+
+

पहिरोको त्रासमा रात कटाउँदै पाँचथरका चार गाउँका बासिन्दा

73 पटक हेरिएको
Clock २०८३ आश्विन १३, मंगलवार ०७:५७
-- Sponsored --
रवीन्द्र काफ्ले 
पाँचथर, १३ असोजः

वर्षा हुनासाथ पाँचथरको याङवरक गाउँपालिका–१ का चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन। बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि यी टोलका दर्जनौं परिवारको बेचैनी बर्षासँगै सुरुआत हुने गर्छ।

निरन्तर वर्षापछि गत जेठ ८ गते विहान यी गाउँमा सयौं स्थानमा पहिरो झर्नुका साथै सबैजसो खोलाखोल्सीमा बाढी आएको थियो। बाढीपहिरोले सिङ्गो गाउँ नै क्षतविक्षत भएपनि अन्यत्र जाने ठाउँ नहुँदा यहाँका वासिन्दा ज्यानको बाजी राखेर जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका छन। पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन। 

बिरुवा टोलमा बसोबास गर्ने साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा चारैतिर धाँजा फाटेको छ। उहाँको घर लच्किएको छ भने ढुङ्गा माटोको गारो लगाइएको भुइँ तला भत्किएको छ। बिरुवा टोलको पुछार मेवा खोलामा भीषण पहिरो झर्न थालेको छ। वि.सं. २०८० सालदेखि यहाँ क्रमशः पहिरो बढिरहँदा बिरुवा टोल नै उच्च जोखिममा परेको गुरुङको भनाइ छ।

“पानी पर्दा सबै घरका मानिस डाँडामा गएर सुत्छौं। तर लच्किएको भागजति पहिरोले तान्यो भने भागेको ठाउँ पनि सुरक्षित हुँदैन”, गुरुङले भन्नुभयो, “हामी पहिरोभित्र बसेका छौं। सबैतिर धाँजा फाटेको छ । विगतमा खेतीपाती गरिएको ठाउँ हो । तर अहिले एकैछिन पनि बस्न नसकिने अवस्था छ। पानी पर्दा भागिहाल्नु पर्ने अवस्था छ।”

पहिरोले जोखिममा पारेको मात्रै होइन, स्थानीयवासीसँग अव त घर बनाउने उपयुक्त जग्गा जमिन पनि छैन। “धाँजा फाटेभन्दा माथि भाइको जग्गा छ, त्यहाँ घर बनाऔं भनेपनि यहाँ आएको पहिरोले माथि तानिहाल्छ। हामीलाई त निकै गाह्रो भयो”, गुरुङले भन्नुभयो। 

चाम्लिङडाँडाका रविन राई र रामकुमार राईको पीडा पनि गुरुङको जस्तै छ। ठाडे खोलामा आएको बाढी र मेवा खोलाबाट बढ्दै गएको पहिरोले रविन राईसहित आधा दर्जन घर उच्च जोखिममा परेका छन। “हिउँदमा त ठिकै छ। वर्खा लागेपछि त भाग्नै पर्छ । पानी परेपछि डाँडातिर भाग्नुपर्ने अवस्था छ । रातको समयमा पानी प¥यो भने त भाग्न पनि नपाइएला भन्ने पिर छ”, राईले भन्नुभयो, “हिउँद लाग्न थालेपनि बेमौसमी वर्षाका कारण कहिले पानी पर्छ भन्ने टुङ्गो नहुँदा असोज–कात्तिक महिनामा पनि निर्धक्क भएर बस्ने अवस्था छैन ।”

२०८० सालका च्याङथापूका अधिकांश टोलमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएपछि पुनः विपद नआउला भन्ने आशामा धेरै स्थानीयवासी बसेका थिए । तर विगतभन्दा ठूलो विपद आएपछि तनाब थपिएको यहाँका इन्द्रबहादुर राईको भनाइ छ।

च्याङथापूकै कोप्चेका भगिश्वर बेघाको गाई गोठ र शौचालय पहिरोले बगायो । ठूलो ढुङ्गा झरेर तीन तले घरको मूल संरचना हल्लाएको छ भने बरण्डाको भाग भाँचिएको छ । एक महिना लगाएर घरमा झरेको पहिरो पन्छाएका भगिश्वर अझै पनि भल काट्दै घर जोगाउँदै हुनुहुन्छ । तर ठूलो पानी पर्नासाथ भाग्नुको विकल्प उहाँको परिवारसँग छैन । “मेरो घर बनाउने अर्को ठाउँ पनि छैन। गरीव दुःखी हौँ, घास दाउरा गर्छौं । राम्रो ठाउँजति भत्काएर लगिहाल्यो”, उहाँले भन्नुभयो, “घरैसम्म पहिरो छ । कसरी जीवन कटाउनु खोइ ?”

समथर परेको ठाउँ नहुँदा बेघा परिवारले शौचालय बनाउन पनि पाएका छैनन् । “पहिरोले क्षति गरेपछि हामी अन्धाधुन्द भयौं । अर्कैको घरको शौचालय जानु परेको छ”, बेघाकी श्रीमती तिजमाया बेघाले भन्नुभयो, “शौचालय बनाउने सजिलो ठाउँ पनि छैन, पैसा पनि छैन ।” कोप्चेका धनकुमार बेघा पहिरोका कारण यहाँका वासिन्दाले जोखिमपूर्ण जीवन विताउँदै आएको, सडक, विद्युत र खानेपानीबाट बञ्चित हुनुपरेको गुनासो गर्नुहुन्छ । 

यहाँको सिस्नेका यामबहादुर मगरको घरसम्म भीमकाय पहिरो आइपुग्न लागेको छ । मगरको घर छेउको सिस्ने पहिरोले उहाँ सहित पदमसिंह, सुजन र चन्द्रबहादुर मगर बसाईं हिँड्ने अवस्थामा पुग्नुभएको छ । “यहाँ रातको समयमा सुताई हुँदैन । अलि सुरक्षित ठाउँमा जान्छौं । तर पानी प¥यो भने त जहाँ पुगेपनि उस्तै जोखिम हुन्छ । हामी सुत्न सक्दैनौं”, उहाँले भन्नुभयो।

ठिङ्गेपुरका बलबहादुर नेपालीका अनुसार भीषण बाढी र पहिरोका भाङटारका चार र सिस्नेका चार घर पूर्ण रुपमा प्रभावित भइ भविश्यमा बस्न नसक्ने अवस्था आएको छ । दिउँसो घर आएर बसेपनि राती सुत्न सक्ने अवस्था नरहेको नेपालीको भनाइ छ। 

“सिस्ने, भाङटार, विरुवा र कोप्चे टोलमा असाध्यै ठूलो क्षति भएको छ । यहाँका जेष्ठ नागरिकहरुले पनि विगतमा यस्तो क्षति भएको थिएन भन्नुहुन्छ”, नेपालीले भन्नुभयो, “गाउँपालिका र वडाले अनुगमन गरेर सामान्य राहत पनि उपलब्ध गराएका छन। तर धेरै संरचनामा क्षति पुगेका कारण स्थानीयवासीको जीवन कष्टकर बनेको छ ।” पहिरोका कारण खानेपानी र सिंचाइका योजनाहरु क्षतविक्षत भएका छन । अहिले सिस्ने र कोप्चेको आवतजावत नै बन्द भएको नेपालीको भनाइ छ।

याङवरक–१ का वडा सदस्य नरबहादुर गुरुङका अनुसार चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेमा बाढी पहिरोले दर्जनौं घर परिवारलाई जोखिममा पारेको छ। वस्ती नै जोखिममा परेका कारण अन्यत्रै जाने अवस्था पनि नहुँदा वर्षा हुनासाथ स्थानीय वासिन्दा जागै बस्नुपर्ने अवस्था रहेको गुरुङको भनाइ छ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win