0 प्रतिक्रिया
रित्तिए गोठ, हरायो आम्दानी
पाँचथर, २६ भदौः
रेविज रोग सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ६ मेहेलबोटेका कतिपय स्थानीयवासीको गोठ नै रित्तिएका छन। दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द भएको छ।
मेहेलबोटेकी लीलादेवी दाहाल (रिजाल) ले नजिकैको डेरी उद्योगबाट ऋण लिएर गाई खरीद गर्नुभएको थियो। उत्पादित दूध सोहि डेरी उद्योगमा विक्री गरेर ऋणको साँवा र ब्याज क्रमशः घटाउने सर्त थियो। एक वर्ष दूध विक्री गरेपछि रिजालको परिवारले अब करीब रु. १५ हजार डेरी उद्योगलाई तिर्न बाँकी थियो। तर गोठमा बाँधिराखेको गाईलाई गत असार २३ गते रेविज सङ्क्रमित कुकुरले टोकेपछि २३ दिनपछि गाई मर्यो।
डेरीको ऋण चुक्ता गर्न नपाउँदै गाई नै मरेपछि रिजालको परिवार अहिले समस्यामा परेको छ । “बाँकी ऋण तिर्न सक्ने अवस्था छैन । अर्को गाई खरीद गर्ने त परकै कुरा”, रिजालले भन्नुभयो, “गाई मरेपछि पालिकाले दिएको एउटा फारम भरेर पठाएका छौं । पालिकाले के कति दिने हो ? दियो भने त किन्नुहोला ।” रिजाल परिवारले पालेको उन्नत प्रजातिको गाईबाट दैनिक १२ लिटर दूध विक्री हुन्थ्यो । गाई मरेपछि गोठ रित्तिएको छ भने आम्दानीको बाटो बन्द भएको छ ।
यहाँ रिजाल परिवारको मात्रै होइन, छिमेकी कल्पना सेर्मा लिम्बू र यमुना महराको गोठ पनि गाई वस्तु मरेपछि रित्तिएको छ । सेर्माको घर अगाडि रहेको गोठमा बाँधिएका गाई र भैंसीलाई असार २३ गते विहान रेविज सङ्क्रमित कुकुरले टोकेपछि साउन १३ गते भैंसी र साउन १६ गते गाई मरेको थियो । दुहुनो भैंसी र ब्याउन लागेको गाई मर्दा करीव रु. तीन लाख घाटा लागेको सेर्माको गुनासो छ । “हामीले पशु बीमा गरेका थिएनौं । मेरो गाईं भैंसी मर्दा करीव रु. तीन लाख घाटा भयो”, सेर्माले भन्नुभयो, “कागजपत्र वडाको माध्यबाट गाउँपालिकामा पेश गरेका छौं । राहत पाउने कि नपाउने केही थाहा भएन ।”
सेर्माका श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । सेर्माको घर खर्च चलाउने, छोराछोरी पढाउने माध्यम नै दूध विक्री थियो। “आम्दानीको बाटो नै दूध थियो । मासिक १५ हजारसम्म आम्दानी गरेर घर खर्च चलाउँथे। अब त त्यो पनि टुङ्गियो”, सेर्माले भन्नुभयो, “अहिले त गोठ नै खाली भयो । कहाँ कसले छाडा छोडेको कुकुरले हाम्रो सत्यनास पारिदियो ।”
रेविजको सङ्क्रमण भइ गाई वस्तु मरेपछि सेर्माको परिवारका सबैले रेविजविरुद्धको खोप लगाउँदा रु. ४१ हजार खर्च भयो। “खोप लगाउन पनि हामी ब्यक्तिगत रुपमै लगानी गर्नुपर्ने रहेछ। रेविज सङ्क्रमणको डर भएपछि परिवारका सबैले खोप लगायौं”, सेर्माले भन्नुभयो।
सेर्माका छिमेकी यमुना महरालाई पशु बीमा गरेको भए हुने रहेछ भन्ने अहिले ज्ञान भएको छ। “गाई वस्तु वितेपछि मात्रै बीमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान भयो । अहिलेसम्म यस्तो भएको थिएन”, महराले भन्नुभयो, “मेरो पनि एउटा गाई म¥यो । कुकुरले टोकेको १८ दिनपछि गाईमा लक्षण देखियो ।”
रेविज रोगको सङ्क्रमण भएका कुकुरको टोकाइबाट पाँचथरमा पछिल्ला केही महिनामा मात्रै ३८ वटा पशु चौपाया मरिसकेका छन। जसमध्ये सबैभन्दा धेरै फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटे क्षेत्रका छन। मेहेलबोटेका खोमनाथ रिजालका अनुसार रेविज सङ्क्रमित कुकुरले गत असार २३ गते एकै विहान दर्जनौं गाई वस्तु र मानिसलाई टोकेपछि केही समय स्थिति भयाबह बनेको थियो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरजकुमार भट्टराईका अनुसार प्रदेश सरकारका तालुकदार निकायबाट क्षतिपूर्ति दिने ब्यवस्था भएको छैन। “पशुपालकहरुले ठूलो क्षति ब्यहोर्नु परेको भनेर हामीले पहल गरिरहेका छौं, तर नीतिगत हिसाबले नै राहत वा क्षतिपूर्ति दिने ब्यवस्था नभएको रहेछ”, उहाँले भन्नुभयो।
फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले रेविज सङ्क्रमणका कारण मरेका पशुचौपाया मरेका कृषकहरुका लागि सकेसम्म राहत दिने सोच बनाइएको वताउनुभयो। “राहत उपलब्ध गराउन संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं”, नेम्बाङले भन्नुभयो, “उपल्ला सरकारबाट प्राप्त नभएपनि गाउँपालिकाले केही राहत उपलब्ध गराउने योजना बनाएका छौं।” गाउँपालिकामा आर्थिक कारोबार सुरु भएपछि राहतको प्रक्रिया थालिने उहाँले वताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






