+
+

पाँचथरमा लागु औषधको बढ्दो अवस्था: युवापुस्ता उच्च जोखिममा

26 पटक हेरिएको
Clock २०८३ श्रावण १९, मंगलवार १६:४८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लामा लागु औषध सेवन गर्ने युवाहरुको संख्या बढ्दो छ, जसमध्ये अधिकांश साथी संगतको कारणले कुलतमा फसेका छन्।
२. लागु औषधको सेवनले शारिरिक, मानसिक, परिवारिक तथा सामाजिक असर परिरहेको छ, र यसको सेवनले एचआईभी, एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरु संक्रमण हुने, तौल घट्ने, खानामा रुचि नहुने, ओभरडोज भएमा मृत्यु सम्म हुन सक्ने जोखिम छ।
३. लागु औषध दुव्र्यसन नियन्त्रणका लागि परिवार, विद्यालय, स्थानिय सरकार, स्वास्थ्य सँस्था, समुदाय र युवाहरुको संयुक्त प्रयास आवश्यक छ, र समयमै सचेतना, प्रभावकारी रोकथाम, उपचार तथा पुनस्र्थापनामा जोड दिन सके मात्र लागु औषध दुव्र्यसनको चक्र तोड्न र युवापुस्तालाई सुरक्षित भविश्यतर्फ डो¥याउन सकिन्छ।

कमल घिमिरे, पाँचथर
पाँचथर-छोराले लागु औषध सेवन गर्न थालेको एक वर्ष पछी मात्र आमाले त्यो तितो सत्य थाहा पाइन्। फिदिमकी गीता लिम्बुको १८ वर्षीय छोरा पढाइको सिलसिलामा विर्तामोड थियो। गीता भन्छिन्,“ बारम्बार पढाइको लागी भन्दै पैसा माग्थ्यो। होला भनेर पठाउँथेँ । पैसा माग्ने क्रम बाक्लो भएपछी भाइलाई बुझ्न लागाउँदा लागु औषध सेवन गर्ने गरेको पाएपछी होस उड्यो। चुरोट खान नजान्ने छोरो कसरी कुलतमा फस्यो ?” फिदिम बजारकै ७० वर्षीय बुवा आमाले ३० वर्षिय आफ्नो छोरा कुलतमा फसेर धेरै दुःख पाए। मार्ने सम्मको धम्की दिन थालेपछी आमाले घरनै छोड्नु पर्‍यो। तीन पटक सुधार केन्द्रमा पठाएपनी सुध्रिन सकेन। युवककी दिदि भन्छिन्,“ भाइले साह्रै दुःख दियो, यस्तो छोरा कसैका नहुन अहिले कहाँ कुन अवस्थमा छ पत्तै छैन।”
पाँचथरमा यस्ता धेरै युवा लागु औषधको जालोमा फसेका छन्। प्रहरीले वर्षेनी कुलतमा फसेका धेरै युवालाई सुधार्नको लागि परिवारको जिम्मा लगाउँछ। साथमा भेटिएको लागुऔषधको मात्रा अनुसारको मुद्धा पनि चल्छ, कानुनी कारबाही पनि हुन्छ, प्रहरी, स्थानीय निकाय र संघ संस्थाले लागु औषध नियन्त्रणका लागि विविध सचेतनामुलक कार्यक्रम गरिरहेकै छन्। तर पनि किन लागु औषध दुर्व्यसन नियन्त्रण हुन सकेको छैन ?
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु लागु औषध हो। सामान्यतया शारिरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभुतिलाई विकृती तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँछ। कानुनद्वारा निषेधित गाँँजा, अफिम, खैरो हिरोइन, मर्फिन, कोकिन, ब्राउनसुगर जस्ता अवैध लागु औषध हुन् भने सुर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। यसको सेवनले मानिसलाई मृत्युको मुख सम्म पुर्याउने भएकोले युवा पुस्ता जोखिममा छन्।
दुर्व्यसन बढी, मुद्धा कम
जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा १० वटा लागु औषध सम्बन्धी मुद्धा दर्ता भए जसमा १६ जना पक्राउ परे। यस्तै २०८०-८१ मा ९ वटा मुद्धा दर्ता हुँदा १६ जना पक्राउ परेका छन्। २०८१-८२ मा ९ वटा मुद्धा दर्ता हुँदा २६ जना पक्राउ परेका छन्। आर्थिक वर्ष २०८२-८३ मा ५ वटा मुद्धा दर्ता हुँदा १३ जना पक्राउ परेका छन्। लागु औषधको मुद्धामा करिव ४४ प्रतिशत कमी आएको प्रहरीले जनाएको छ। जिल्ला भित्र पाँच वर्षमा १ सय कारोबारी पक्राउ परेका छन्। अन्य जिल्लामा पनि पाँचथरका व्यक्तिहरु पक्राउ परिरहेका छन्। यसरी पक्राउ पर्नेमा अधिकांश २० वर्ष भन्दा मुनिका छन्। १२ वर्ष देखी ४० वर्ष उमेर सम्मका मानिसहरु लागु औषध दुर्व्यसनमा फसिरहेको प्रहरी प्रमुख अनिष कर्णले जानकारी दिनुभयो। कर्ण भन्नुहुन्छ,“ पक्राउ परेकाहरुको साथ बाट बरामत गरेका लागु औषधको मात्रा अनुसारको कानुनी कारबाही हुन्छ। वर्षमा ५० भन्दा बढी सेवनकर्ताहरुलाई सुधार्नको लागि अभिभावकको जिम्मा लगाउँछौँ । सुधार्नु हुन्छ हुन्न थाहा हुँदैन ।”
फिदिममा गत मंसिरबाट सञ्चालित नयाँ गोरेटो सुधार केन्द्रमा हाल १६ जना लागु औषध सेवन कर्ता उपचाररत छन्। हाल सम्म ४० जना कुलतमा फसेकाहरु सुधार भएको सञ्चालक बुनु कार्की बताउनुहुन्छ। कार्की भन्नुहुन्छ,“पढ्न मन नगर्ने, विद्यालय जान नमान्ने भन्दै अभिभावकले ल्याउनुहुन्छ। पछाडी मात्रै लागु औषधको कुलतमा फसेको थाहा हुन्छ, अभिभावकले ढाँट्ने गर्नाले उपचारमा समस्या हुन्छ। ” सुधार केन्द्र र प्रहरीको प्रतिवेदन अनुसार अझै कुलतमा फसेकाहरु धेरै छन् । कतिपय अभिभावकले थाहानै पाउँदैन् , कतिले लुकाउँछन्। पहिले लागु औषध प्रयोगकर्ता बजार केन्द्रित थिए, हाल ग्रामिण क्षेत्रमा पनि लागु औषधको जालो फैलिदै गएको छ। जिल्लामा लागु औषध सम्बन्धी मुद्धा र पक्राउको संख्यामा उतारचढाव छ। प्रयोगकर्ताको संख्या अझै चिन्ताजनक भएको सरोकारवाला बताउँछन्। धेरै प्रयोगकर्ता विभिन्न सुधार केन्द्रमा उपचारत छन् भने केहीलाई प्रहरीले कानुनी प्रक्रिया अगाडी नबढाई अभिभावकको जिम्मा लगाउने गरेको छ।
किन फस्छन् दुव्र्यसनीमा
गिताको छोरा आफ्नै साथीको संगत बाट कुलतमा फसे। उनी भन्छन,“सुरुमा साथीले हत्ते गर्यो, मिल्ने साथीले भनेपछी अलिकती खाएँ। दोस्रो खेप खाँदा त लत बसिहाल्यो ” फिदिमका गुन्जन लामा विद्यालय स्तरमा साथीकै कारणले लागु औषधको कुलतमा फसेको बताउँछन् । उनी भन्छन्,“ ९÷१० कक्षा पढ्दा साथीले चाख्न दियो , कस्तो हुन्छ होला भनेर चाखेँ । १०-१२ वर्ष कुलतमा फसेँ ।” यी दुवै जना सुधार केन्द्र बसेर हाल सामान्य जीवनमा फर्किसकेका छन् । दुव्र्यसनीमा फसेका प्रायः साथी संगतकै कारण छन । नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार ६७.७ प्रतिशत साथिसंगी, १४.१ प्रतिशत डुलन्ते बिक्रेता, ८.४ प्रतिशत औषधी पसल, ७.२ प्रतिशत अन्य पसल, २.५ प्रतिशत इन्टरनेटको माध्यम र ०.४ प्रतिशत अन्य माध्यम बाट लागु औषध सेवन गर्ने गरेका छन् ।
प्रहरी प्रमुख कर्णका अनुसार अभिभावकले छोरा छोरीलाई केही सामान किन्न पठाउँदा फिर्ता आउने सानो रकम खोजी नगर्दा त्यही रकम गलत काममा प्रयोग भएको पाइएको छ । अभिभावक र विद्यालय जिम्मेवारी नबन्दा दुव्र्यसनीमा फस्ने गरेको कर्णको भनाई छ । अभिभावकले बालबालिकालाई प¥याप्त समय नदिनु, बालबालिकाको दैनिकी र व्यवहार प्रति चासो नराख्नु, पारिवारिक कलह,अत्याधिक नियन्त्रण वा पूर्ण बेवास्ता गर्नु, खुल्ला संवादको अभाव हुनु, जस्ता कारणले लागु औषध दुव्र्यसनीमा फस्ने गरेको कर्ण बताउनुहुन्छ।
पाँचथर बहुमुखी क्याम्पसका साहायक प्राध्यापक डा. मधुराज केरुङले विद्यार्थीले विद्यालय पोसाकमै चुरोट खाएर विद्यालय प्रवेश गरेको देख्नुभयो। विद्यालयले आफ्ना विद्यार्थीको निगरानी गर्न नसक्नाले विद्यालय स्तरमै बालबालिका कुलतमा फस्ने गरेको प्राध्यापक केरुङको भनाई छ। दुव्र्यसनीमा लागेका साथीभाईको दवाव र संगत हनु, शिक्षा बाट बञ्चित, सही र गलतलाई छुट्याउन नसक्नु, बेरोजगारीको समस्या, नकरात्मक सोच, कौतुहलता हुनु जस्ता कारणले युवाहरु लागू औषध दुव्र्यसनीमा फस्दै गइरहेको प्राध्यापक डा. केरुङ बताउनुहुन्छ । आत्मा विश्वासको कमीलाई दुव्र्यसनको मुख्य कारण मध्ये एक मानिन्छ । यो सामाजिक समस्या हो।
जिल्लामा कसरी लागु पदार्थ भित्रिन्छ ?
२०८३ बैशाख १५ गते लागु औषध कारोबारीको आरोपमा फिदिम बजार बाट खैरो हेरोइन सहित दुई जना पक्राउ परे । पक्राउ पर्नेमा फिदिम ८ का अशोक गुरुङ र सोही स्थानका राम कुमार तामाङ थिए । तामाङले नेपाल–भारत सिमावर्ती क्षेत्र झापाको काकारभिट्टाबाट लागु औषध किनेर ल्याए । तामाङकै भतिजो नाता पर्ने मेचिनगर ६ भापाका सन्देश तामाङबाट लागु औषध किनेर सेवन गरेको जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ । लागु औषध सेवन वा बेचबिखन गर्न काकारभिट्टा, विर्तामोड बाट ल्याउने गरेको प्रयोगकर्ता बताउँछन् । भारत बाट लागु औषध झापा भित्रिने त्यहाँ बाट विभिन्न माध्यमबाट पाँचथर आउने गरेको छ । जिल्लामा अधिकांश ब्राउन सुगर, खैरो हेरोइन जस्ता पदार्थ बरामत हुने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
नेपालमा लागू औषध भित्रिएपछी यहाँका संगठित तस्करहरुले बजार तथा ग्रामिण भेग सम्म पु¥याउने गरेका छन् । विशेष गरी खुल्ला सिमाना, कमजोर सुरक्षा जाँच र अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी विभिन्न माध्यम बाट भित्रिने गर्छ । नेपाल प्रहरीको लागु औषध व्युरोका अनुसार भारत सँग जोडिएका खुल्ला सिमानाको फाइदा उठाउँदै लुकाई – छिपाई पैदल यात्रु र सवारी साधन मार्फत नेपाल भित्रिने गर्छ । त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट विदेशी तथा नेपाली नागरिकहरुले सुटकेसको फल्स बटम, जुत्ता वा शरिरका विभिन्न भागमा लुकाएर भित्र्याउने गरेका छन् । हुलाक वा कुरियर मार्फत आउने सामनहरुमा पनी लागु औषध भित्रिने गरेको व्युरोले जनाएको छ।
पाँचथर पनी भारत सँग जोडिएको जिल्ला हो । फालेलुङ र याङवरक गाउँपालिका भारत सँग जोडिएका छन् । यी नाकाहरुबाट पनी लागु औषध हाल सम्म भित्रिएको छैन । यद्यपी सिमावर्ती छेत्रमा निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी रामचन्द्र शाहाले जानकारी दिनुभयो । फालेलुङमा लागु औषधका गतिविधि नभएको सिद्धदेवी मा.वि. फालेलुङका प्रधानाध्यापक सुरेन केरुङको भनाई छ । लागु औषध प्रयोगकर्ता र कारोबारीहरुले तराईका जिल्लाहरुबाटै गाडीमा लुकाएर लागु औषध ल्याउने गरेको सुचना अधिकारी शाहाले बताउनुभयो । आर्थिक वर्ष २०८२÷८३ मा ८ सय २२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर र खैरो हिरोइन पक्राउ भएको छ। जिल्लामा अधिकांश ब्राउन सुगर , खेरो हिरोइन र केही मात्रामा ट्यावलेट बरामद हुने गरेको प्रहरी प्रमुख कर्णले जानकारी दिनुभयो ।
लागु औषधका असर
लागु औषध सेवनले शारिरिक, मानसिक, परिवारिक तथा सामाजिक असर परिरहेको हुन्छ। यसको सेवनले एच.आइ.भी. एड्स, हेपाटाईटिस तथा यौनजन्य रोगहरु संक्रमण हुने, तौल घट्ने, खानामा रुचि नहुने, ओभरडोज भएमा मृत्यु समेत हुन सक्ने स्वास्थ्यकर्मी कुवेर आङदेम्बेले बताउनुभयो। यस्तै एकोहोरोपन, डिप्रेशन, स्मरण शक्ति कम हुने, नकरात्मक सच्ने, पारिवारिक असमझदारी बढ्ने, चोरी हुने, दैनिक झगडा गर्ने, अनैतिक कार्यमा संलग्न हुने जस्ता असर लागु औषध सेवन गर्नेमा देखिन्छ। केही अपराधिक घटनमा लागु औषध प्रयोगकर्ता संलग्न रहेको भेटिन्छ।
दुर्व्यसन नियन्त्रण समाधानका उपाय
अधिकांश प्रयोगकर्ता साथी संगतको कारणले कुलतमा फसेका छन्। दुर्व्यसनमा लागेकाहरुलाई साथि संगत र खराव वातावरणको नियन्त्रण गर्नुपर्ने हुन्छ। घर र विद्यालयको वातावरणले गर्दा दुव्र्यसनमा फस्ने हुँदा बेलैमा यसको निगरानी गरे नियन्त्रण गर्न सकिने देखिन्छ। दुर्व्यसनीलाई घरपरिवार र समाजले घृणाको दृष्टिले नहेरी अरु के कारणले दुर्व्यसनमा संलग्न हुन पुगेका हुन पत्ता लगाई समाधान गर्ने तर्फ ध्यान दिनुपर्छ।
बालबालिकालाई लागु पदार्थबाट हुने असरको बारेमा सचेत गराई त्यस्ता पदार्थबाट टाढै रहन प्रेरित गर्नुपर्छ। सञ्चार माध्यमबाट लागु पदार्थ विरुद्ध जनचेतना जगाउनुपर्छ । नितिगत रुपमा हेर्दा सरकारले लागु पदार्थ दुव्र्यसन सम्बन्धी राष्ट्रिय स्तरबाटै जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने हो भने पनी लागु पदार्थ दुव्र्यसनलाई कम गर्दै लैजान सकिनछ । जनचेतनामुलक कार्यक्रम गरी नियन्त्रण सम्बन्ध अभियान चलाउने, ध्यान योग , पारिवारिक परामर्श, उपचार तथा पुनस्र्थापना गर्ने, खेलकुदका कार्यक्रम गर्ने तथा सरकारले कानुनी तवरले पनी यसलाई प्राथमिकताका साथ अगाडी बढाई कार्यान्वयन गर्न सकेमा लागु पदार्थ दुर्व्यसनलाई रोक्न सकिने विज्ञ बताउँछन्।
लागु पदार्थको कुलतमा फसेमा तुरुन्तै सुधार्न सकिएन भने भविश्यमा गम्भिर समस्या निम्त्याउन सक्छ। दुर्व्यसनमा फसेका व्यक्तिहरुलाई पुनःस्थापना गर्न नेपालभर २ सय ४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन्। ती केन्द्रहरुमा विभिन्न वैज्ञानिक विधिहरुको प्रयोग र उपयुक्त औषधी प्रयोग गरी उपचार गरिन्छ। आफ्नो घरमा भाडामा बस्नेहरुको पनी घरधनीले निगरानी गर्नु पर्ने, लागु औषध उत्पादनमै रोक लगाउनु पर्ने, समाजिक सञ्जालको दुरुपयोग नगर्ने जस्ता कार्यले पनी लागु औषध दुर्व्यसनीमा कमी आउने प्रध्यापक डा.मधुराज केरुङको भनाई छ । इमान्दार, खुल्ला सोच इच्छाशक्ति भए कुलत छोड्न सकिने दुर्व्यसनीबाट सामान्य अवस्थामा फर्किएका गुञ्जन लामा बताउँछन्। उनि भन्छन्,“ लागु औषध सेवनकर्ता अपराधी हैनन बिरामी हुन्, सजाय हैन उपचार गरौँ ।”

कानुनी प्रावधान के छ ?
लागु औषध नियन्त्रण ऐन २०३३ ले अपराधको मात्रा अनुसार विभिन्न दण्ड सजायको व्यवस्था गरेको छ। ऐनले लागु औषधको प्रकृती, परिमाण,सञ्चय, खरिद विक्री, ओसार पसारको उद्देश्य लगायतको आधारमा सजाय निर्धारण गरेको छ। अफिम, कोका वा सो बाट बनेका लागु औषधको पच्चिस देखी एक सय ग्राम सम्मको कारोबार गर्नेलाई पाँच वर्ष देखि जन्म कैद र पाँच हजार रुपैँया देखी पच्चिस लाख रुपैँया सम्म जरिवाना निर्धारण गरेको छ। पाँचथरमा दश ग्राम सम्मको कारोबार गरेको पाइएको छ। त्यती कारोबार गर्नेलाई पाँच वर्ष देखी दश वर्ष सम्म कैद र पाँच हजार रुपैँया देखी पच्चिस हजार रुपैँया सम्म जरिवानाको व्यवस्था भएको जिल्ला अदालत पाँचथरका सुचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिनुभयो।
यस्तै गाँजा उत्पादन गर्ने, तयार गर्ने र खरिद बिक्रि गर्नेलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैँया सम्म जरिवाना देखी दश वर्ष सम्म कैद वा एक लाख रुपैँया सम्म जरिवानको निर्धारण ऐनले गरेको छ। गाँजा खेती गर्नेलाई पनि तीन महिना देखी तीन वर्ष सम्म कैद वा तीन हजार देखी पच्चिस हजार रुपैँया सम्मको जरिवाना निर्धारण भएको छ।
निश्कर्ष
नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ । यस अघि २०६९ मा गरिएका सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता थिए। जसमध्ये कोशी प्रदेशमा२७ हजार १३ जना पुरुष र ५ सय ९२ जना महिला गरी जम्मा २७ हजार ६ सय ५ थिए । २०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहको छ । यो वृद्धिदर अनुसार २०८२ सम्ममा १ लाख ७५ हजार सम्म प्रयोगकर्ता भएको अनुमान गर्न सकिन्छ। आर्थिक वर्ष २०७७-७८ देखी २०८१-८२ सम्म २० हजार ४ सय ३१ वटा लागु औषधका मुद्धा दर्ता हुँदा ३१ हजार २ सय २ मानिस पक्राउ परेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको प्रतिवेदनमा उल्लेख छ।
पाँचथर सहित देशभर लागु औषधका मुद्धा र मानिस पक्राउको प्रतिवेदन हेर्दा लागु औषधको समस्या बढ्दै गएको देखिन्छ। पुनर्स्थापना केन्द्रमा उपचार गराइरहेका युवाको उपस्थिति, प्रहरीले अभिभावकको जिम्मा लगाउने घटनाहरु तथा स्थानिय स्तरमा बढ्दो चिन्ताले लागु औषध प्रयोग अझै गम्भिर सामाजिक चुनौती रहेको देखाउँछ। यो समस्या नियन्त्रणका लागि प्रहरीको कारबाही मात्र पर्‍याप्त छैन । परिवार, विद्यालय, स्थानीय सरकार, स्वास्थ्य सँस्था, समुदाय र युवाहरुको संयुक्त प्रयास आवश्यक छ। समयमै सचेतना, प्रभावकारी रोकथाम, उपचार तथा पुनर्स्थापनामा जोड दिन सके मात्र लागु औषध दुर्व्यसनको चक्र तोड्न र युवापुस्तालाई सुरक्षित भविश्यतर्फ डो¥याउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win