Comments Add Comment

सांसद नेम्बाङ १० महिनापछि सार्वजनिक कार्यक्रममा

इवारा जवेगु लिम्बु
पाँचथर। पाँचथरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ १० महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी बन्नुभएको छ।
अस्वस्थ भई उपचार गराइरहनु भएका नेम्बाङ पुस १ गते जिल्ला समन्वय समितिको परिसरमा रहेको ब्याडमिन्टन कवर्ड हल उद्घाटन कार्यक्रममा सहभागी बन्नुभएको हो। गत वर्ष माघ १८ गते अकस्मात ‘ब्रेनस्टक’ को समस्या देखिएपछि नेम्बाङ निरन्तर उपचार गराइ रहनुभएको थियो। दुई साताअघि फिदिम आई निजी निवास फिदिम नगरपालिका–१ गैरीबारीमा आराम गरिरहनुभएका नेम्बाङ पुस १ गते सोमबार ब्याडमिन्टन कवर्ड हल उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको हो।
नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका समयमा २०७६ साल असार ३ गतेदेखि जिल्ला समन्वय समिति पाँचथरको स्वामित्वमा रहेको ब्याडमिन्टन कवर्ड हलको पुनःनिर्माण थालिएको थियो। गत २०८० साल बैशाक १५ गते उक्त कवर्ड हल निर्माण सम्पन्न भइ ब्याडमिन्टन खेल सञ्चालनमा रहेपनि औपचारिक उद्घाटन भने भएको थिएन।
उक्त हल ब्याडमिन्टन संघ पाँचथरले भाडामा लिई सञ्चालन गरिरहेको छ। कवर्ड हलको पुनःनिर्माणको अगुवाई गर्नुभएका नेम्बाङबाटै उद्घाटन गर्न १८ महिनासम्म उद्घाटन कार्यक्रम थाँती राखिएको ब्याडमिन्टन संघका सचिव मंगल बेघाले जानकारी दिनुभयो।
यहाँ वि.सं. २०५८ सालमा काठको पार्केटिङ गरिएको एउटा कोर्ट रहेको कवर्ड हल तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको थियो। उक्त हलमै सार्वजनिक कार्यक्रमहरु समेत हुने गरेका थिए। नेम्बाङ नै जिल्लामा ब्याडमिन्टन खेललाई प्रवेश गराउने र ब्याडमिन्टनप्रति युवा पुस्ताको आकर्षण ल्याउने पहिलो ब्यक्ति भएको बेघाको भनाइ छ।
नेम्बाङ मन्त्री बनेपछि उहाँकै पहलमा संघीय सरकारले हल पुनःनिर्माणका लागि रु. एक करोड २८ लाख ९१ हजार बजेटको ब्यवस्था गरेको थियो । यद्यपि निर्माणका क्रममा सो रकममध्ये रु. एक करोड १७ लाख १७ हजारमै निर्माण कार्य सम्पन्न भएको जिल्ला समन्वय अधिकारी सौरभ थापा मगरले जानकारी दिनुभयो। यस्तै जिल्ला समन्वय समिति पाँचथरले पुरानो एउटा कोर्टलाई पार्केटिङ सहित मर्मत गरेको थियो। जसमा रु. १४ लाख ७९ हजार बजेट खर्च भएको मगरले वताउनुभयो।
‘ब्रेनस्टक’ को समस्याका कारण नेम्बाङलाई राम्रोसँग बोल्न र हिँडडुल गर्न नसक्ने समस्या देखिएको छ। ब्याडमिन्टन कवर्ड हल उद्घाटनका क्रममा उहाँ स्तब्ध भएपछि कार्यक्रममा सहभागीहरुमा सन्नाटा छाएको थियो । नेम्बाङले गरेको परिकल्पनाअनुसार उहाँले सुविधायुक्त नयाँ हलमा ब्याडमिन्टन खेल प्रदर्शन गर्न नपाउँदा आफूहरुलाई दुःख लागेको ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले वताउनुभयो।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले नेम्बाङले जिल्लाको खेलकुदसहितका संरचना निर्माण, भौतिक पूर्वाधारको विकासमा अतुलनीय योगदान दिँदै आएकामा स्वास्थ्यमा समस्या आउँदा सिङ्गो जिल्लालाई क्षति पुगिरहेको वताउनुभयो । नेम्बाङ मात्रै जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ।
ब्याडमिन्टन खेलाडी नेम्बाङले भेट्रान्सतर्फ राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि समेत जीत्नुभएको उहाँका धर्मपत्नी भूमिका सुब्बाले जानकारी दिनुभयो । नेम्बाङको काठमाडौं तथा भारतका अस्पतालमा समेत उपचार गरिएको थियो।
ब्याडिमन्टन कवर्ड हल उद्घाटन कार्यक्रमका अवसरमा वि.सं. २०५९ सालमा सम्पन्न राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा १७ वर्ष मुनिको उपाधिका विजेता पाँचथर घर भएका पविन्द्र योक्पाङ्देनलाई सम्मान समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै