रमेश थापा
पाँचथर-पछिल्लो समय आयुर्वेद स्वास्थ्य प्रति नागरिकको आकर्षण बढ्न थालेको छ। कम खर्चमा भरपर्दो उपचार सेवा पाउने भएकाले जिल्ला आयुर्वेद केन्द्र पाँचथरमा बिरामीको आकर्षण बढेको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो। आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि पाँचथरमा भने आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ।
दैनिक जसो डेढ सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेको आयुर्वेद जिल्ला स्वास्थ्य केन्द्र पाँचथरले जनाएको छ। बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ। उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले रोग अनुसारको उपचार पद्धति अपनाइएको छ।
आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार अहिले २३ प्रकारका औषधी पाइन्छन्। आयुर्वेद उपचार प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख टेकनारायण अर्यालले बताए। ’पछिल्लो समय आयुर्वेदिक उपचारमा स्थानीयवासीको चाप बढेको छ, आयुर्वेदिक औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो, उनले भने।
आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १९ हजार ६६४ जना बिरामीले सेवा लिएका छन् । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा २२ हजार ५ सय ९४ जना र आर्थिक वर्ष २०८०/०८१ को असार सम्ममा २० हजार २५३ जनाले सेवा लिएका छन। उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी छन्। उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ, उनले थपे । स्थानीय स्तरमै पाइने विभिन्न जडीबुटीबाट औषधि तयार गरिने भएकाले यी औषधि स्वास्थ्यका लागि लाभदायक हुने अर्यालको भनाइ छ। फिदिम–२ अरखौलेका चन्द्र प्रसाद ढुङ्गानाले धेरै वटा अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारपछि धेरै सुधार भएको सुनाए। खासमा हामीले यो उपचार पद्धतिका बारेमा जानकारी नपाउँदा समस्यामा परेका रहेछौँ, मेरो निकै लामो समयबाट ढाडमा समस्या थियो, उपचार गराउन विभिन्न सहरका ठुला अस्पतालमा गए तर अहिले यहाँ उपचार गराउन थालेपछि निको हुँदै गएको छ।’ हर्सित हुदै ढुङ्गानाले भने।
स्वास्थ्य केन्द्रमा बाथ रोग, हाडजोर्नी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढ्न थालेका छन् । आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको फिदिम–१ का सुबराज घिमिरेले बताए। मेरो टाउको दुख्ने र पोल्ने समस्या छ। भारतको मेदान्त अस्पताल सहित नेपालका विभिन्न अस्पतालमा उपचार गराए, त्यति गर्दा पनि निको नभएपछि अहिले नियमित रुपमा यहाँ आएर उपचार गराइरहेको छु। धेरै सुधार भइरहेको छ । यहाँ उपचार गराउन थालेपछि मेरो रोग निको भइरहेको छ ।’ उनले भने ।
बाथ रोग, जण्डिस, ढाड दुख्ने, पायल्स, ग्यास्ट्रिक लगायतबाट ग्रसित भएका धेरै बिरामीहरू यहाँ आउने गरेका छन् । कार्यालयबाट ओपिडी सेवा, बाफ लिने सेवा, ज्येष्ठ नागरिक सेवा, ल्याब सेवा, औषधि वितरण, स्तनपायी आमाका लागि (सुत्केरी आमा छ महिनासम्म) दुग्धवर्धक औषधी सेवा लगायतका सेवाहरू प्रवाह हुदै आएको छ ।
आयुर्वेदिक उपचारमा बिरामीको रुचि बढ्दो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
सम्बन्धित खवर
Advertisment