0 प्रतिक्रिया
नेत्र गुरागाइ स्मृति गोल्डकपको फाइनलमा कुम्मायक स्पोर्टिङ क्लव, पाँचथर
म्याङलुङ (तेह्रथुम)
तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाइ स्मृति गोल्डकप–२०८२ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कुम्मायक स्पोर्टिङ क्लव, कुम्मायक पाँचथरले इटहरी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेल पेनाल्टीमा पुगेपछि कुम्मायकका गोलकिपर असिम राई नायक बने। उनले दुई प्रहार रोकेपछि कुम्मायक ४–२ को जितसँगै उपाधि नजिक पुगेको हो।
पेनाल्टीमा कुम्मायकतर्फ निरज लिङ्देन, मिराक लिम्बु, दिपेश लिम्बु र बेगम गुरुङले प्रहार सफल बनाउँदा, इटहरीतर्फ प्रवेश बस्नेत र सञ्जय धिमाल मात्र गोल गर्न सके। विषाल तामाङ र अनिस परियारको प्रहार असफल भएपछि इटहरी पराजित भएको थियो।
अब सोमबार हुने दोस्रो सेमिफाइनलमा बीबीसी तेह्रथुम र नेपाल प्रहरी विराटनगर रानीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख २२ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।












