पाँचथर, माघ १०
पाँचथरको तुम्वेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिका-४ को सिमानामा पर्ने तमोर नदीको बीचभागमा वेवारिसे अवस्थामा एक मानव शव फेला परेको छ।
स्थानीयले माघ ८ गते दिउँसो करिब ३:३० बजे खोलाको बीचमा माटोमा अड्किएको शव देखेपछि साँझ ४:२५ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी चौकी नावाखोलाबाट टोली घटनास्थलमा पुगेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटाई शवको प्रारम्भिक अनुसन्धान गरिएको छ।
शव माटोमा अड्किएको अवस्थामा उतानो देखिएको थियो। घटनास्थलमा सुरक्षा व्यवस्था मिलाउँदै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालको शवगृहमा पठाइएको र शवको पहिचान हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।