0 प्रतिक्रिया
लोकतन्त्र र संविधानको रक्षाका लागि निर्णायक संघर्षमा उत्रिन एमाले पाँचथरको आह्वान
AI सारांश
Fast AIनेकपा (एमाले) पाँचथरद्वारा जारी विज्ञप्तिको सारांश निम्न ३ वटा बुँदामा छ:
१. नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको अवसरमा पार्टीले प्रेस मिट आयोजना गरी प्रेस विज्ञप्ति जारी गरेको छ।
२. महाधिवेशन लोकतान्त्रिक प्रणाली र प्रक्रियाको उत्कृष्ट नमुनाका रूपमा सम्पन्न भएको उल्लेख गर्दै पार्टी पंक्तिमा नयाँ उत्साह, जिम्मेवारीबोध र लोकतन्त्रको रक्षा गर्ने दृढ संकल्प थपिएको जनाइएको छ।
३. एमाले पाँचथरले वर्तमान सरकारले जेनजी आन्दोलनपछिको अवस्थाले देश अन्योलतामा फसेको आरोप लगाउँदै लोकतन्त्रलाई अवरोधरहित रूपमा अघि बढाउन सबै लोकतान्त्रिक शक्ति, नागरिक समाज, सञ्चारकर्मी तथा न्यायप्रेमी आम नागरिकलाई एकताबद्ध हुन आह्वान गरेको छ।
फिदिम, पाँचथर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा मंसिर २७ देखि पौष ३ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको अवसरमा नेकपा (एमाले) पाँचथरले आज फिदिमस्थित पार्टी कार्यालयमा प्रेस मिट आयोजना गरी प्रेस विज्ञप्ति जारी गरेको छ। उक्त प्रेस मिट नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग, पाँचथरको आयोजनामा सम्पन्न भएको हो।
विज्ञप्तिमा महाधिवेशन लोकतान्त्रिक प्रणाली र प्रक्रियाको उत्कृष्ट नमुनाका रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसबाट पार्टी पंक्तिमा नयाँ उत्साह, जिम्मेवारीबोध र लोकतन्त्रको रक्षा गर्ने दृढ संकल्प थपिएको जनाइएको छ। संविधानलाई सही दिशामा अघि बढाउने, खल्बलिएको सामाजिक संरचनालाई लयमा फर्काउने तथा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले सिर्जना गरेको अराजकता र प्रतिगमनविरुद्ध सशक्त रूपमा उभिने अठोट व्यक्त गरिएको छ।
एमाले पाँचथरले महाधिवेशनलाई एमाले परिवार मात्र नभई लोकतन्त्रका पक्षधर शक्ति, राष्ट्रवादी शक्ति, नागरिक समाज, सञ्चार जगत तथा स्वदेश–विदेशमा रहेका शुभेच्छुक र आम नागरिकहरूले समेत उत्साहपूर्वक लिएको जनाएको छ। महाधिवेशनले लोकतान्त्रिक शक्तिहरूमा भरोसा र आत्मविश्वास थपेको तथा लोकतन्त्रविरोधी र षड्यन्त्रकारी शक्तिहरू निराश र विचलित बनेको दाबी गरिएको छ।
विज्ञप्तिमा भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको अवस्थाले देश अन्योलतामा फसेको उल्लेख गर्दै जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक रूपमा वर्तमान सरकार गठन गरिएको आरोप लगाइएको छ। छ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको सरकारले निर्वाचनको न्यूनतम वातावरण समेत नबनाएको, राजनीतिक दलहरूलाई बेवास्ता गरिएको र सुरक्षा व्यवस्था सुदृढ गर्नेतर्फ गम्भीरता नदेखाइएको एमालेको आरोप छ।
जेनजी आन्दोलनका जायज माग सम्बोधन, क्षतिग्रस्त राष्ट्रिय सम्पदाको पुनर्निर्माण, घाइते तथा अपाङ्गको उपचार तथा विकास निर्माणलाई सुचारु गर्न सरकार असफल भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले देशलाई थप जटिल र भयावह अवस्थातर्फ धकेल्ने चेतावनी दिइएको छ।
एमाले पाँचथरले मुलुकको सार्वभौमिकता, लोकतन्त्र र सामाजिक सद्भावमाथि पर्न सक्ने खतराप्रति गम्भीर ध्यानाकर्षण गराउँदै वर्तमान परिस्थितिलाई सही दिशामा ल्याउन, शान्ति सुरक्षा कायम गर्न र लोकतन्त्रलाई अवरोधरहित रूपमा अघि बढाउन सबै लोकतान्त्रिक शक्ति, नागरिक समाज, सञ्चारकर्मी तथा न्यायप्रेमी आम नागरिकलाई एकताबद्ध हुन आह्वान गरेको छ।
प्रेस मिटमा नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरका अध्यक्ष विष्नु प्रसाद साप्कोटाले विज्ञप्ति वाचन गर्दै समसामयिक विषयमा पत्रकारहरूलाई जानकारी गराउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









