0 प्रतिक्रिया
रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु
AI सारांश
Fast AI१. रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ।
२. गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी भएको छ।
३. साढे चारतले प्रशासनिक पक्की भवनमा २१ वटा कोठा रहेका छन् र महिला/पुरुष छुट्टाछुट्टै शौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको छ।
खोटाङ, ३१ वैशाखः रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा निःशुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो।
सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिनुभयो। “यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती हुँदै आएको थियो। अहिले आफ्नै सुविधा सम्पन्न भवन बनेर सञ्चालनमा आएपछि सहज भएको छ।”
गाउँपालिकाको उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी एसई-धुम-एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०८० असोज २१ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा अगाडि आफूले जिम्मा लिएको काम गत चैत २१ गते सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
उक्त भवन निर्माणका लागि गाउँपालिकाले विसं २०८० वैशाख २४ गते रु आठ करोड ४४ लाख ५७ हजार २५५ मा ठेक्का आह्वान गरेको थियो। ठेकेदार कम्पनीले रु पाँच करोड ४८ लाख ४४ हजार ५८० रकममा सम्झौता गरेर प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका सूचना अधिकारी एवं पञ्जीकरण शाखा प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभयो। भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको चार महिनापछि गाउँपालिकाले विसं २०८० माघ २२ गते औपचारिक रूपमा शिलान्यास गरेको थियो। उहाँका अनुसार महिला/पुरुष छुट्टाछुट्टै शौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको प्रशासनिक भवनमा २१ वटा कोठा रहेका छन्।
नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत दाहालले आज संयुक्त रूपमा रिवन काटेर गर्नुभएको छ। भवन उद्घाटनअघि परम्पराअनुसार शान्ति पूजासमेत गरिएको गाउँपालिकाले जनाएको छ।
देश सङ्घीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाविसलाई समेटेर छ वटा वडा रहेको एउटा स्थानीय तह (लामीडाँडा गाउँपालिका) घोषणा गरिएको थियो। साविकको छ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहितको टोलीले विरोध गरेपछि (तत्कालीन नाम लामीडाँडा) लाई परिवर्तन गरी रावाबेँसी बनाइएको थियो।
रावाबेँसी गाउँपालिका कृषि उत्पादनमा जिल्लाकै सबैभन्दा उर्वर भूमि मानिन्छ। यस गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको सङ्घीय सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणस्थल छ । हरमटारमा व्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको केही समयपश्चात् गाउँपालिकाले स्थानीयबाट निःशुल्क जग्गा प्राप्त गरेपछि ट्रस भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको थियो। हरमटारमा यसअघि कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्रगरी तीन वटा पक्की भवन निर्माण भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









