरअन्दाज गर्न नहुने पुनको भनाइ छ।

त्यस्तै, वैदेशिक व्यापार घाटा घट्दै गएको, पुँजीगत खर्च बढेको र समग्र अर्थतन्त्रको वृद्धिदर अपेक्षित रुपमा अगाडि बढिरहेको उहाँले बताउनुभयो । आफू केन्द्रित गरेर तथ्याङ्क प्रस्तुत गर्दा त्यसले भोलिका दिनमा सरकारलाई समस्यामा पार्ने पुनको बुझाइ छ । अहिलेको सरकारले निराशा बाँड्न खोजेको भए पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रबाट करिब रु एक खर्ब बराबरको निर्यात भएको उल्लेख गर्नुहुँदै पुनले चालु आवको बजेटमार्फत सरकारले सूचना प्रविधि दशक र कृषिमा लगानी दशकका रुपमा घोषणा गरेकाले नवगठित सरकारले त्यसको स्वामित्व लिन्छ वा लिँदैन भनेर प्रश्न गर्नुभयो । अर्थतन्त्र सुस्ताउँदा जलविद्युत् क्षेत्र र पर्यटन क्षेत्रमा प्रगति देखिएको जानकारी दिनुभयो। जलविद्युत् क्षेत्रमा नीतिको निरन्तरता भएका कारण त्यसले राम्रो नतिजा देखाएको उहाँको भनाइ छ।

सरकारले ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कार्यकर्तालाई पैसा बाँडेको आरोप पुनले लगाउनुभयो । प्रधानमन्त्री ओलीको गृह जिल्लामा दमकको भ्युटावर बनेपछि हरेक गाउँगाउँमा भ्युटावर बनाउने खराब परिपाटी सुरु भएको उल्लेख गर्नुहुँदै पुनले ठूला भवनलगायतका अनुत्पादक क्षेत्रमा ठूलो बजेट खर्च हुँदा पुँजी सिर्जना गर्न नसकेको बताउनुभयो । सरकारले उत्पादन र उत्पादकत्व बढाउने गरी सोचविचार गरेर बजेटको प्राथमिकता निर्धारण गर्नुपर्ने पुनको सुझाव छ।

चालु आर्थिक वर्ष २०८१÷८२ का लागि अघिल्लो सरकारले ल्याएको बजेटका राम्रा योजना तथा कार्यक्रम कार्यान्वयनको निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । नयाँ सरकारप्रति विश्वास गर्न सक्ने अवस्था नदेखिएकाले आफ्नो दल माओवादी केन्द्रले समर्थन नगर्ने उहाँले स्पष्ट गर्नुभयो । “संविधानको जुन धारा र उपधारामा टेकेर प्रधानमन्त्री बन्नुभएको छ, जुन परिस्थिति, परिवेश र जस्तो गठबन्धन तोडेर अपारदर्शी ढङ्गले गठबन्धन बनाउनु भएको छ, यी सबै विषयका आधारमा उहाँप्रति हाम्रो दलको विश्वास छैन”, प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पुनले भन्नुभयो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win