0 प्रतिक्रिया
मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
AI सारांश
Fast AI१. सुनसरी जिल्लामा बसोबास गर्ने मरिक समुदायका व्यक्तिहरू छठ पर्व आउनु भन्दा एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन थाल्छन्।
२. छठ पर्वमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलो लगायत बाँसका सामग्री बनाउने कामबाट मरिक समुदायका व्यक्तिहरू आम्दानी गर्छन्।
३. मरिक समुदायका व्यक्तिहरू बाँसका सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्छन्, तर आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकाले उहाँहरू चिन्तित हुन्छन्।
इनरुवा(सुनसरी), १८ कात्तिक: सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ।
स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ।
आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताउनुहुन्छ । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाउनुभयो ।
स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताउनुभयो । “यही बेला त हो आम्दानी गर्ने । अरु बेला यस्तो अवसर आउँदैन । थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।
भट्टाई मरिकले पनि गाउँ गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताउनुभयो ।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । “अरु बेला कमाइ हुँदैन, त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ । पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि”, स्थानीय विन्देश्वर मरिकले भन्नुभयो।
स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाउनुभयो । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उहाँको भनाइ छ ।
दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उहाँ चिन्तित हुनुहुन्छ ।
यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने स्थानीयको माग छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









