पाँचथर, २६ साउनः
पाँचथरको फिदिमका एक ब्यक्तिको मोटरसाइकलको दोहोरो चोरी भएको छ। आठ दिन लगाएर पाँचथर प्रहरीले चोरी भएको मोटरसाइकल र चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ।
फिदिम नगरपालिका–१ शनिवारेका कमल घिमिरेको २२० सीसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालय पाँचथरको कार्यालयको प्रवेशद्वारबाट गत साउन १६ गते हराएको थियो। साउन १६ गते मोटरसाइकल पार्किङ गरी नजिकै रहेको घर गएका घिमिरेले भोलिपल्ट दिउँसो मात्रै मोटरसाइकल हराएको यकिन गरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिनुभएको थियो। डिभिजन वन कार्यालयको प्रवेशद्वारतर्फको सीसी क्यामेरा विग्रिएका कारण चोरीको घटना कैद हुन सकेको थिएन।
तर नजिकैको शिवालय मन्दिरअघिको सीसी क्यामेरामा साउन १६ गते राती एउटा २२० सीसीको पल्सर मोटरसाइकल रानीटारतर्फ गएको देखिन्छ। फिदिम–रानीटार–लुङरुपा जोड्ने उक्त सडक हुँदै पुगिने क्षेत्रमा प्रहरीले ब्यापक खोजी कार्य चलाउँछ। यस क्रममा ८८ वटा २२० सीसीको पल्सर मोटरसाइकलको विवरण नै प्रहरीले तयार पार्छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार यस क्रममा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान पनि हुन्छ। तर उनीहरुको कुनै संलग्नता देखिँदैन भने मोटरसाइकल पनि फेला पर्दैन।
खोजीकै क्रममा साउन २३ गते फिदिम बजारकै एक सीसी क्यामेरामा घिमिरेको उक्त मोटरसाइकल लिएर दुई युवा एक बालक समेत साथै लिएर हिँडेको देखिन्छ। यसपछि प्रहरीले युवकहरुको पहिचान खोज्न थाल्छ। खोजीका क्रममा पत्ता लाग्छ कि अघिल्लो दिन साउन २२ गते अर्कै मुद्दामा पक्राउ परेर हिरासतमा रहेका फिदिमका करण मगर सीसी क्यामेरामा कैद चोरीमा संलग्न ब्यक्ति हुन्छन। “मगरलाई सोधपुछ गर्दा हिलिहाङ गाउँपालिका–६ का सन्दीप लावतीसँग मिलेर उनीहरुले मोटरसाइकल चोरी गरेको देखिन्छ”, प्रनाउ बुढाथोकीले भन्नुभयो, “हेण्डिल लक नलगाइएका कारण उनीहरुले सहजै मोटरसाइकल चोरी गरी लगेका रहेछन।”
मगर र लावतीको वयानअनुसार मादक पदार्थ सेवनको नसामा लट्ठ रहेका उनीहरु मोटरसाइकल लिएर तमोर कोरिडोर सडकको बाटो हुँदै तराईतर्फ झर्छन। पाँचथर–धनकुटा सीमा नावा खोलामा झोलुङ्गे पुलबाट मोटरसाइकल तार्नुपर्ने भएकाले उनीहरुले त्यहाँको एक घरका स्थानीयवासीलाई बाटो सोधेको पनि प्रहरीले प्रमाण फेला पार्छ। तर धनकुटाको फलामेटार नजिकै पुग्दा मोटरसाइकल बिग्रन्छ। उनीहरु बाटोमै मोटरसाइकल छोडेर पैदल यात्रा गर्दै झापातर्फ लाग्छन।
बाटोमा बेवारिसे मोटरसाइकल रहेको भनि स्थानीयवासीले प्रहरीलाई खवर गर्छन। तर जब नजिकैको प्रहरी टोली घटनास्थल पुग्छ, त्यहाँ मोटरसाइकल भेटिँदैन। यता अर्कै मुद्दामा पक्राउ परेका करण मगरले आफूहरुले मोटरसाइकल बाटोमै छोडेर हिँडेको बयान दिन्छन। झापाबाट इलाम आई बसेका अर्का आरोपी लावतीलाई खोज्न पाँचथर प्रहरीको टोली इलाम पुग्छ तर उनी फिदिम आइसकेका हुन्छन। साउन २४ गते फिदिमबाट पक्राउ परेका लावतीले पनि मगरको जस्तै बयान दिएपछि प्रहरीलाई तनाब थपिन्छ।
तर धनकुटा प्रहरीसँगको सहकार्यमा खोजीलाई तीब्र पारेको प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका–४ का कुमार तामाङले मोटरसाइकल लिएर गएको सूचना प्रहरीले फेला पार्छ। साउन २४ गते मोटरसाइकल बेवारिसे अवस्थामा हुँदाको तस्वीर प्रहरीले फेला पार्छ। सोही सूचनालाई पच्छयाई खोजी गर्ने क्रममा आईतबार उक्त मोटरसाइकल तामाङको मावली घर तेह्रथुमको छथर गाउँपालिका–३ हिमाङदिनमा फेला पर्छ। बाटोमा बेवारिसे मोटरसाइकल तामाङले लिएर हिँडेका हुन्छन।
प्रहरीले सोमबार मोटरसाइकल र चोरीमा संलग्न तामाङलाई जिल्ला प्रहरी कार्यालय ल्याइपु¥याएको छ। दोहोरो चोरी भएको मोटरसाइकल पाँचथर प्रहरीले निरन्तर आठ दिन खोजी गरी फेला पारेको हो। “घटनामा संलग्नले प्रमाण नष्ट गर्नसक्ने भएका कारण उक्त विषयलाई सार्वजनिक नै नगरी खोजीलाई तिब्रता दिई सफलता हासिल गरेका हौं”, प्रनाउ बुढाथोकीले भन्नुभयो, “सामाजिक सञ्जालमा यस विषयमा धेरै प्रश्न उठे। तर प्राप्त प्रमाणको मद्दतले चोरी भएको मोटरसाइकल र घटनामा संलग्न फेला पार्यौ ।”









