+
+

परिवार नियोजन सेवाबाट टाढिदै पाँचथरका नागरिक, बढ्दो चुनौती

26 पटक हेरिएको
Clock २०८३ असार १२, शुक्रबार २२:२०
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा परिवार नियोजनका प्रयोगकर्ताको संख्या निरन्तर घटिरहेको छ, जसमा गत आर्थिक वर्षमा एक जना पुरुष र चालु आर्थिक वर्षमा एक जना महिलाले मात्र स्थायी बन्ध्याकरण गरेका छन्।
२. परिवार नियोजनका साधन प्रयोग गरेमा केही व्यक्तिमा सामान्य साइड इफेक्ट देखिन सक्छ, तर सबैमा एउटै प्रकृतिको साइड इफेक्ट नदखिने र यो इफेक्ट अस्थायी हुने भएकोले दम्पतीहरुले परिवार नियोजनका साधन प्रयोग गर्ने भन्दा पछी हट्ने गरेका छन्।
३. परिवार नियोजनको साधन बारे अझै पनी विभिन्न भ्रम र गलत धारणाहरु समाजमा विद्यमान छन्, कतिपयले गर्भनिरोध साधनले स्वास्थ्यमा दिर्घकालिन असर पार्ने तथा कृत्रृम भन्दा प्राकृतिक कुरालाई विश्वास गर्छन्।

दुर्गा खनाल, पाँचथर
फिदिमका एक दम्पतीलाई सन्तानको रहर पुगिसकेपनी परिवार नियोजनको साधन प्रयोग गरेका छैनन्। आफैँ सजग भइरहेकोले स्थायी बन्ध्याकरण नगर्ने दम्पतीको भनाई छ। बन्ध्याकरण गरेपछी स्वास्थ्यमा खरावी आउने उनिहरुको दावी छ । अधिकांश सन्तानका रहर पुगेका दम्पतीहरु स्थायी रुपमा परिवार नियोजन गर्न पछी हट्ने गरेका छन्। पाँचथरमा स्थायी मात्र हैन अस्थायी रुपमा परिवार नियोजन गर्ने महिला पुरुष पनी घट्दो क्रममा छन् । कुम्मायककी ३० वर्षीय महिलाले ३ पटक सम्म अस्थायी साधन डि.पो. प्रयोग गरिन। त्यस अवधीमा शरिरमा अन्य सामान्य साइड इफेक्ट देखिएकोले प्रयोग गर्न छाडेको महिलाको भनाई छ।
परिवार नियोजनले मातृ तथा शिशु स्वास्थ्य सुधार, अनैच्छिक गर्भधारण न्युनिकरण तथा परिवारको आर्थिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने भए पनी यसको प्रयोगमा आएको गिरावटले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुलाई चिन्तित बनाएको छ। परिवार नियोजनको स्थायी साधनको रुपमा बन्ध्याकरण र अस्थायी साधनको रुपमा नरप्लान्ट, आई.यु.सि.डि., डिपो, पिल्स र कण्डम वितरण गर्ने गरिन्छ। समुदाय स्तरमा महिला स्वास्थ्य सेविका मार्फत पिल्स र कण्डम वितरण गरिन्छ भने स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा र घुम्ति शिविर तथा स्याटलाईट क्लिनिक मार्फत अन्य सेवा प्रदान हुन्छ।

लगातार घटदै प्रयोगकर्ता, पाँच वर्षमा ५ प्रतिशत बिन्दुको गिरावट:
परिवार नियोजनको स्थायी साधन महिलाका लागी मिनिल्याप र पुरुषका लागी भ्यासेक्टोमी हो। पाँचथरमा गत आर्थिक वर्षमा एक जना पुरुष र चालु आर्थिक वर्षमा एक जना महिलाले मात्र स्थायी बन्ध्याकरण गरेका छन्। यो संख्या अत्यन्तै न्युन हो। अस्थायी साधन प्रयोग गर्नेको संख्या तालिकामा हेरौँ

पाँचथरमा पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले परिवार नियोजनका प्रयोगकर्ताको संख्या निरन्तर घटिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अधिकांश स्थानीय तहमा नयाँ प्रयोगकर्ता र प्रयोग प्रतिशत दुवैमा गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लाभर परिवार नियोजनका नयाँ प्रयोगकर्ता १५.९४ प्रतिशत रहेकोमा २०८०/८१ मा घटेर १२.४१ प्रतिशत र २०८१/८२ मा ११.०८ प्रतिशतमा झरेको छ। यो तीन वर्षको अवधीमा झन्डै ५ प्रतिशत विन्दुको गिरावट हो। तथ्याङ्क अनुसार जिल्लाको ८ वटै स्थानीय तहमा प्रयोगकर्ता घट्दो क्रममा छन्।

भ्रम, डर र वैदेशिक रोजगारको मुख्य कारण:
परिवार नियोजनका प्रयोगकर्ताको अनुपात घट्नुले भविश्यमा मातृ तथा शिशु स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने स्वास्थ्यकर्मी लक्ष्मी जोशी बताउनुहुन्छ। परिवार नियोजनका साधन प्रयोग गरेमा केही व्यक्तिमा सामान्य साइड इफेक्ट देखिन सक्छ। सबैमा एउटै प्रकृतिको साइड इफेक्ट नदखिने र यो इफेक्ट अस्थायी हुने डा. बुद्धी बहादुर थापा बताउनुहुन्छ। परिवार नियोजन सम्बन्धी चेतना र ठोस कार्यक्रमहरु नभएकोले प्रयोगकर्ताको संख्यामा कमी आएको डा. थापाको भनाई छ। उहाँ भन्नुहन्छ,“वैदेशिक राजगारीका कारण दम्पती लामो समय सम्म संगै नबस्नु, घट्दो जन्मदर र सानो परिवारको लक्ष्य पहिल्यै पुरा हुनु, परिवार नियोजनका साधनबारे भ्रम र डर पैदा हुनु, नयाँ विवाह तथा प्रजनन उमेर समुहको संख्या घट्नु, स्वास्थ्य संस्थामा परामर्श तथा पहुँचको कमजोरी हुनु, बसाइसराइका कारण युवा जनसंख्या घट्नु जस्ता प्रमुख कारणले परिवार नियोजनका प्रयोगकर्ता घटिरहेका छन्।”

आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्याङ्क हेर्दा परिवार नियोजन कार्यक्रमका केही सुचकमा सुधार देखिए पनि समग्र गर्भनिरोधक प्रयोगदर भने घटेको देखिन्छ। आधुनिक गर्भनिरोधक साधनका नयाँ प्रयोगकर्ता ५.५५%, सुत्केरी महिलामध्ये आधुनिक गर्भनिरोधक प्रयोगकर्ता १५.३२%, छोटो अवधि का नयाँ प्रयोगकर्ता ३.५१% र गर्भनिरोधक प्रचलन दर १९.९४% रहेको छ। गर्भ निरोधक प्रचलन दर करिब ८.५ प्रतिशत बिन्दुले घटेको छ। यसको अर्थ प्रजनन उमेरका महिलामध्ये परिवार नियोजन साधन प्रयोग गर्ने कुल संख्या घटिरहेको छ।

परिवार नियोजनका साधन बारे अझै पनी विभिन्न भ्रम र गलत धारणाहरु समाजमा विद्यमान छन्। कतिपयले गर्भनिरोध साधनले स्वास्थ्यमा दिर्घकालिन असर पार्ने तथा कृतिम भन्दा प्राकृतिक कुरालाई विश्वास गर्छन । फाल्गुनन्द १ का नव बिवाहित दम्पतीको केही वर्ष सन्तान नजन्माउने योजना छ। तर परिवार नियोजका साधन प्रयोग नगर्ने उनिहरु बताउँछन्। श्रीमान भन्छन्,“ साधन प्रयोग गरे पछी बच्चा बस्दैनन भन्छन त्यही भएर डर लाग्छ।” केही दम्पती सन्तान जन्माउने योजना पुरा नभएसम्म परिवार नियोजनका साधन प्रयोग गर्न गाह्रो मान्ने गरेको याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपती राजेन्द्र जवेगुको अनुमान छ।
बन्ध्याकरण सेवालाई नियमित रुपमा स्वास्थ्य संस्थाहरुमार्फत सेवा प्रदान गर्न कठिनाई हुनु, प¥याप्त वजेट व्यवस्थापन नहुनु, परिवार नियोजनको स्थायी सेवा नलिनु, बन्ध्याकरणको अभिलेख प्रत्येक स्वास्थ्य सँस्थामा उपलब्ध हुन नसक्नु, लामो अवधी सम्म काम गर्ने जन्मान्तरका साधनहरु सिमित स्वास्थ्य संस्थाहरुमा मात्र उपलब्ध हुनु, निजि स्वास्थ्य संस्था बाट वितरण हुने साधनहरुको विवरण प्राप्त नहुनु जस्ता समस्याहरु यस क्षेत्रमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी लबरेन्ज साहले जानकारी दिनुभयो ।

गर्भपतन पश्चात परिवार नियोजनका साधन प्रयोग गर्ने पनी घट्दो
फिदिमकी २० वर्षीय महिलाको पहिलो सन्तान भएपछी श्रीमानले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने सल्लाह दिए। महिलाका अग्रज दिदिहरुले प्रयोग नगर्नु यसले राम्रो गर्दैन भनी गलत सल्लाह दिएकै कारणले कुनै पनि साधन प्रयोग गरिनन्। बच्चा ६ महिना नपुगी अनिच्छित गर्भ बस्यो। अन्तत महिलाले गर्भपतन गराइन। बेलैमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेको भए गर्भपतन गराउनु पर्दैन थियो। आफ्नो आवश्यकता अनुसार चाहेको अन्तरालमा सन्तान जन्माउन तथा अनैच्छिक गर्भधारण रोकी प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन परिवार नियोजनका साधन प्रयोग गरिन्छ। जिल्लामा गर्भपतन पश्चात परिवार नियोजनको साधन प्रयोग गर्ने प्रतिशत पनि घट्दो क्रममा छन्।

नेपाल सरकारले सुचिकृत गरेका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा मात्र सुरक्षित गर्भपतन गर्न पाइने कानुनी व्यवस्था छ। तर असुरक्षित वा अवैधानिक तरिकाले गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ। स्वास्थ्य विज्ञहरुका अनुसार मान्यता प्राप्त स्वास्थ्य संस्थाहरुमा गरिएको सुरक्षित गर्भपतन सामान्यतया सुरक्षित मानिन्छ। तर असुरक्षित गर्भपतनले माहिलाको स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने भएकोले कानुनी तथा सुरक्षित सेवाको पहुँच सुरक्षित गर्न आवश्यक छ। गर्भपतन गरे पश्चात अनिवार्य परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने प्रावधान भएपनि सबैले प्रयोग गरेका छैनन् । गत बैशाख महिनामा मात्र जिल्ला अस्पतालमा ४२ जना सुत्केरी हुँदा ६० जना भन्दा बढीले गर्भपतन गराएका छन्। परिवार नियोजनको साधन सहि तरिकाले प्रयोग गरेमा गर्भपतन रोक्न सकिने स्वास्थ्यकर्मी रिता ओझाको भनाई छ।

सुरक्षित र कानुनी रुपमा गरिएको गर्भपतनले सामान्यतया दीर्घकालिन स्वास्थ्य समस्या निम्त्याउँदैन। तर असुरक्षित गर्भपतनले संक्रमण अत्याधिक रक्तश्राप तथा मातृ स्वास्थ्यमा गम्भिर जोखिम निम्त्याउन सक्छ। सुरक्षित सेवा र परिवार नियोजनको पहुँच विस्तारलाई मातृ स्वास्थ्य सुधारको महत्वपुर्ण आधार हुन्छ। जिल्ला अस्पतालका सुचना अधिकारी नविन रेग्मीका अनुसार केही महिला दोस्रो तेस्रो पटक सम्म गर्भपतनको लागी आउने गर्छन्। यसले महिलाको स्वास्थ्यमा गम्भिर असर गर्न सक्ने रेग्मीको भनाई छ। अनिच्छित गर्भ को उत्तम विकल्प परिवार नियोजनको साधन नै भएको रेग्मी बताउनुहुन्छ।

इकोनलाई गर्भ निरोधक औषधीको रुपमा प्रयोग गर्दा समस्या
जिल्लाको सदरमुकाम तथा ग्रामिण भेगमा भएका औषधी पसलहरुमा अक्सर विक्री हुने औषधी मध्ये इकोन पनी हो। यो औषधी आपतकालिन गर्भनिरोधकको औषधी भएपनी कतिपयले यसलाई परिवार नियोजनको साधनको रुपमै प्रयोग गरेको पाइएको छ। एउटै व्यक्ति धेरै पटक इकोन किन्न आउने गरेको औषधी व्यवसायी बताउँछन्। पटक-पटक इकोन प्रयोग गर्ने महिलाको निकट भविश्यमा प्रजनन स्वास्थ्यका साथै समग्र स्वास्थ्य अवस्थामा असर पर्न सक्ने स्वास्थ्यकर्मीको भनाई छ।
इकोन इमर्जेन्सी कन्ट्रासेप्टिभको छोटकारी नाम हो। बलत्कार, अदम्य यौन आवेग, हाडनाता यौन सम्बन्ध, गम्भिर यौन भुल, गर्भ निरोधक औषधी वा उपाय प्रयोग गर्न नसकिएको विशेष परिस्थितिमा गर्भधारण नहोस भन्ने उद्देश्यले यो औषधी सेवन गरिन्छ। यौन सम्पर्क भएको ७२ घण्टाभित्र महिलाले यो औषधी खाएमा गर्भ रहँदैन। तर गर्भ निरोधकको ओषधी हैन। आपतकालिन रुपमा प्रयोग गर्ने औषधीलाई धेरै जसो व्यक्तिले परिवार नियोजन वा गर्भ निरोधकको सबैभन्दा सहज साधन मानेर प्रयोग गर्न थालिएको छ। यो औषधी कडा रसायनबाट बनेको हुनाले महिलाको हार्मोन लगायत प्रजनन स्वास्थ्य सँग सम्बन्धित आन्तरिक प्रणालीहरुमा असर पार्ने स्वास्थ्य विशेषज्ञ बताउँछन्।

परिवार नियोजनको कार्यक्रम अपेक्षा अनुसार प्रभावकारी हुन सकेन
पहाडी जिल्ला भएकोले ग्रामिण भेगमा परिवार नियोजनका शिविर राम्रोसँग सञ्चालन हुुन सकेको छैन। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ७ लाख रुपैँया मात्र वजेट विनियोजन गरेको छ। यती वजेटले जिल्ला भरी परिवार नियोजनका शिविरहरु प्रभावकारी रुपमा गर्न कठिनाई हुने कार्यक्रम संयोजक राजेश मिश्रले बताउनुभयो। बन्ध्याकरणको शिविरमा एक जना पनि प्रयोगकर्ता नआउने भएकोले यसको शिविर सञ्चालन हुन सकेको छैन। अस्थायी साधन प्रयोग गर्ने तरिका, लामो अवधी वा छोटो अवधीको उपयुक्त साधन प्रयोग गर्न सल्लाह दिने, प्रजनन स्वास्थ्य लगायतका विषयहरु सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिरहेको संयोजक मिश्रले जानकारी दिनुभयो।
जिल्लामा सञ्चालन गरिएका परिवार नियोजनका कार्यक्रमहरुबाट केही सुचकमा सुधार देखिए पनि समग्र लक्ष प्राप्तिमा भने अपेक्षित सफलता हासिल हुन सकेको देखिन्दैन। पछिल्ला वर्षहरुको तथ्याङ्कले नयाँ परिवार नियोजन प्रयोगकर्ता र गर्भनिरोधक प्रचलन दर निरन्तर घटिरहेको छ। मिश्र भन्नुहुन्छ,“ वैदेशिक रोजगारी, बसाईँसराई, परिवार नियोजन सम्बन्धी सामाजिक भ्रम, सेवा प्रतिको पहुँच रनियमित परामर्शका कमी जस्ता कारणहरुले कार्यक्रमको प्रभाव सिमित हुन सक्छ।” परिवार नियोजनका लक्षित वर्ग स्थानीय तह सँगै नजिक हुने भएकोले यस सम्बन्धी कार्यक्रमहरु स्थानीय तहमा नै गरिनुपर्ने मिश्रले जोड दिनुभयो।

लक्षित वर्गमा परिवार नियोजनको साधन प्रयोगकर्ता बढाउने मार्ग
पाँचथरमा परिवार नियोजनका नयाँ प्रयोगकर्ता र समग्र गर्भनिरोधक प्रयोगदरलाई बढाउन केही मार्ग छन् ।
परिवार नियोजनका साधनबारे रहेका भ्रम र गलत धारणाहरु हटाउन नियमित सचेतनामुलक कार्यक्रम गर्ने।
पुरुष र महिलालाई संयुक्त रुपमा लक्षित गर्ने।
परिवार नियोजनलाई महिलाको मात्र जिम्मेवारी नभई दम्पतीको साझा जिम्मेवारीका रुपमा स्थापित गर्ने।
पुरुषले प्रयोग गर्ने साधन प्रयोग बारे सचेतना बढाउने।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलालाई अनिवार्य परामर्श दिने।
प्रसुति सेवा तथा परिवार नियोजन सेवालाई एकिकृत गर्ने।
नव बिवाहित तथा युवा दम्पतीलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने।
गोपनिय र सहज सेवा उपलब्ध गराउने।
घरदैलो अभियान मार्फत परिवार नियोजन सेवाको जानकारी दिने।
सेवा छोडेका प्रयोगकर्ताको पहिचान गरी पुनः सेवामा जोड्ने।
दुर्गम क्षेत्रमा नियमित रुपमा परिवार नियोजन सामाग्री उपलब्ध गराउने।
स्वास्थ्यकर्मीलाई परामर्श तथा सेवामा थप दक्ष बनाउने।
प्रयोगकर्ता घटेका स्थानमा विश्लेषण गरी विशेष कार्यक्रम गर्ने।
पाँचथरमा परिवार नियोजनका प्रयोगकर्ता बढाउन सामाग्री उपलब्ध गराएर मात्र पुग्दैन। समुदायमा रहेको भ्रम हटाउने, पुरुष सहभागिता बढाउने, युवामैत्री सेवा विस्तार गर्ने, सुत्केरीपछीको परिवार नियोजनलाई थप प्रभावकारी बनाउने रणनिति आवश्यक देखिएको छ। प्रयोगकर्ता बढाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय अपरिहार्य रहेको स्वास्थ्यकर्मी राजेश मिश्र बताउनुहुन्छ।

निश्कर्ष
पाँचथर जिल्लाको पछिल्ला वर्षहरूको परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी तथ्याङ्कले मिश्रित अवस्था देखाएको छ। एकातर्फ सुत्केरीपछिको परिवार नियोजन सेवामा सुधार देखिएको छ भने अर्कोतर्फ नयाँ परिवार नियोजन प्रयोगकर्ता तथा समग्र गर्भनिरोधक प्रचलन दर निरन्तर घटिरहेको छ।
तथ्याङ्क अनुसार परिवार नियोजनका नयाँ प्रयोगकर्ता र कुल प्रयोगकर्ता दुवैमा आएको गिरावटले समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको संकेत गर्छ। वैदेशिक रोजगारी, बसाइँसराइ, परिवार नियोजनसम्बन्धी भ्रम, पुरुष सहभागिताको कमी तथा सेवाको पहुँच र निरन्तरतामा रहेका चुनौतीहरू यसका प्रमुख कारण हुन सक्ने देखिन्छ। यद्यपि सुत्केरीपछिको परिवार नियोजन सेवामा सुधार आउनु स्वास्थ्य प्रणालीका सकारात्मक उपलब्धि हुन।
समग्रमा, पाँचथरमा परिवार नियोजन कार्यक्रमका केही पक्ष सफल भए पनि जिल्लास्तरमा गर्भनिरोधक साधनको प्रयोग बढाउने मूल उद्देश्य भने अझै पूरा हुन सकेको छैन। परिवार नियोजनका प्रयोगकर्ता बढाउन समुदायस्तरमा जनचेतना अभिवृद्धि, पुरुष सहभागिता विस्तार, युवामैत्री सेवा सुदृढीकरण तथा स्थानीय आवश्यकता अनुसार लक्षित कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ। परिवार नियोजनलाई केवल स्वास्थ्य कार्यक्रमका रूपमा नभई मातृ तथा शिशु स्वास्थ्य, महिला सशक्तीकरण र दिगो विकाससँग जोडिएको विषयका रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win