फिदिम । ०७९ सालको आम निर्वाचनमा कुनै दलले सरकार गठनका लागि बहुमत नपाएपछि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनु पर्छ भन्दै आएका काँग्रेस नेता डा. शेखर कोइराला आफ्नै चाहनाअनुसारको सरकार बनेपछि पनि सन्तुष्ट छैनन् । कोशी प्रदेशमा एमालेको साथ लिएर आफू पक्षधर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइराला त्यसैको जगमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै आलोचना गर्दै आएका छन ।
तर कोइरालाले आफू काँग्रेस–एमाले सहकार्यको विपक्षी नभएको बताएका छन । आइतवार साँझ फिदिममा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले आफूले नै एमाले अध्यक्ष (हालका प्रधानमन्त्री) केपी शर्मा ओलीलाई भेटर सहकार्यको प्रस्ताव गरेको वताए । “वर्तमान सरकारको विकल्पको कल्पना पनि गर्न सकिँदैन । तर यो सरकारलाई ठीक कसरी हिँडाउने भन्ने मात्रै हाम्रो उद्देश्य हो” डा. कोइरालाले भने, “मैले नै बालकोटमा गएर केपी ओलीलाई भेटेर सहकार्यको प्रस्ताव राखेको हुँ ।” काँग्रेसले सरकारको नेतृत्व गर्ने हिसाबले आफूले एमालेसँगको सहकार्यको प्रस्ताव अघि बढाएपनि अहिले त्यसो हुन नसक्दा धेरै समस्या आएको दाबी शेखरको छ ।
सरकारको स्थायित्वका लागि काँग्रेस–एमालेवीच सहकार्य हुनुपर्नेमा आफूले जोड दिएको कोइरालाको दाबी छ । नेपाल प्रेस युनियन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले भने, “काँग्रेसको भोलिको प्रतिस्पर्धी पनि एमाले हो । त्यसैले सरकारका सही कुरालाई सही र गलत कुरालाई गलत भन्दै जानुपर्छ। हाम्रै नेतृत्वका मन्त्रालयमा गलत भएको भए पनि खवरदारी गर्नुपर्छ । सरकारमा रहेका मन्त्रीहरु र पार्टी नेतृत्वले एमालेसँग सहकार्य गर्ने हो । हामी सरकारमा नरहेका नेताहरुले खवरदारी गर्नुपर्छ ।” कोइरालाले काँग्रेस सरकारमा रहेपनि सत्तामा भने एमाले मात्रै रहेको टिप्पणी गरे ।
पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको विकासमार्फत मुलुकको समृद्धिका लागि धेरै काम गर्न सकिने भएपनि सरकार र दलहरु अलमलिएको कोइरालाको भनाइ छ । “मुलुकमा दण्डहिनता र भ्रष्टाचार मौलाएको छ । यो अन्यौललाई चाँडै हटाउने विश्वास जनतालाई दिलाउनु पर्ने आवश्यकता छ”, डा. कोइरालाले भने।
गणतन्त्रको विरुद्धमा भइरहेको आन्दोलनको औचित्य नरहेको र यसले कुनै परिणाम दिन नसक्ने तर सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने कोइरालाको भनाइ छ। मुलुकमा रोजगारीको अभाव, भ्रष्टाचार, दण्डहिनता र सुशासनको अभावका कारण युवा पुस्तामा नैरास्यता बढेको नेता कोइरालाले दाबी गरे।
अध्यागमन विभागका विषयमा उठेका प्रश्नमा गृहमन्त्री रमेश लेखकले नौतिकता देखाएर राजीनामा दिई अनुसन्धानलाई सघाउनु उपयुक्त हुने डा. कोइरालाको सुझाव छ । उक्त विषयमा नेताहरुले आफ्नो धारणा राखेपनि काँग्रेसले भोलि बस्ने बैठकले ठोस् निर्णय लिने उनले वताए । “हामी नैतिकताको धरातलमा अडिएर राजनीति गर्दै आएका छौं”, कोइरालाले भने, “मन्त्रीले नैतिक आचरण देखाउनु प¥यो भन्ने मात्रै हो।” भोलि फालेलुङमा आयोजित काँग्रेसको सभामा सहभागी हुन कोइराला पाँचथर आएका हुन । कोइरालाका साथमा काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि छन ।








