0 प्रतिक्रिया
विद्युत सेवा अवरोध भइरहँदा चिया फ्याक्ट्री बन्द हुने अवस्थामा, १५० जनाको रोजगारी गुम्ने खतरा
AI सारांश
Fast AI१. सिद्धदेवी टी-स्टेट प्रा.लि.मा विद्युत सेवा असहज हुँदा चिया उत्पादनमा समस्या निम्तिएको छ।
२. निरन्तर विद्युत अवरोध भइरहँदा फ्याक्ट्रीलाई असहज भएको कम्पनीका मेनेजर एन्ड्रयु गार्डनरले बताए।
३. यदि फ्याक्ट्री बन्द भयो भने यहाँ काम गर्ने करीब १५० जनाको रोजगारी गुम्ने खतरा बढेको छ।
पाँचथर- इलामको पश्चिमी क्षेत्रमा रहेको सिद्धदेवी टी-स्टेट प्रा.लि. मा विद्युत सेवा असहज हुँदा चिया उत्पादनमा समस्या निम्तिएको छ। निरन्तर विद्युत अवरोध भइरहँदा फ्याक्ट्रीलाई असहज भएको कम्पनीका मेनेजर एन्ड्रयु गार्डनरले बताए। विद्युत नहुँदा जेनेरेटरको माध्यमबाट चिया उत्पादन गर्नुपर्छ। हरियो पत्तीको सिजनमा दैनिक इन्धन खर्च ५० हजार रुपैया भन्दा बढी हुने गरेको छ। खर्चिलो बन्ने भएपछि उत्पादन भएको चिया,कर्मचारीको तलब र खर्च नधान्ने हुँदा बन्द गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ। गत साउन महिनामा कम्पनीमा ३९ लाख ६६ हजार ८० रुपैंया ५० पैसा खर्च हुँदा इन्धन तर्फ अधिक खर्च भएको बताइएको छ। निरन्तर विद्युत सेवा सुचारू हुने हो भने, इन्धनमा लाग्ने खर्च बच्ने र विधुत बिलमा कम खर्च हुँदा फ्याक्ट्री संचालन गर्न सकिने उनले बताए। यसरी नै सधैं विद्युत सेवा असहज हुँदा फ्याक्ट्री बन्दको विकल्प नरहेको कम्पनीको ठम्याई छ। यदि फ्याक्ट्री बन्द भयो भने यहाँ काम गर्ने करीब १५० जनाको रोजगारी गुम्ने खतरा बढेको छ। पटक-पटक विद्युत सेवा अवरोध भएपछि कामदारलाई काम रोक्न लगाइएको कम्पनीले जनाएको छ।
कामदारलाई काम नदिएपछि विहिवार मजदुर,ड्राइभर,सेक्युरिटी गार्ड,टिमेकर लगायतले अफिस परिसरमा “कि रोजगार देउ, कि विद्युत देउ” भन्दै नेमप्लेटसहित फ्याक्ट्रीमा धर्ना दिएका छन्। दुई घण्टा टाढाबाट हिंडेर दैनिक रोजगारीमा आउने मजदुरहरुलाई काम रोकेर घर फर्काउँदा मार परेको कामदारहरु बताउँछन्। दैनिक पाँच सय किलोग्राम उत्पादन क्षमता भएको यस फ्याक्ट्रीले इलाम नगरपालिकास्थित नेपालटार,पुवामझुवा, देउमाई नगरपालिकाको पानीटार,फाकफोकथुमको कोल्बोटे,आमचोक,पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित वसाँगु, चिलिङदिन लगायत स्थानीय किसानले उत्पादन गरेको एक हजारदेखि १५ सय किलोग्राम हरियो पत्ती अहिलेको सिजनमा दैनिक संकलन गर्दै आएको छ। कम्पनीको आफ्नो उत्पादन दुईसय किलोग्राम सहित करीब दुई हजार किलोग्राम हरियो पत्ती फ्याक्ट्रीमा प्रशोधन गरि विभिन्न क्वालीटिका चिया उत्पादन गरिरहेको छ। विद्तयुत असहजले फ्याक्ट्री बन्द भएमा स्थानीय किसानले उत्पादन गरेको र विभिन्न ठाउँबाट संकलन हुँदै आएको चिया पत्ती अलपत्र हुने परिस्थिति सृजना हुने उनको भनाई छ। यहाँ उत्पादन भएको चिया चीन,भारत,जापान,युके,फ्रान्स,क्यानडा,अमेरिका लगायत विश्वका विभिन्न राष्ट्रहरुमा बिक्री हुँदै आएको बताइएको छ।
इलामको फाकफोकथुम-१ पुरानो पञ्चमी र पाँचथरको सिमानमा करीब १५ सय रोपनी क्षेत्रफलमा रोपिएको उक्त चिया बगानमा स्थानीयले रोजगारीको अवसर पाएका छन् भने । पूर्वको कन्याम जस्तै आगामी दिनमा पर्यटकीय स्थलको रुपमा पनि विकासित हुने संभावना बोकेको छ। राँके-रवि-भेडेटार सडकबाट पाँच किलोमिटर नजिक पर्ने यो क्षेत्र चिया खेतीका लागि प्रसिद्ध छ। हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा यस कम्पनीले ‘उत्कृष्ट चिया’ को उपाधि जितेको छ। चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो। अमेरिकास्थित ‘वर्ल्ड टी एक्स्पो डट कम’ का अनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी-स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको हो।
विद्युत सेवा सुचारु नहुँदा दैनिक २० देखि २५ पटकसम्म जेनेरेटर चलाउनुपर्ने बाध्यता रहेको छ। लामो समय जेनेरेटर चलाइरहँदा बिग्रिने र खराबी आएपछि चियाको गुणस्तरमा समेत खराबी भएर नोक्सानी खेप्नु परेको कम्पनीको गुनासो छ। विश्वमा चर्चित बनेको यस कम्पनीमा विद्युत कै कारण चियाको गुणस्तर खच्किनु र बन्द हुने अवस्था आउनु भनेको सिद्धदेवी टी-स्टेटको मात्रै नभइ नेपालको समेत अन्तराष्ट्रिय बेइज्जत हुने कम्पनीले दावी गरेको छ।
यता विद्युत कार्यालयले भने लामो फिडर र जंगल क्षेत्रबाट लाईन विस्तार भएका कारण समस्या आएको जनाएको छ। इलाम र पाँचथरको सिमानामा इलाम वितरण केन्द्रबाट दुवै क्षेत्र एउटै लाइन मार्फत प्रसारण भएपनि कर्मचारी भने दुवै जिल्लाका छन् । विद्युत लाइनमा समस्या आउँदा फिल्डमा खट्ने प्राविधिकहरूको एक-आपसमा समन्वय नहुँदा, बेलैमा बुस कटिङ,अवरोध र निगरानी नपुग्दा सेवाग्राहीले बारम्बार विद्युत अवरोधको चपेटा खेपिरहनु परेको स्थानीयको गुनासो छ। यस क्षेत्रका लागि राँके बजार आसपास सव-स्टेशन बनाउन सके समस्या हल हुने र दिर्घकालीन बन्ने स्थानीयको बुझाई छ। समस्या प्रति सरोकारवाला निकायले बेलैमा ध्यान नपुर्याए उद्योग बन्द र रोजगारीसमेतमा असर पुग्ने उद्योग संचालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











