0 प्रतिक्रिया
पाँचथरमा सालक संरक्षण सम्बन्धी सचेतना कार्यशाला सम्पन्न
पाँचथर । सालक संरक्षण तथा जैविक विविधताको महत्वबारे विद्यार्थीमा ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा सालक संरक्षणसम्बन्धी सचेतना कार्यशाला सम्पन्न भएको छ।
Vertical Biodiversity Fund (VBF) को आयोजनामा, KTK-BELT को आर्थिक सहयोग तथा श्री पृथ्वी माध्यमिक विद्यालयको समन्वयमा आयोजित कार्यशालामा कक्षा ११ र १२ का ८२ विद्यार्थी सहभागी भएका थिए। कार्यशाला गंगा लिम्बूको नेतृत्वमा निशान बिष्ट, सुजन लावती, सागर भट्टराई र रुपेश मगरसहितको टोलीले सञ्चालन तथा प्रस्तुतीकरण गरेका थिए।
कार्यशालामा विद्यार्थीलाई सालकको पहिचान, शारीरिक विशेषता, आहार, व्यवहार, बासस्थान तथा पारिस्थितिक प्रणालीमा यसको भूमिकाबारे जानकारी गराइएको थियो। सालकले मुख्यतः कमिला र धमिरा खाने भएकाले वन तथा पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यसको महत्वपूर्ण भूमिका रहने विषयमा समेत छलफल गरिएको थियो।
त्यस्तै, सालकको संरक्षण अवस्था, चोरी–शिकार तथा अवैध व्यापारका जोखिम, बासस्थान विनाश र संरक्षणका चुनौतीबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो। सालक संरक्षणप्रति संवेदनशीलता विकास गराउने उद्देश्यले विभिन्न सिर्जनात्मक तथा सहभागितामूलक गतिविधिसमेत सञ्चालन गरिएको थियो।
विद्यार्थीले समूहगत रूपमा सालक संरक्षणसम्बन्धी सन्देश समेटिएका सामग्री तयार गरी प्रस्तुतीकरण गरेका थिए। उनीहरूले कार्यशालाबाट प्राप्त ज्ञानलाई साथीभाइ, परिवार तथा समुदायमा समेत प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यशालामा स्थानीय समुदाय, विद्यालय र युवाको सालक संरक्षणमा भूमिकाबारे समेत छलफल गरिएको थियो। स्थानीय क्षेत्रमा सालक भेटिएमा हानि नपुर्याउने, चोरी–शिकार तथा अवैध व्यापारसम्बन्धी गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउने र यसको प्राकृतिक बासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा ‘सालक पारिस्थितिक प्रणालीको इन्जिनियर र किसानको साथी’ भन्ने संरक्षण सन्देशमार्फत सालकको पारिस्थितिक तथा कृषि प्रणालीमा रहेको महत्वबारे जानकारी गराइएको थियो। सालकले कमिला तथा धमिराको संख्या नियन्त्रणमा सहयोग पुर्याउने भएकाले यसको संरक्षणलाई वातावरणीय सन्तुलन र कृषि प्रणालीसँग जोडेर बुझाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले सालक संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। उहाँले सालक संरक्षणका लागि विद्यार्थी, विद्यालय, स्थानीय समुदाय तथा स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा समेत संरक्षणसम्बन्धी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यशालामा सहभागी विद्यार्थीले सालकको जीवनशैली, संरक्षण अवस्था र पारिस्थितिक महत्वबारे नयाँ जानकारी प्राप्त गरेको बताएका थिए। विद्यालय तहबाटै वन्यजन्तु तथा जैविक विविधता संरक्षणसम्बन्धी ज्ञान र संरक्षणमुखी व्यवहार विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






