+
+

‘लिम्बुवान गेट’ पुनः निर्माणको तयारी

Clock २०८२ मंसिर १, सोमबार १०:३०
-- Sponsored --

पाँचथर, १ मङ्सिरः
पाँचथरको फिदिममा ‘लिम्बुवान गेट’ पुनःनिर्माणको तयारी थालिएको छ । लिम्बुवान गेट (प्रवेशद्वार) निर्माणका लागि सहजीकरण गर्न समिति गठन गरी तयारी थालिएको हो। 
फिदिम नगरपालिकामा आइतवार बसेको सर्वपक्षीय बैठकले प्रवेशद्वार रहने स्थान, नाम, आकार, रङ्ग, प्रवेशद्वारमा राखिने आकृति तथा समावेश गर्नुपर्ने विषयहरुको सिफारिस गर्न सहजीकरण समिति गठन गरेको हो । नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको अध्यक्षतामा गठित समितिमा जनप्रतिनिधिहरु, सरोकारवालाहरु तथा स्थानीयवासीहरु १२ जना सदस्य रहनुभएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। समितिले १५ दिन भित्र प्रवेशद्वार निर्माणमा सहजीकरण हुने गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।
फिदिम नगरपालिकाले चालु आ.व. २०८२-०८३ मा प्रवेशद्वार निर्माणका लागि रु. ६० लाख बजेट विनियोजन गरेको छ। गत वर्ष समेत सोही कार्यका लागि रु. ५० लाख बजेट विनियोजन गरिएकामा प्रवेशद्वार रहने स्थान लगायत विषय यकिन नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो।
आज फिदिम नगरपालिकामा आयोजित सर्वपक्षीय बैठकमा राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुको सहभागिता थियो। सहभागीहरुले उपयुक्त स्थान छनौट गरी तत्कालै प्रवेशद्वार निर्माणको सुरुआत गर्न आग्रह गरेका थिए। अधिकांश सरोकारवालाहरुले प्रवेशद्वारलाई ‘लिम्बुवान गेट’ कै रुपमा निर्माण गर्न पनि जोड दिएका छन। 
लिम्बुवान गेटसँग जोडिएको पहिचानको सवाल
पञ्चायती ब्यवस्था लागू भएको २५ औं वर्षगाँठको अवसरमा वि.सं. २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरबिक्रम शाहको स्वागतका लागि फिदिममा प्रवेशद्वार निर्माण गरिएको थियो। तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको अस्थायी प्रवेशद्वारलाई पछि पक्की बनाइ श्रीपेचको प्रतिमा राखिएको थियो। सो समय फिदिम बजारको सुरु विन्दूमा प्रवेशद्वार निर्माण गरिएपनि बजार विस्तारसँगै प्रवेशद्वार वीच बजारमा रहन गएको थियो। 
दोश्रो जनआन्दोलनपछि लोकतन्त्र पक्षधरले प्रवेशद्वारबाट श्रीपेचको प्रतिमा निकालेर फालेका थिए। यसैबेला पूर्वी नेपालमा नौ जिल्लामा लिम्बुवान स्वयत्तताको आन्दोलन सुरु भयो। उक्त आन्दोलनको केन्द्रका रुपमा रहेको पाँचथरमा उक्त प्रवेशद्वारमा लिम्बुवान पक्षधरले रङरोकन गरी ‘लिम्बुवान गेट’ नामाकरण गरेका थिए। उक्त प्रवेशद्वारमा लिम्बू समुदायको साँस्कृतिक प्रतिक सिलामसाक्मा, ढोल (च्याब्रुङ), प्रस्तावित लिम्बुवान क्षेत्रको नक्सा राखिएको थियो। 
उक्त प्रवेशद्वार लिम्बुवान गेटका रुपमा प्रचार हुनुका साथै लिम्बुवान पक्षधरका लागि पहिचानको संवेदनशील विषयका रुपमा विकसित भएको अध्येता लक्ष्मण लावतीको बुझाइ छ। “अब उक्त प्रवेशद्वारलाई लिम्बुवान गेटकै रुपमा पुनःनिर्माण गर्नुको विकल्प छैन”, लावतीले भन्नुभयो, “यसले नवआगन्तुक पर्यटकलाई समेत आकर्षित गर्छ।” 
साविक स्थानमा पुनःनिर्माण गर्न जग्गा अभाव
संघीय सरकारको सहयोगमा फिदिम बजार क्षेत्रको १.७ किलोमिटर सडक चौडा गर्ने क्रममा २०८० बैशाख २८ गते लिम्बुवान गेट भत्काइएको थियो। १७ मिटर चौडा सडक निर्माण सम्पन्न भएपछि प्रवेशद्वार पुनःनिर्माणका लागि प्रयास थालिएपनि उपयुक्त स्थान यकिन हुन नसकेको नगर प्रमुख काफ्लेले वताउनुभयो। विकल्पका रुपमा साविककै स्थान, फिदिमको शनिवारे र फिदिम खेलमैदानअघि प्रवेशद्वार निर्माण गर्ने प्रस्ताव आएपनि सरोकारवाला एकमत हुन नसक्दा निर्माण कार्य अघि बढ्न नसकेको उहाँको भनाइ छ।
प्रवेशद्वार पुनःनिर्माणका लागि लिम्बुवान पक्षधर लेखक/अभियन्ता मधुराज केरुङको संयोजकत्वमा सरोकारवाला र जनप्रतिनिधिहरु रहेको समिति गठन भएको थियो। उक्त समितिले उपयुक्त स्थान खोजी गरेपनि यकिन हुन नसकेको उक्त समितिका सदस्य अध्येता लक्ष्मण लावतीको भनाइ छ। “साविककै स्थानमा प्रवेशद्वार निर्माण गर्न धेरैले जोड दिएपछि त्यहाँ जग्गाको प्रवन्ध गर्ने प्रयास ग¥यौं । तर एकापट्टिका जग्गाधनीले प्रवेशद्वारका लागि जग्गा नदिने र विक्री पनि नगर्ने भनेपछि हामी रोकियौं”, लावतीले भन्नुभयो। 
सबै सरोकारवालाले चाँडोभन्दा चाँडो प्रवेशद्वार निर्माण गर्न खवरदारी गरेअनुसार नै फिदिम नगरपालिकाले बजेट तय गरेको वताउँदै नगर प्रमुख काफ्लेले स्थान र ढाँचा यकिन हुनासाथ काम थाल्ने वताउनुभयो । सरोकारवालाहरुले अन्य निकायसँग समेत बजेट माग गरेर छिटो प्रवेशद्वार निर्माण सम्पन्न गर्न सुझाव दिएका छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस