+
+

स्मार्ट बोर्डमा चम्किँदै विद्यार्थीको भविष्य, डिजिटल पूर्वाधारमा फड्को मार्दै कोशी प्रदेश

Clock २०८३ बैशाख ४, शुक्रबार १७:४९
-- Sponsored --

कमल घिमिरे
पाँचथर– दिउँसो २ बज्दै थियो । फिदिम माध्यामिक विद्यालयमा टिफिन सकिएको जनाउ घण्टी बज्यो । प्रधानाध्यापक विनोद ठाकुर सिसि टिभिबाट कक्षा कोठाको गतिविधि नियालि रहनु भएको थियो ।
खाजा र केहिबेरको खेल पश्चात विद्यार्थी भाग्लान,भौंतारिएलान, घरतिर भाग्लान वा झै झगडा र चकचक गर्लान कि ? भनेर सिसि टिभिबाट स्कुल परिसर र कक्षा कोठाका सबै गतिविधि नियालेको ठाकुरले सुनाउनुभयो ।
सिसि टिभि सहितको व्यवस्थित कार्यालय रहेको यो स्कुलका कक्षा कोठा भित्रको व्यवस्थापन चाँहि कस्तो होला ? मैले जिज्ञासा राखें । त्यसपछि उहाँ मलाई साथ लिएर कक्षा कोठा तिर अगाडी बढ्नुभयो ।
कक्षा ९ मा शिक्षिका धु्रवलक्ष्मी भण्डारी स्मार्ट बोर्डमा सामाजिक अध्ययन विषयमा समेटिएको लागु औषध भन्ने पाठ पढाई रहनु भएको रहेछ । विषय बस्तुको ब्याख्या गर्दै भण्डारीले लागु औषध सँग सम्वन्धित भिडियो र तस्विर स्मार्ट बोर्डमा प्ले गरेर देखाँउनु भयो । अब विद्यार्थीको ध्यान विषय बस्तुमा झनै केन्द्रीत भयो ।
‘पहिले हाम्रा यी कक्षा कोठामा कालो पाटि मात्रै थिए, ती पाटिमा चकले लेखेर डस्टरले मेट्दै पढाउनु पथ्र्यो,महिनै पिच्छे जस्तो रुघाखोकी लाग्थ्यो, एक दशक अघि ह्वाइट बोर्ड आयो अहिले स्मार्ट बोर्डमा पढाइरहेका छौं,प्रविधिको प्रयोग गरेर पढाउदा शिक्षक विद्यार्थी दुबैलाई सजिलो भएको छ ।’ शिक्षिका भण्डारीले भन्नुभयो ।
‘पाठ्यक्रम र पाठ्यपुस्तकमा समेटिएका विषय स्पष्ट पार्न विषय शिक्षकले पनि राम्ररी मेहेनेत गर्नुपर्छ, जसले विद्यार्थी मात्रै नभएर शिक्षकको पनि ज्ञानको दायरा बढ्दो रहेछ।’ –भण्डारीले थप्नुभयो ।
कक्षा नौ मात्रै होइन १२ कक्षासम्म पठन पाठन हुने फिदिम माविमा १२ वटै स्मार्ट बोर्ड र ५० वटा टेलिभिजन जोडिएका छन । ती सबै सामग्री पठन पाठनमै प्रयोग हुन्छन । यी स्मार्ट बोर्ड विद्यालयको आन्तरिक स्रोत वा अन्य कुनै दाताबाट प्राप्त सहयोगबाट खरिद गरिएका होइनन ।
शिक्षालाई गुणस्तरीय र प्रविधि मैत्री बनाउने कोशी प्रदेश सरकारको नीति अनुसार २०७७ सालमा प्रदेश सरकार अन्तरगत समामाजिक विकास मन्त्रालयको मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम मार्फत उपलब्ध भएका हुन ।
स्मार्ट बोर्ड सहित ६ वटा टेलिभिजन २ वटा क्म्प्युटर सेट र सिसि क्यामेरा कोशी प्रदेश सरकारको सहयोगमा जडान गरिएको प्रधानाध्यापक बिनोद ठाकुरले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले कक्षाकोठालाई प्रविधि मैत्री बनाउन यत्तिका सामग्रीसँगै शिक्षकहरुलाई ४५ दिनको प्रयोगात्मक तालिम समेत दिएको उहाँको भनाई छ ।
‘प्रदेश सरकारबाट स्मार्टबोर्ड सहितका सामग्री उपलब्ध गराएर तालिम दिएपछि विद्यालयको निजी श्रोतबाट ४६ जना शिक्षकलाई ल्यापटप उपलब्ध गराइयो, सबै कक्षाकोठामा प्रोजेक्टर जोडिएको छ, सर म्याडमहरुले कक्षा कोठामा पनि ल्यापटपबाट पढाउनुहुन्छ,जस्ले शिक्षण विधिलाई थप प्रभावकारी बनाएको छ ।’ –प्रधानाध्यापक ठाकुरले भन्नुभयो ।
इन्टरनेटबाट सर्च गरेर देखाउन मिल्ने भएकाले यो विधि व्यवहारिक पनि भएको उहाँको टिप्पणी छ ।
‘स्कुलमा इन्टरनेट राम्रो चल्छ , स्मार्ट बोर्डमा आवश्यकता अनुसार अडियो भिडियो सुन्दै र तस्बिर हेर्दै पढ्न पाइने भएकाले राम्रोसँग बुझिन्छ । कक्षा १० की छात्रा निचला मिश्रले भन्नुभयो ।
फिदिम मावि देशभरका नमुना स्कुलहरु मध्येको एक हो । प्रदेश सरकारले कोशी प्रदेशका १३ वटा विद्यालयलाई नमुना स्कुल घोषणा गरेको छ । ती सबै विद्यालयमा पठन पाठन प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड,टेलिभिजन र कम्प्युटर जस्ता सामग्री उपलव्ध गराइएको कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता दामोदर फुयालले बताउँनुभयो ।
तेह्रथुमको मेन्छायाम गाउँपालिकामा अवस्थित श्रीजुङ माध्यामिक विद्यालयमा पनि प्रदेश सरकारको सहयोगमा डिजिटल साक्षरता अभियान सञ्चालन भइरहेको छ । यस अन्तर्गत विद्यालयले ४ वटा स्मार्ट बोर्ड जडान गरेको छ । जहाँ ५ कक्षा देखि १२ कक्षा सम्म १ सय विद्यार्थीले सुविधा पाइरहेका छन् । विद्यालयले दक्ष आइटी शिक्षक राखेर कक्षाहरु सञ्चालन गरिरहेको छ । अन्य शिक्षकलाई पनि समय समयमा आइटी तालिम प्रदान गर्ने गरेको प्रधानाध्यापक राम अवतार मण्डलले जानकारी दिनुभयो ।
विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा अभ्यस्त गराउने उद्देश्ले तेह्रथुमका ४ वटा माध्यमिक तहका सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान सञ्चालन भइरहेको छ ।
मेन्छायाम गाउँपालिकाको गैखुरी मावि. र श्रीजुङ मावि., फेदाप गाउँपालिकाको जनज्योती मावि.र छथर गाउँपालिकाको भगवती माविमा पनि अभियान सञ्चालन भइरहेको हो ।
छथर गाउँपालिका २ मा रहेको सरस्वती मा.वि मा २४ वटा कम्प्युटर सेट सहित ल्यावको व्यवस्था छ ।
जसमा १ सय ३४ विद्यार्थीहरुले कम्प्युटर सिकिरहेका छन् । अन्य विद्यार्थीहरुले पनी आइटी सम्बन्धी आवश्यक सामाग्रीहरुको अध्ययन गर्न पाइरहेका छन् । विद्यालयमा क्ष्लतभचबअतष्खभ र स्मार्ट बोर्डको प्रयोग गरी डिजिटल माध्यम बाट पठनपाठन भइरहेको छ । पढाइले विद्यार्थीहरुमा सूचना प्रविधि प्रति आकर्षण बढेको प्रधानाध्यापक खगेन्द्र न्यौपाने बताउनुहुन्छ ।

प्रविधिमा बामे सर्दै प्रदेश सरकार
कोशी प्रदेशले सूचना प्रविधिको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ , जसले प्रदेशको डिजिटल रुपान्तरण, पारदर्शिता, सेवा प्रवाहमा सहजता र नागरिक सम्पर्क सुधार भइरहेको अधिकारीहरु बताउँछन ।
प्रदेशका विभिन्न पालिकाहरुमा ई–सेवा केन्द्रको स्थापना गरी नागरिकलाई डिजिटल सेवा प्रदान गर्दै आएको छ । एकिकृत सेवा पोर्टलको विकास गरिएको छ जस्ले विभिन्न सरकारी सेवा एकै स्थानबाट प्राप्त गर्न सकिने भएको छ । मोवाइल एपहरु विकास गरी सूचना प्रवाहमा सहज बनेको छ । पाँचथरको फिदिम नगरपालिकाले कोशी प्रदेश सरकारकै सहयोगमा इ–फिदिम नामको मोबाइल एप सञ्चालन गरिरहेको छ ।
उक्त एपबाट सेवाग्राहीले प्रकोप व्यवस्थापन, बडापत्र, कर्मचारी विवरण, विभिन्न सूचनाहरु लगायतका विषय वस्तु हेर्न र प्रयोग गर्ने गरिरहेका छन । सो एपबाट सिफारिस, राजस्व, योजना माग सम्बन्धी विषयहरुको बारेमा सुविधा लिन प्रक्रिया भइरहेको सूचना प्रविधि अधिकृत प्रदिप अधिकारीले जानकारी दिनुभयो ।
फिदिम १२ का छविलाल न्यौपाने ले इ– फिदिम एप डाउनलोड गर्नुभएको छ । उहाँले नगरपालिका बाट जारी भएका विभिन्न सुचना, करको विवरण र प्रकोप व्यवास्थापन सम्बन्धी जानकारी एपबाटै लिने गरेको बताउँनुभयो ।
नाङगीन माविको प्रधानाध्यापक समेत रहनु भएका न्यौपाने नगरपालिकाका शैक्षिक गतिविधि समेत सोही एप बाट हेर्ने पाउदा समयको बचत भएको सुनाउनु हुन्छ । फिदिमकै खेमराज सुनुवार,शेखर पोख्रेल, आकाश लामा, आशिष तुम्बापोले पनि एपबाट फिदिम नगरपालिकाका गतिविधि घरबाटै नियाल्ने गर्नु भएको छ ।
नगरपालिकाको यो एप डाउनलोड गरेर सूचना वा जानकारी सँगै सेवा लिनेहरुको संख्या बृद्वी भइरहेको सूचना प्रविधि अधिकृत सुनाउनुहुन्छ ।
यस्तै प्रदेश सरकार अन्तरगत विभिन्न मन्त्रालय र कार्यालयहरुले सम्पादन गरेका काम कार्वाहिको निगरानी तथा विश्लेषण गर्न म्यानेजमेन्ट इन्फरमेशन सिस्टम पनि प्रयोगमा ल्याइएको छ ।
प्रदेश सरकारले सूचना प्रविधि तथा विद्युतीय सञ्चार माध्यम सञ्चालन सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गरी कार्यन्वयन गर्न तथा सञ्चार माध्यमहरु सञ्चानलका लागि अनुमती, इजाजत र नविकरण गरी अभिलेखिकरण प्रोत्साहन र नियमन गर्न आमसञ्चार विधेयक दर्ता गरेको छ ।
उक्त विधेयकमा ‘कोशी प्रादेशिक सञ्चार प्रतिष्ठान’ गठन गर्ने व्यवस्था गरिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूचना प्रविधिको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु हुन्छ । प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरु रहेकोले काठमाण्डौ पछि आइटी गन्तव्यका रुपमा विकास गर्न सकिने मुख्यमन्त्री कार्कीको भनाई छ ।
धेरै स्थानीय तहहरुमा इन्टरनेटको पहुँच पुगेको छ । डिजिटल सेवा प्रवाहका लागि नगरपालिका र गाउँपालिकामा सर्बर तथा नेटवर्क जडान भएको छ । विद्यालयहरुमा स्मार्ट बोर्ड र कम्प्युटर ल्याब स्थापना भएका छन् । अनलाइन सेवा, नागरिक एप, इ– भुक्तानी प्रणालीको सुरुवात भइसकेको छ । डिजिटल अभिलेख राख्ने प्रवृत्तिको विकास भएको छ । वेभ विकास, ग्राफिक डिजाइन जस्ता तालिमहरु पनि सञ्चालन भइरहेका छन् ।
कार्यालयहरुमा जडान भएका यस्ता प्रविधिले काम छिटो र छरितो हुने गरेको सेवाग्राहिहरु टिप्पणी गर्छन ।
प्रदेश सरकारको सुचना प्रविधि सम्बन्धी नीति
कोशी प्रदेश सरकार विद्यालय सँगै विभिन्न क्षेत्रमा सूचना प्रविधि विस्तारमा लागेको छ ।
प्रदेश सरकारले नीतिमा डिजिटल प्रदेश निर्माणलाई मुख्य प्रथमिकतामा राखेको हालै प्रश्तुत भएको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
जहाँ प्रदेशलाई ‘डिजिटल कोशी’ बनाउने दीर्घकालीन लक्ष्य,सरकारी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने योजना ‘एक नागरिक, एक डिजिटल पहिचान’ कार्यक्रम, डिजिटल पूर्वाधार विकास
ग्रामिण क्षेत्रसम्म इन्टरनेट सेवा विस्तार, प्रत्येक स्थानीय तहमा फ्रि वाइफाइ जोन स्थापना गर्ने,
सरकारी कार्यालयहरूमा डिजिटल नेटवर्क र डाटा सेन्टरको विस्तार, ई–गभर्नेन्स प्रवर्धन
सबै मन्त्रालयमा ई–फाइल प्रणाली लागू गर्ने, एकीकृत सरकारी सेवा पोर्टल सञ्चालनमा ल्याउने,
सरकारी दस्तावेजहरूलाई डिजिटाइजेशन गर्ने विद्यालयस्तरमै कोडिङ, एआई र रोबोटिक्स विषय समावेश गर्ने नीति, महिलाहरुका लागि आईटी सीपमूलक तालिम (थयगतज कपष्ििष्लन) सञ्चालन, प्रदेशस्तरीय आईटी इन्क्युबेसन सेन्टर स्थापना,साइबर सुरक्षासम्बन्धी नीति निर्माण गर्ने
सरकारी डाटा सुरक्षाका लागि क्लाउड सेवा तथा फायरवाल प्रविधि प्रयोग र
नागरिकको निजी सूचनाको गोपनीयता सुनिश्चित गर्ने जस्ता विषय समेटिएका छन ।

यस्तै सूचना प्रविधि क्षेत्रको स्टार्टअप व्यवसायहरूलाई अनुदान तथा कर छुट,
आईटी पार्क र टेक हब, विकासमा निजी क्षेत्रको लगानी प्रोत्साहन,
स्थानिय उद्यमीहरूलाई डिजिटल मार्केटिङ तालिम दिने योजना प्रदेश सरकारको प्राथमिकतामा परेका छन ।
प्रविधिमा बजेट व्यवस्थापन
कोशी प्रदेश सकारले डिजिटल पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यस अनतर्गत डिजिटल प्रणाली विकास, एआई सेन्टर स्थापना, इन्टरनेट सेवा विस्तार, सरकारी सेवा प्रणलीको डिजिटल रुपान्तरण र डिजिटल साक्षरता कार्यक्रमहरु सञ्चालन भइरहेको छ । डिजिटल पूर्वाधार र इको सिस्टम निर्माणका लागी ७४ करोड वजेट विनियोजन गरको छ । शिक्षालाई गुणस्तरीय, प्रतिश्पर्धी, सीपयुक्त, रोजगारमुलक एवम सूचना प्रविधिमैत्री बनाउन प्रदेश शिक्षा नीति र १० वर्षे शिक्षा क्षेत्र रणनितिक योजना निर्माण गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमका कार्यक्रमहरु प्रदेश तहबाट सञ्चालन तथा व्यवस्थापनका काम प्राथमिकतामा छन ।
सूचना प्रविधि क्षेत्रमा निजि क्षेत्रको सहभागिता र स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिएको छ । यस अन्तर्गत आइटी स्टार्टअपलाई अनुदान, कर छुट, प्राविधिक सहयोग र प्रोत्साहन गर्ने योजना प्रदेश सरकारको छ ।
सरकारले साइबर सुरक्षा र डाटा गोपनियतालाई सुरक्षित गर्न निति निर्माण गर्ने योजना अघि सारेको छ । यस अन्तर्गत सरकारी डाटा सुरक्षाका लागि क्लाउड सेवा तथा फायरवाल प्रविधिको प्रयोग गरिने भएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनले कोशी प्रदेशमा इन्टरनेट पहुँच विस्तार सँगै सूचना प्रविधि क्षेत्रमा नयाँ व्यवसाय सुरु गर्न सकिने सम्भावना देखाएको छ । यसले प्रदेशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कोशीको प्रमूख परियोजना

कोशी प्रदेशले सूचना प्रविधि क्षेत्रमा प्रमूख परियोजनाहरु ल्याएको छ । सबै सरकारी सेवा प्रणाली डिजिटल बनाउने, सिंगो प्रदेशका नागरिकहरुलाई डिजिटल आइडी दिने, मोबाइल एप, वेब पोर्टल डिजिटल काउन्टरको स्थापना गर्ने, प्रदेश स्तरिय डाटा सेन्टर निर्माण गर्ने, दुर्गम गाउँ र नगरहरुमा फाइबर इन्टरनेट सेवा पु¥याउने, स्थानीय तहसँगको समन्वयमा निशुल्क वाइफाइ जोनको व्यवस्था गर्ने, उद्यमी युवाहरुका लागि कोडिङ, वेभ डेभलपमेन्ट, एआई, साइबर सुरक्षा तालिम प्रदान गर्ने, सामुदायीक विद्यालयहरुमा कम्प्युटर ल्याबको स्थापना गर्ने लगायतका प्रमूख परियोजना कोशी प्रदेशको छ ।
सूचना प्रविधिमा लगानीकर्ताको आकर्षण
२०८१ वैशाख १८– १९ गते विराटनगरमा सम्पन्न कोशी प्रदेश लगानी सम्मेलन २०२५मा प्रदेश स्तरीय ठुला परियोजनामा निजि क्षेत्रको लगानी भित्राउने उद्देश्य रहेको थियो ।
२ अर्व १५ करोड बजेट सूचना प्रविधि सम्बन्धी प्रमुख परियोजनाका लागि छुट्याइएको थियो । हाल यी परियोजनाहरु कार्यन्वयन भइरहेका छन् । मोरङमा डिजिटल कोशी एप, भ् ( न्उखभचलबलअभ पाइलट, क्ष्त् तालिम, सुनसरीमा डाटा सेन्टर, ब्क्ष् ज्गद, स्कुल डिजिटाइजेसन, झापामा स्मार्ट स्कुल कार्यक्रम, भोजपुरमा क्ष्त् तालिम केन्द्र, धनकुटामा इ– गभर्नेन्स प्रणाली परिक्षण, तेह्रथुममा डिजिटल साक्षरता स्कुल कार्यक्रम, सप्तरीमा मोबाइल एप परिक्षण, उदयपुरमा स्कुल ल्याव स्थापना लगायतका परियोजनाहरु सञ्चालन भइरहेका छन् ।
कोशी प्रदेश सूचना प्रविधिको विकासका दृष्टिले अग्रसर हुँदैछ । डिजिटल पूर्वाधार, ई–गभर्नेन्स र शिक्षामा प्रविधिको प्रयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्न सके कोशी प्रदेशलाई सूचना प्रविधिमा उदाहरणीय प्रदेश बनाउन सकिने विज्ञहरुको सुझाव छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस