0 प्रतिक्रिया
कृषकलाई पुरस्कार दिन खलामा धान भर्दै स्थानीय सरकार
AI सारांश
Fast AI१. पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान उत्पादन नापजाँच गरी पुरस्कार वितरण गर्ने तयारीमा जुटेको छ।
२. गाउँपालिकाले धान, मकै, आलु र गोठे मल उत्पादनमा उत्कृष्ट प्रदर्शन गर्ने कृषकलाई मापदण्डअनुसार आर्थिक पुरस्कार दिने व्यवस्था गरेको छ।
३. गत वर्ष ५८६ जना कृषकलाई करिब दुई करोड रुपैयाँ पुरस्कार वितरण गरिएको थियो भने यस वर्ष पनि उत्पादन बढ्दै गएको छ।
धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने तयारीस्वरुप पाँचथरको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषि प्राविधिकहरु यतिबेला खलामा पुगेर कृषकले फलाएको धान नाँपचाँच गरी तथ्याङ्क राखिरहेका छन।
मिक्लाजुङ गाउँपालिकाले आ.व. २०७७-०७८ देखि सुरुआत गरेको कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत यस वर्षको धान थन्क्याउने समय भएसँगै यहाँका खला–खलामा वडाका जनप्रतिनिधि, कर्मचारी र सचिवहरु पुगिरहेका छन। उक्त कार्यक्रमबाट लाभ लिन कृषकहरु उत्साहित भएपछि अन्नवालीको नापजाँच गर्दै गाउँपालिकाको टोली यहाँका कृषकका खेतबारी चहारी रहेको छ।
मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित रैकर खेतमा जग्गाधनीलाई अधिँया बुझाउने सर्तमा धान रोप्दै आउनुभएको छ। तीन खला खेतमा खेती लगाउनुभएका बोहोराले शुक्रवार यस रैकर खेतमा धान झार्ने कार्यक्रम बनाइ वडा कार्यालयमा जानकारी गराउनु भएको थियो। धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं, कृषि प्राविधिक रीता राई लगायतले धानको नापजाँच थाल्नुभयो। धान भर्दा २५ मुरी पुग्यो।
यस वर्ष बोहोराले ७० मुरीभन्दा बढी धान उत्पादन गरी प्रोत्साहन पुरस्कार पाउने देखिएको वडाध्यक्ष रेग्मीले वताउनुभयो। “उहाँले धानमा मात्रै होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “कतिपय कृषकले एकभन्दा बढी उत्पादनमा समेत पुरस्कार पाइरहनु भएको छ।”
मिक्लाजुङ गाउँपालिकाले आ.व. २०७७-०७८ देखि सुरुआत गरेको कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत आ.व. २०८१-०८२ देखि अन्नबाली उत्पादन र मल उत्पादनमा प्रोत्साहन दिने ब्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता एवम् ५ नम्बर वडाका वडाध्यक्ष अविशन लावतीले जानकारी दिनुभयो। लावतीका अनुसार गत आ.व.सम्म ५० मुरीभन्दा बढी धान फलाउनेलाई रु. ५० हजार, २० फिट लम्बाइ र ४ फिट उचाइ भएको मकैको थाङ्ग्रो राख्नेलाई रु. ३० हजार, ३५ मन (४० किलो) भन्दा बढी आलु उत्पादन गर्नेलाई रु. २५ हजार र १० घनमिटरभन्दा बढी प्राङ्गारिक वा गोठे मल बनाउनेलाई रु. २५ हजार पुरस्कार दिने ब्यवस्था थियो।
मापदण्डअनुसार एकै परिवारले आफ्नै जग्गाजमिन वा विभिन्न सर्तमा लिएको अर्काको जग्गा जमिनमा भएपनि उक्त परिमाणको उत्पादन गरेमा पुरस्कार प्राप्त गर्न सक्दछन। यसका लागि पूर्वसूचना दिनुपर्ने र जनप्रतिनिधि, कर्मचारी र प्राविधिकले कडाइका साथ अनुगमन गर्ने ब्यवस्था गाउँपालिकाले गरेको छ।
उक्त मापदण्डअनुसार पुरस्कार वितरण गर्दा गाउँपालिकाको करीव रु. दुई करोड खर्च हुन थालेपछि यस वर्ष मापदण्डलाई केही कडा बनाइएको लावतीले वताउनुभयो। “उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरवदल गर्न लागेका छौं”, लावतीले भन्नुभयो, “तर विगतभन्दा धेरै अन्तर हुँदैन। कृषकहरुले अहिले पनि राम्रो लाभ पाउनु हुन्छ।” १० घनमिटर प्राङ्गारिक वा गोठ मल बनाउँदा पुरस्कार प्राप्त गर्ने कार्यक्रम भने दुइ वर्ष अघिदेखि चलिरहेको लावतीले जानकारी दिनुभयो ।
पुरानो मापदण्डअनुसार नै धान, मकै र आलु उत्पादन तथा मल भण्डारण गर्न र यसवारे पूर्वजानकारी दिन वडा कार्यालयहरुमार्फत कृषकहरुलाई यसअघि नै सूचित गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपा राईले जानकारी दिनुभयो। सोही सूचनाअनुसार कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा यतिबेला धान नापजाँचको क्रम चलिरहेको उहाँले वताउनुभयो।
कोभिड–१९ को महामारीपछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई रु. एक लाख, तथा ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु. २० पुरस्कार दिने प्रवन्ध गरेको थियो। लाभग्राही कृषक धेरै भएपछि गाउँपालिकाले पुरस्कारको रकम घटाएको थियो।
गत वर्षमात्रै कृषक प्रोत्साहन पुरस्कारमार्फत गाउँपालिकाले ५८६ जना कृषकहरुलाई रु. एक करोड ८५ लाख ६५ हजार रकम वितरण गरेको थियो । गाउँपालिकाका प्रवक्ता लावतीका अनुसार गत वर्ष १०७ जना कृषकले धान उत्पादन गरेर रु. ५३ लाख ५० हजार, २४८ जना कृषकले मकै उत्पादन गरी थाङ्ग्रोमा राखेर रु. ७४ लाख ४० हजार, ६७ जना कृषकले आलु उत्पादन गरेर रु. १६ लाख ७५ हजार र १६४ जना कृषकले मल उत्पादन गरेर रु. ४१ लाख पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार प्राप्त गर्ने लाभग्राही कृषकको सङ्ख्या वर्षेनि वृद्धि हुँदा अन्नबाली उत्पादन समेत बढिरहेको प्रवक्ता लावतीले वताउनुभयो।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले समेत ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ३० हजार र १०० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु. ५० हजार प्रोत्साहन पुरस्कार दिने कार्यक्रम सञ्चालन गरिरहेको छ । फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका अत्यधिक अन्नबाली उत्पादन हुने र सिंचाइको सुविधा तुलनात्मक रुपमा राम्रो भएका पालिकामा पर्दछन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






