इलामः जनकल्याण माध्यमिक विद्यालयले समुदाय, स्थानीय सरकार र पूर्वविद्यार्थीको सहकार्यमा निर्माण गरिएको नवनिर्मित ८ कोठे भवन सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले भवन उद्घाटन गरे भने फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल विशेष अतिथि भएर उपस्थित थिए।
विद्यालयले भौतिक पूर्वाधार सुदृढीकरणदेखि शैक्षिक कार्यक्रम विस्तारसम्म निरन्तर अघि बढाइरहेका बेला सम्पन्न यो कार्यक्रम विद्यालय–समुदाय सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भएको छ।
दुई तले आधुनिक संरचनासहितको भवन ८३ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। २०७७ सालमा पालिकाबाट १३ लाख र वडा नम्बर ७ बाट ८ लाख गरी जम्मा २१ लाख खर्च गरी भवनको जग–सम्याउने र खेलमैदान निर्माण गरिएको थियो। त्यसपछि २०७९/०८० सालमा संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ५० लाखको बजेटमा चार कोठे भवन निर्माण भयो। २०८०/०८१ मा प्रदेश सरकारबाट तला थप गर्न प्राप्त २५ लाख तथा विद्यालयको आन्तरिक ८ लाख रकम सहित जम्मा ८३ लाखको लागतमा २७ मिटर लामो र ९ मिटर चौडाइको आठ कोठे दुई तले भवन २०८२ सालमा निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो। भवनमा १५ वटा सीसी क्यामेरा, ७५ र ६५ इन्चका दुई स्मार्ट बोर्ड, बालमैत्री डेक्स–बेन्चसहित कक्षा कोठा, प्रशासन कक्ष र शिक्षक कक्ष व्यवस्थित रूपले निर्माण गरिएको विद्यालयले जनाएको छ।
विद्यालय विकासमा पूर्वविद्यार्थीबाट प्राप्त सहयोग विशेष प्रेरणादायी बनेको छ। विव्यस अध्यक्ष अर्जुन कुमार योङहाङ लिम्बूका अनुसार ४१ जना पूर्वविद्यार्थीबाट ७ लाख १२ हजार १४४ रुपैयाँ संकलन भएको छ। सो रकमबाट ६० हजारमा विद्यालयको डकुमेन्ट्री निर्माण, ६५ हजारमा भित्तालेखन तथा आर्टवर्क, १ लाख ८२ हजारमा २० सेट फलाम फर्निचर, १ लाख ९५ हजारमा १० थान बुक कर्नर र १८ सेट सखुवाको काठका डेक्स–बेन्च, ३० हजारमा शिलालेखन, ६० हजारमा चेन–गेट तथा रेलिङ जडान, ४२ हजार रुपैयाँका ट्र्याकसुट वितरण, ३३ हजार ढुवानी र २१ हजार सम्मानपत्र छपाइमा खर्च भएको छ। समग्र खर्चपछि २४ हजार १४४ रुपैयाँ बचत रहेको विद्यालयले सार्वजनिक गरेको छ।

विद्यार्थीसहुलियत कोषका लागि २ लाख १ हजार १११ रुपैयाँ संकलन भएको छ। यसमा फाकफोकथुम–७ खम्बुवा निवासी शिक्षाप्रेमी तथा पूर्व विव्यस सदस्य दिलबहादुर लिम्बूबाट १ लाख १११ रुपैयाँ, यही वडास्थित क्रिएटिभ सोसियल स्पोर्टिङ क्लबबाट ६१ हजार, पूर्व शिक्षक नरबहादुर खत्रीबाट ३० हजार र खनालगाउँ निवासी पूर्व प्रधानाध्यापक रविन्द्र प्रसाद शर्माबाट १० हजार रकम प्राप्त भएको विद्यालयले जनाएको छ। यसैगरी स्व. पञ्चबहादुर योङहाङ, अमृत लायो मगर, वेदप्रसाद आले र तिलक आलेले आठ–आनाका दरले विद्यालयका लागि जग्गादान गरेका छन्।
यसैबीच विद्यालय तथा समुदाय विकासमा योगदान पुर्याउने ६८ जनालाई सम्मान गरिएको समारोह विशेष बन्यो। पूर्व प्रधानाध्यापक रविन्द्रप्रसाद शर्मा, हरिप्रसाद पोखरेल र दुर्गाबहादुर योङहाङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। पूर्व विव्यसका स्व. गजराज योङहाङ, हर्कसिंह योङहाङ, नेत्रसिंह योङहाङ, वेदनारायण आले र चन्द्र आलेलाई मरणोपरान्त सम्मान प्रदान गरियो। गोविन्द कोइराला, गलिन्द्र योङहाङ र पञ्चबहादुर योङहाङ पूर्व विव्यस सम्मानबाट सम्मानित भए। पूर्व शिक्षक–अभिभावक संघतर्फदेखि जगत योङहाङ, लालमान लिम्बु र अमृत लायो मगरलाई सम्मान गरियो भने पूर्व प्रधानाध्यापकहरू मध्ये संस्थापक प्रअ उज्ज्वलसिंह योङहाङ, दधिराम लामिछाने, नारायण प्रसाद लुइटेल, देवीप्रसाद पौडेल, लालबहादुर खड्का र खगेन्द्र पिठाकोटेलाई सम्मान प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक सुरुआत गरे। कार्यक्रममा पूर्व प्रधानाध्यापक हरि प्रसाद पोखरेल, वडा अध्यक्ष छत्रबहादुर लिम्बु तथा पूर्व पालिका उपाध्यक्ष सरस्वती राईले शुभकामना मन्तव्य राख्दै विद्यालयको प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे।
समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार योङ्हाङ लिम्बुले कार्यक्रमको उद्देश्य, विद्यालयका चालु गतिविधिहरू तथा आय–व्यय विवरण प्रस्तुत गरे। शुभकामना मन्तव्य क्रमशः पूर्व पालिका उपाध्यक्ष सरस्वती राई, पूर्व प्रअका प्रतिनिधि हरि प्रसाद पोखरेल र वडा अध्यक्ष छत्रबहादुर लिम्बुद्वारा व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राना र विशेष अतिथि खनालले उत्कृष्ट कार्य गर्दै आएका व्यक्तित्वहरूलाई सम्मानपत्र वितरण गर्दै विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्न आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिए। उनीहरूले विद्यालयलाई जिल्लाको उत्कृष्ट विद्यालयका रूपमा देख्न पाउने आकांक्षा व्यक्त गर्दै सबैलाई निरन्तर सहयोग र एकताका लागि आह्वान गरे।

यस विद्यालयले विभिन्न फरक र समय अनुकुलका कार्यक्रमहरु पनि संचालन गर्दै आएको जनाएको छ । ‘विज्ञसँग संवाद’ कार्यक्रमअन्तर्गत यस अघि वैज्ञानिक एवं हालका शिक्षा मन्त्री महावीर पुनसहितको विद्यार्थी संवाद कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा विज्ञान, नवप्रवर्तन र अनुसन्धान सम्बन्धी विषयमा विद्यार्थीले प्रत्यक्ष रूपमा प्रश्न राख्ने तथा मार्गदर्शन प्राप्त गर्ने अवसर पाए। साथै विद्यालयले “प्रविधि र पत्रकारिता सम्बन्धी शैक्षिक संवाद कार्यक्रम” पनि सम्पन्न गरेको छ, जसमा पत्रकार युद्धबहादुर बोहोरा र भगीरथ भण्डारीले पत्रकारिताको आधारभूत परिचय, समाचार लेखन, डिजिटल पत्रकारिता, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा विद्यालयकै घटनाबाट समाचार तयार गर्ने सीपबारे प्रशिक्षण प्रदान गरेका थिए। यसअघि डा. प्रेम फ्याकको सहभागितामा ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम सम्पन्न भई विद्यार्थीलाई प्रश्न गर्ने, बुझेर सिक्ने तथा जिज्ञासा अभिवृद्धिमा प्रेरित गरिएको थियो। प्रधानाध्यापक गणेश पौडेलका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको संचार–सीप तथा व्यावहारिक ज्ञानमा महत्वपूर्ण प्रभाव पारेका छन्। विद्यालयले आगामी दिनमा खेलमैदान व्यवस्थित गर्ने, शौचालय निर्माण, भवनको छतमा ट्रस जडान, क्यान्टिन निर्माण, सरस्वती मन्दिर, विद्यालय परिसरमा घेराबारा तथा प्रवेशद्वार निर्माणलाई प्राथमिकतामा राखेको छ। करिब ९ रोपनी क्षेत्रमा फैलिएको विद्यालयमा यी संरचनाहरू आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
स्व. बलभद्र खनालले बनाएको धर्मशालामा स्व. उज्ज्वलसिंह योङहाङले पठन–पाठन प्रारम्भ गरेपछि २०२३ सालमा स्व. गजराज योङहाङको अध्यक्षतामा ‘जनकल्याण आदर्श प्राइमरी स्कुल’ औपचारिक रूपमा दर्ता गरिएको थियो। २०४० सालमा कक्षा ५ सम्म, २०६४ सालमा प्रस्तावित माध्यमिक विद्यालयको रूपमा विकसित भएको यस विद्यालयमा अहिलेसम्म ९ जना विव्यस अध्यक्ष र १० जना प्रधानाध्यापकले सेवा गरेका छन्। २०८० सालदेखि गणेश पौडेल प्रधानाध्यापक र २०७७ सालदेखि अर्जुन योङहाङ विव्यस अध्यक्षको रूपमा कार्यरत छन्। विद्यालयमा हाल १७ जना शिक्षक तथा स्टाफ कार्यरत छन् भने करीब १५० जना विद्यार्थी छन्।







