0 प्रतिक्रिया
एमाले पाँचथरको प्रतिबद्धता पत्र सार्वजनिक
पाँचथर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरका प्रत्यक्षतर्फका उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङ र समानुपातिकतर्फकी उम्मेदवार “भूमिका लिम्बू (सुब्बा)” ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
पाँचथर जिल्लाको समग्र विकास, राष्ट्रिय सार्वभौमिकता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विस्तृत प्रतिबद्धतासहित चुनावी एजेन्डा सार्वजनिक गरिएको हो ।
भौतिक पूर्वाधारतर्फ जिल्लाभित्रका तथा राष्ट्रिय महत्वका सडकहरूको कामलाई तीव्रता दिने, विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै, मानवीय क्षति न्यूनिकरणका लागि विपद् प्रतिरोधी आवास तथा एकीकृत बस्ती विकासमा जोड दिइएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा जिर्ण विद्यालय पुनर्निर्माण, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, “एक पालिका–एक प्राविधिक विषय” अवधारणालाई प्राथमिकता दिँदै निजी विद्यालयलाई प्रतिस्पर्धामैत्री बनाउने नीति लिइने उल्लेख छ ।
स्वास्थ्यतर्फ १०० शैयाको जिल्ला अस्पताल निर्माण, पालिकास्तरीय आधारभूत अस्पताललाई पूर्णता, वडास्तरीय स्वास्थ्य चौकीहरूको स्तरोन्नति, निःशुल्क स्वास्थ्य बीमा, दीर्घरोगीका लागि निःशुल्क औषधि तथा पालिकादेखि सदरमुकामसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि जिल्लाभित्र रहेका सम्भावनायुक्त क्षेत्रहरूको खोज–अनुसन्धान, डीपीआर तयारी, आवश्यक निर्माण, संरक्षण तथा प्रचारप्रसारका लागि कार्ययोजना बनाइने साथै कला, संस्कृति, धार्मिक क्षेत्र, होटल व्यवसाय र होमस्टे प्रवर्द्धनसँगै “एक वडा–एक खेलमैदान” अवधारणाअनुसार खेलमैदान निर्माणमा विशेष जोड दिइने कुरा समावेश छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण र बजारीकरण गर्दै कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरी किसानको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको छ । साथै, सिँचाइ सुविधा विस्तार, सुख्खाग्रस्त क्षेत्रमा लिफ्टिङमार्फत जलस्रोत उपलब्ध गराउने र विद्युत् महसुल न्यून गर्न कानुनी पहल गरिने उल्लेख छ ।
उद्योग–व्यापारतर्फ स्थानीय सिप र स्रोतमा आधारित उद्योग स्थापना गरी युवालाई स्वरोजगार बनाउने, नागरिकलाई इन्टरनेट पहुँच सुनिश्चित गर्ने, मोफसलका सञ्चारमाध्यमको संरक्षण, कुलत तथा दुर्व्यसनमुक्त अभियान, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका कार्यक्रम समेटिएका छन् ।
संघीय निजामती विधेयक तथा अन्य कानुन निर्माणमा ट्रेड युनियनका माग समेटिने विषय समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको प्रत्यक्षतर्फका उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











