+
+

‘श्रम बेच्छु, सपना होइन’: कुम्मायक–१ यासोक बजारमा मञ्चन भयो विदेश पलायनविरुद्धको सडक नाटक

Clock २०८२ असार ५, बिहीबार २१:३५
-- Sponsored --

पाँचथर, कुम्मायक 

देशमै श्रम गरेर सम्मानपूर्वक बाँच्न सकिन्छ भन्ने सन्देश दिन कुम्मायक गाउँपालिका–१ यासोक बजारमा सन्देशमूलक सडक नाटक मञ्चन गरिएको छ। ‘श्रमको सम्मान राष्ट्रियको अभियान’ अन्तर्गत गाउँपालिकाको रोजगार शाखाको आर्थिक सहयोगमा क्षितिज नाट्य समूह, पाँचथरले उक्त नाटक प्रस्तुत गरेको हो।

नाटकमा दुई फरक दृष्टिकोणका युवाहरूको कथा देखाइन्छ — एकले गाउँमै कृषिको माध्यमबाट आत्मनिर्भरता हासिल गरेका छन् भने अर्को पात्रले विदेशको मोहमा ज्यान गुमाएका छन्।

पहिलो दृश्यमा डिग्री पास एक युवकले गाउँमै साग खेती गरेर महिनामा एकदेखि डेढ लाख रुपैयाँसम्म कमाइ गरिरहेको देखाइन्छ। दोश्रो दृश्यमा अर्का युवक विदेश जान जिद्दी गर्दा अन्ततः उनको मृत्युको खबर घर आइपुग्छ।

नाटकले ‘देशमै श्रम गरौं, सम्मानका साथ बाँचौं’ भन्ने सशक्त सन्देश बोकेको छ। विशेषगरी युवालाई परदेश जानु अघि सोच्न प्रेरित गर्ने र आफ्नै देशमै पसिना बगाएर आत्मनिर्भर बन्न सकिने सम्भावनाको उजागर गरिएको छ।

नाटक लेखन तथा निर्देशन कुमार ढकालले गरेका हुन्। अभिनयमा कुमार ढकाल, बालकृष्ण बाँस्कोटा, रजनी हाङ्सरुम्बा, नारायण काफ्ले र क्रिस ढुङ्गानाको सहभागिता रहेको थियो।

क्षितिज नाट्य समूह फिदिमका अध्यक्ष राजेन्द्र काफ्लेले नाटकले श्रमको सम्मानप्रति सकारात्मक सोच निर्माण गर्ने विश्वास व्यक्त गरे।

उल्लेख्य संख्यामा स्थानीय दर्शकको उपस्थिति रहेको कार्यक्रममा धेरैले मर्मस्पर्शी प्रस्तुति र सामाजिक सन्देशप्रति गहिरो संवेदना र सराहना व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस