0 प्रतिक्रिया
तीन महिनापछि काठे पुलमार्फत यातायात सुचारु
रवीन्द्र काफ्ले (रासस)
पाँचथर, २ भदौः
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ को दोभानेमा काठे पुल निर्माण गरी करीव तीन महिनापछि यातायात सुचारु भएको छ।
राजमार्गको उद्गम खण्डमा पर्ने दोभानेस्थित मेवा खोलामा सोमवार काठे पुल निर्माण सम्पन्न भएपछि बोलेरो, जिप लगायत सवारी र ढुवानीका साना साधनहरु आवतजावत गर्न थालेका छन। सवारी साधन सञ्चालनमा आएपछि करीव तीन महिनापछि याङवरक गाउँपालिका वडा नं. १ च्याङथापू र वडा नं. २ फलैंचाको, गाउँपालिकाको केन्द्र थर्पू र जिल्ला सदरमुकाम फिदिमसँग सडक सम्पर्क पुनःस्थापित भएको छ।
गत जेठ ८ गते आएको बाढीले मेवा खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि यहाँ यातायात पूर्ण रुपमा अवरुद्ध थियो। निरन्तर बाढी आइरहने हुँदा पुनः डाइभर्सन निर्माण कठीन भएपछि याङवरक–१ का वडा सदस्य नरबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न स्थानीयवासीको भेलाले काठे पुल निर्माण गर्ने निर्णय गरेको थियो। सिंचाइ विकास डिभिजन कार्यालयले ५० थान ग्याबिङ जाली उपलब्ध गराएपछि खोलाको दायाँबायाँ ग्याबिङ पर्खाल निर्माण गरी काठे पुल बनाइएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो।
ग्याबिङ पर्खालमाथि चिलाउने, लप्सी लगायत बलियो काठका रुखहरु तेस्र्याइ पुल निर्माण गरिएको हो । काठे पुलबाट ट्रक, ट्र्याक्टर लगायत ढुवानीका साधन भने पार गर्न नसक्ने गुरुङले वताउनुभयो । भेलाले याङवरक–१ तेजेन्द्र राईको संयोजकत्वमा निर्माण तथा आर्थिक समिति गठन गरेको थियो। स्थानीयवासीले काठे पुल निर्माणका लागि रकम जुटाउन स्वेच्छिक रुपमा सहयोग सङ्कलन गरेका थिए।
जसमा १०० जनाभन्दा बढी स्थानीयवासीबाट करीव रु. दुई लाख रकम सङ्कलन भएको थियो। यस्तै गत शुक्रवारदेखि सोमवारसम्म स्थानीयवासीले काठे पुल निर्माणका लागि श्रमदान गरेपछि पुल निर्माण भइ सवारी साधन सञ्चालनमा आएको निर्माण समितिका संयोजक राईले जानकारी दिनुभयो। काठे पुल निर्माण कार्यमा याङवरक गाउँपालिकाले स्काभेटर तथा इन्धनको प्रवन्ध गरेको थियो।
बाढीले अस्थायी डाइभर्सन खोलाको दुईतर्फ रहेका सवारीका साधनमार्फत यात्रुहरु गन्तब्यमा पुग्ने गरेका थिए। तर ढुवानीमा भने लागत बढ्दा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य थिए। स्थानीय उत्पादनहरु बजार पठाउन नसक्दा कृषकहरुले समस्या भोग्दै आएका थिए। मोटरसाइकल भने झोलुङ्गे पुलबाट खोला पार गर्ने गरेका थिए।
मध्यपहाडी राजमार्गको उद्गम खण्डमा पर्ने दोभानेस्थित मेवा खोलामा रहेको सडक पुल वि.सं. २०८० साल असारमा आएको बाढीले वगाएको थियो। त्यसयता अस्थायी डाइभर्सनमार्फत सवारी साधन सञ्चालनको प्रवन्ध गर्ने गरिएको थियो। यहाँ निर्माण भइरहेको सडक पुल समेत गत जेठ ८ गतेको बाढीले बगाएको थियो। करीव तीन महिनापछि सवारी साधन सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महशुस गरेका छन।
यस्तै याङवरक गाउँपालिका वडा नं. १ को पेरुङ्गे, बिरुवा र चाम्लिङडाँडा जोड्ने ग्रामीण सडक पनि सुचारु गर्न पहल थालिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो । यहाँ पनि मेवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन निर्माणको प्रयास भइरहेको उहाँको भनाइ छ । याङवरक गाउँपालिका वडा नं. १, २ र ३ मा वि.सं. २०८० सालदेखि वर्षेनि बाढी र पहिरोका घटना भएपछि जनजीवन प्रभावित हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







