0 प्रतिक्रिया
आठौं तरुण गोल्डकपका विजेता खेलाडीलाई कुम्मायक गाउँपालिकाद्वारा सम्मान
मनोज थापा
यासोक । फिदिममा सम्पन्न आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियल टिमलाई कुम्मायक गाउँपालिकाले सम्मान गरेको छ। गाउँपालिकाले एक विशेष कार्यक्रमका बीच विजेता टोलीका सदस्यहरूलाई सम्मानपत्रसहित सम्मान गरेको हो।
गत बिहीबार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा कुम्मायक गाउँपालिकाले हिलिहाङ गाउँपालिकालाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको थियो। निर्णायक गोल कुम्मायकका सुदिप लावतीले गरेका थिए।
कुम्मायकले क्वार्टरफाइनलमा फालेलुङ गाउँपालिकालाई र सेमिफाइनलमा फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। विजेता बनेको कुम्मायकले एक लाख एक सय त्रियाहत्तर रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले ५१ हजार एक सय त्रियाहत्तर रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ कुम्मायकका गोलकर्ता सुदिप लावती घोषित भए। उनीसँगै कुम्मायककै रोचक लावती ‘बेष्ट किपर’, सुदिप लावती ‘बेष्ट डिफेन्डर’, दिनेश शेर्मा ‘बेष्ट मिडफिल्डर’ र सुशिल लावती ‘बेष्ट फरवार्ड’ बने। प्रतियोगिताको ‘बेष्ट प्लेयर’ हिलिहाङका निरोज लिङदेन बने भने हिलिहाङकै नवराज माझी चार गोलका साथ ‘सर्वाधिक गोलकर्ता’ बने। उत्कृष्ट खेलाडीहरूले जनही दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कार प्राप्त गरे।
नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहका फुटबल टोलीहरूले सहभागिता जनाएका थिए। स्थानीय खेल प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए।













