मनोज थापा
११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै झापा ११ लाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै मच्छिन्द्रले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ भने झापा ११ पहिलो चरणबाटै बाहिरिएको छ।
आजको प्रि-क्वार्टरफाइनल खेलमा मच्छिन्द्रले शुरुदेखि नै झापालाई दबाब मा राखेको थियो। खेलको १९ औँ मिनेटमा बिजु भुजेलको उत्कृष्ट कर्नर किकलाई सदुपयोग गर्दै देवेन्द्र तामाङले पहिलो गोल गरे। पहिलो हाफमै मच्छिन्द्रले ३-० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै मच्छिन्द्रले जितलाई झनै फराकिलो बनायो।
मच्छिन्द्रका लागि बिजु भुजेलले दुई गोल गरेका थिए, भने देवेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाले समान एक-एक गोल गरेका थिए। खेलको “प्लेयर अफ दी म्याच” मच्छिन्द्रका बिजु भुजेल घोषित भए। उनले नगद रु. १०,००० पुरस्कार प्राप्त गरे।
भोलि पहिलो क्वार्टरफाइनलमा फिदिम र आर्मी क्लबको प्रतिस्पर्धा
फाल्गुनन्द गोल्डकप अन्तर्गत भोलि सोमबार पहिलो क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
१० टिम सहभागी रहेको यस प्रतियोगिताको विजेताले नगद रु. दश लाख ५५५ र उपविजेताले रु. पाँच लाख ५५५ प्राप्त गर्नेछन्। फिदिम नगरपालिकाको प्रवर्द्धनमा आयोजित प्रतियोगिताको व्यवस्थापन फिदिम स्पोर्टिङ क्लबले गरेको हो।