Comments Add Comment

‘सबै पक्ष मिलेर निर्वाचनको वातावरण वनाउनु पर्छ’

पाँचथर, १७ मङ्सिरः

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै पक्ष मिलेर निर्वाचनको वातावरण बनाउन पाँचथरका राजनीतिक दलहरु र पत्रकारहरुलाई आग्रह गर्नुभएको छ।

आज जिल्ला प्रहरी कार्यालय पाँचथरमा आयोजित अन्तरक्रियामा बोल्दै घिमिरेले निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो। “प्रत्येक मतदाताले म सुरक्षित छु भन्ने अनुभूति गर्ने वातावरण बनाउन सुरक्षा निकायका अतिरिक्त राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रको मुख्य भूमिका हुन्छ”, प्रहरी नायव महानिरीक्षक घिमिरेले भन्नुभयो, “यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक छ।”

घिमिरेले फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन सबै राजनीतिक दल तथा समूहहरु तयार हुनु खुशीको कुरा भएको वताउनुभयो। वितगमा जस्तो कुनै दल वा समूहले निर्वाचन बहिस्कार गर्ने घोषणा नगर्नुले आउँदो निर्वाचन विगतभन्दा सुखद हुने अपेक्षा गरिएको उहाँले वताउनुभयो।

प्रहरी नायव महानिरीक्षक घिमिरेले कोशी प्रदेशमा लैङ्गिक हिंसाका घटना धेरै देखिएकाले यसको निराकरणमा लाग्न समेत आग्रह गर्नुभयो। उहाँले घरेलु हिंसाका घटनालाई कानूनी दायरामा नल्याइदा थप दुर्घटना हुने गरेको पाइएको वताउनुभयो।

अन्तरक्रियामा सरकोरवालाहरुले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोलीगठ्ठा तथा कारागार बाहिर रहेका कैदीबन्दी निर्वाचनका लागि चुनौति हुनेतर्फ सचेत गराएका थिए। यस्तै भारतसँग जोडिएको खुला सीमाका कारण समेत फरार केदीबन्दीले निर्वाचनलाई प्रभावित गर्नसक्ने तर्फ पनि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरे। “निर्वाचनको वातावरण बनाउन सुरक्षा चुनौति विगतमा भन्दा बढी देखिन्छ”, नेकपा (एमाले)का अध्यक्ष विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “यसतर्फ गम्भीरताका साथ ध्यान दिनुपर्छ।” नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगूले निर्वाचनलाई शान्तिपूर्ण र सौहार्दरुपमा सम्पन्न गर्न सुरक्षाको प्रत्याभूति नागरिक स्तरमा हुनुपर्नेमा जोड दिनुभयो।

यस्तै जेनजी आन्दोलनपछि पाँचथरमा छ वटा प्रहरी चौकी अन्यत्र गाभिँदा सम्बन्धित क्षेत्रका नागरिक र ब्यवसायीले असुरक्षाको महशुस गरेको सरोकारवालाको चिन्ता छ। “भएका प्रहरी चौकी उठाइदा स्थानीयवासीले असुरक्षित महशुस गरेका छन”, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले भन्नुभयो, “चौकीहरु पुनःस्थापित गरी प्रहरी जनशक्ति वृद्धि गर्नु जरुरी भएको छ।”

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा ट्राफिक ब्यवस्थापनमा कठिनाई परेको वताउनुभयो। उहाँले आत्महत्याका घटना न्यूनीकरण गर्न तथा लागू औषध दुब्र्यसनी रोक्न प्रहरीको भूमिका अहम् रहेकाले स्थानीय तहसँग सहकार्य गरी अघि बढ्न आग्रह गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै