+
+

वर्षेनि १५० मुरीभन्दा बढी धान फलाउँदै मकरबहादुर

68 पटक हेरिएको
Clock २०८२ पुष २३, बुधबार २१:१०
-- Sponsored --

AI सारांश

Fast AI

१. फाल्गुनन्द गाउँपालिका वडा नं. १ का मकरबहादुर तामाङले यस वर्ष १५८ मुरी पाँच पाथी धान फलाउनु भएको छ।
२. मकरबहादुरले गत वर्ष १७४ मुरी र २०८० सालमा १६८ मुरी धान उत्पादन गरेको फाल्गुनन्द गाउँपालिकाको तथ्याङ्क छ।
३. फाल्गुनन्द गाउँपालिकाले एकै परिवारले ५० मुरीभन्दा बढी धान फलाएमा रु. ३० हजार र १०० मुरीभन्दा बढी धान फलाएमा रु. ५० हजार प्रोत्साहन पुरस्कार दिने ब्यवस्था गरेको छ।

पाँचथर । फाल्गुनन्द गाउँपालिका वडा नं. १ का मकरबहादुर तामाङले वर्षेनि १५० मुरीभन्दा बढी धान फलाउँदै आउनु भएको छ। अर्काको खेत बन्दकी लिएर खेती गर्दै आउनुभएका मकरबहादुरले तीन वर्षदेखि वर्षेनि १५० मुरीभन्दा बढी धान फलाउनु भएको हो।
यस वर्ष मकरबहादुरले १५८ मुरी पाँच पाथी धान फलाउनु भएको छ । पहाडी क्षेत्रमा ठूलो क्षेत्रफलमा खेती लगाउन कठीन पर्ने भएपनि मकरबहादुरले गत वर्ष १७४ मुरी र २०८० सालमा १६८ मुरी धान उत्पादन गरेको फाल्गुनन्द गाउँपालिकाको तथ्याङ्क छ। फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई प्रोत्साहन पुरस्कार दिने ब्यवस्था गरेपछि मात्रै मकरबहादुरले फलाएको धानको तथ्याङ्क राख्न थाल्नुभएको हो । सोभन्दा अघि वर्षेनि १०० मुरीभन्दा बढी धान फलाउने भएपनि खलाबाटै धान विक्री गर्ने हुँदा यकिन तथ्याङ्क नराख्ने गरेको उहाँको भनाइ छ।
वर्षेनि १५० मुरीभन्दा बढी धान फलाउन कठीन परिश्रम र धेरै लगानी लाग्ने भएपनि मकरबहादुर झण्डै तीन दशकअघि अन्नविहीन हुनुपरेको सम्झेर निरन्तर धान उत्पादन गरिरहनु भएको छ। वि.सं. २०५५ सालमा मंसिरमा जम्मा दुई पाथी धान फलाएपछि मकरबहादुरले विदेश जाने सपना देख्नुभयो। पाखोबारी मात्रै भएका मकरबहादुरले धान फलाउने खेत अधियाँ र कुतमा पाउनु भएन। बन्दकी लगाउने पैसा उहाँसँग थिएन। परिवार चलाउनै कठीन भएपछि ०५६ सालमा साउदी अरेबिया पुगेका मकरबहादुरले चार वर्ष सडकमा काम गरेर स्वदेश फर्कने अठोट गर्नुभएको थियो। आफ्नो गाउँ नवमीडाँडा मुनिको निबु खोलामा खेती गरेर परिवार पाल्ने तर मरुभूमिको सडकमा काम नगर्ने उहाँको अठोट थियो।
“निबु खोलाको पानी बोकेर धान रोपेर खाने भनेर नेपाल फर्किएको थिएँ। निबु खोलाको दायाँबायाँ प्रशस्तै खेत त थिए। तर गाउँमा मानिसहरु प्रशस्तै थिए। बसाईंसराईं थिएन”, मकरबहादुरले विगत सम्झदै भन्नुभयो, “कमाइ लगाउने खेत पाउन गाह्रो भयो। तर आङसराङपट्टिका जग्गाधनीले खेत दिए ।” गाउँ आएपछि अधियाँ, कुत, ठेक्का, बन्दकी जुन सर्तमा मिलेपनि परम्परागत खेतीमा जोडिनुभएका मकरबहादुरलाई त्यस पछि कहिल्यै अन्नको अभाव भएको छैन। 
फाल्गुनन्द गाउँपालिकाका प्राविधिक र कर्मचारीहरुले सोमवार गाउँपालिकाको वडा नं. ७ सिस्ने खेतमा मकरबहादुरले फलाएको धान भर्ने अन्तिम स्थान थियो। वडा नं. १ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित प्राविधिकहरुले करमबोटे, टारी लगायत खेतमा फलाएको धानको नापजाँच लिएपछि यस वर्ष मकरबहादुरले १५८ मुरी धान फलाएको प्रमाणित भयो। 
गाउँपालिकाबाट दुई पटक प्रोत्साहन पुरस्कार जितिसक्नु भएका मकरबहादुरको यस वर्ष २०० मुरीभन्दा बढी धान फलाउने लक्ष्य थियो। तर निबु खोलामा आएको बाढीले सिस्ने र करमबोटे खेतमा लगाएको धान बगायो। छ हल गोरु लाग्ने खेत बगाउँदा ५० मुरीभन्दा बढी धान क्षति भएको मकरबहादुरको भनाइ छ। तीन जना छोरा र तीन जना छोरी भएपनि गाउँमा नबसेकाले खेती मकरबहादुर दम्पत्तिले नै उकास्ने गर्नुभएको छ। 
फाल्गुनन्द गाउँपालिकाले एकै परिवारले ५० मुरीभन्दा बढी धान फलाएमा रु. ३० हजार र १०० मुरीभन्दा बढी धान फलाएमा रु. ५० हजार प्रोत्साहन पुरस्कार दिने ब्यवस्था गरेअनुसार मकरबहादुर दम्पत्तिले अर्मपर्म र खेताला लगाएर खेती उकास्ने गर्नुभएको छ। तर घरमा काम गर्ने मानिस नहुँदा उत्पादनमा धेरै खर्च हुने गरेको मकरबहादुरको भनाइ छ । “दैनिक रु. ८०० का दरले ज्याला दिनुपर्छ। एक/दुई जना लगाएर हुँदैन। एकै पटक धेरै खेताला लगाउनु पर्छ । अहिले मानिस पाउन पनि धेरै समस्या छ”, उहाँले भन्नुभयो, “यस वर्ष खेती लगाउन र उठाउन दुई लाख ८० हजार खर्च भयो।”
मकरबहादुरले निबुखोलाले सिंचित हुने पाँच स्थानमा खेती लगाउनु भएको छ। यी स्थानमा यस वर्ष रोपाईंका दिन १८ हल गोरु लागेका थिए । यस वर्ष कात्तिक २४ गते धान काट्न थालेकामा मंसिर २३ गते काटेर सकिएको मकरबहादुर सुनाउनु हुन्छ। तर अहिले प्रायः खेतमा मकरबहादुरले बन्दकी लगाएका कारण उत्पादित धान, दाल, मकै लगायत खाद्यान्न विक्रीबाट मनग्य आम्दानी हुने गरेको छ। 
गाउँपालिकाले कृषि आधुनिकीकरणमा सहयोग गरेपनि यहाँ यन्त्र उपकरणको प्रयोग कठीन भएको मकरबहादुरको भनाइ छ। “स–साना गरा भएको खेतमा हाटे ट्रयाक्टर पनि प्रयोग गर्न नमिल्ने रहेछ। हामी किसानलाई अरु त के नै सहयोग मिल्छ होला र ?”, उहाँले भन्नुभयो। 
फाल्गुनन्द गाउँपालिकाको कृषि शाखाका प्रमुख सुगम घिमिरेका अनुसार किसान प्रोत्साहन पुरस्कारका लागि चालु आ.व.मा गाउँपालिकाका सात वटा वडामध्ये छ वटा वडाबाट ६० वटा निवेदन दर्ता भएका थिए । जसमध्ये ५८ जनाले निवेदनबमोजिम धान फलाउन सफल भएका छन । बाँकी दुई जना कृषकहरुको खेत बाढीले बगाएको पाइएको घिमिरेले वताउनुभयो। ५५ जना कृषकहरुले ५० मुरीभन्दा बढी र तीन जना कृषकहरुले १०० मुरीभन्दा बढी धान फलाएका छन। जसमध्ये दीप्सन चेम्जोङले २२९ मुरी धान फलाउनु भएको छ भने मकरबहादुरले १५८ मुरी र दिलबहादुर चेम्जोङले १३२ मुरी धान फलाएको घिमिरेले जानकारी दिनुभयो। 
बाढी पहिरोले धान खेती, सिंचाइ पूर्वाधारमा क्षति पु¥याएपनि पुरस्कारका लागि निवदेन दिने कृषकको सङ्ख्या र धान उत्पादनमा वृद्धि भएको घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष ४३ जना कृषकहरुले पुरस्कारको दाबी गर्दै निवेदन दिएकामा यस वर्ष ६० जनाले निवेदन दिएका थिए। १५८ मुरी धान फलाउनु भएका मकरबहादुरको करीव ५० मुरी धान फल्ने खेती बाढीले बगाएको पाइएको पनि घिमिरेले वताउनुभयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win