0 प्रतिक्रिया
हेंवाखोलामा तीन वर्षदेखि उस्तै समस्या, उस्तै सास्ती
पाँचथर, ५ साउनः
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि वि.सं. २०८० साल असार तेश्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनु पर्ने थियो। बाढीले हेंवा खोलाको सडक पुल बगाएको उहाँलाई जानकारी नै थियो। तर आर्थिक वर्ष सकिन लागेकाले नआई नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीका साधन बेलाबखत मात्रै चल्ने भइसकेका थिए।
जोडबलले सवारीको साधनमा स्थान पाएर उहाँ पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म आइपुग्नु भयो । हेंवा खोलामा सडक अवरुद्ध भएकाले करीव दुई किलोमिटर पैदल यात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीका साधन हुँदै उहाँ फिदिम आइपुग्नु भयो ।
गत वर्षको असोजमा उहाँकी श्रीमती विरामी परेपछि उपचारका लागि अस्पताल जानुपर्ने भयो । विरामी श्रीमती लिएर फिदिम आउँदा हेंवा खोलामा अघिल्लो वर्षायामको जस्तै सास्ती आचार्यले खेप्नु प¥यो। यस वर्ष हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि वर्षायाममा यात्रा नगर्ने अठोटमा आवश्यक सामग्री जोहो गरेर बस्ने सोचाइमा आचार्य हुनुहुन्थ्यो।
तर जेठ दोश्रो साता उहाँलाई करेन्ट लाग्यो । नियमित फलोअपमा अस्पताल धाउनुपर्ने बाध्यता आचार्यको छ । “यस वर्ष आफैं विरामी भएकाले फलोअपका लागि अस्पताल जाँदै छु”, आइतवार फिदिम आउँदै गर्नुभएका आचार्यले भन्नुभयो, “तर यस वर्ष पनि उस्तै सास्ती खेप्नु प¥यो।”
आचार्य हेंवा खोलामा लगातार तीन वर्षायाममा आइपरेको समस्याको प्रत्यक्ष साक्षी हुनुहुन्छ । आचार्यले भनेजस्तै मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले यहाँ रहेको पक्की सडक पुल बगाएको थियो । यहाँ एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रवन्ध मिलाइयो । त्यसको करीव दुई महिनापछि सोही स्थानमा बेलिब्रिज जडानको कार्य सम्पन्न भयो।
गत वर्ष असोज १२ गते वेमौसमी वर्षापछि आएको बाढीले १३ महिनाअघि जडित बेलिब्रिज बगायो । बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो। हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो।
निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो। सडक डिभिजन कार्यालय इलामले रु. तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो । बेलिब्रिज भाँचिदा निर्माण कार्यमा सम्लग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान नै गयो।
यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो । तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराती आएको बाढीले यहाँ निर्माण गरिएका दुई वटा डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ । यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकामा आक्रोशित छन ।
“बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्छ”, उपचारका लागि फिदिम आउँदै गर्नुभएका यात्रु आचार्यले भन्नुभयो, “यो सास्तीको उपाय चाहिँ खोज्नुपर्छ । कडाईका साथ नियमन गरेका भए हुन्थ्यो । छोटो बाटो विकल्पका रुपमा खोज्न किन सकिएन होला ?”
आचार्यकै छिमेकी राजेशकिरण भट्टराई आफ्नी दुई महिने सुत्केरी श्रीमतीलाई रोगको सङ्क्रमण देखिएपछि उपचारका लागि दुई वर्षअघि यसै सिजनमा ल्याउनु परेको सम्झनुहुन्छ। “त्यो बेला साह्रै सास्ती भोग्नुपरेको थियो”, भट्टराईले भन्नुभयो, “यस वर्ष पनि उस्तै अवस्था रहेछ । यस वर्ष दुई वर्षको छोरोलाई कानमा समस्या देखिएपछि उपचारका लागि ल्याउँदै छु ।”
सवारीका साधन छोडेर भारी र बालबच्चासहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता यात्रुहरुको छ । “यस्तो हैरानी सधैं दोहोरिरहेको किन होला भनेर हामीले बुझ्न सकेनौं”, भट्टराईले भन्नुभयो । यात्रुहरुका सामग्री स्थानीयवासी युवाहरुले केही शुल्क लिएर वारपार गराउँदै आएका छन। अशक्त यात्रुहरुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ । तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठीन छ । यस राजमार्गमा दैनिक हजारौं यात्रु यात्रा गर्ने गर्दछन।
तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुहरुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी ब्यवसायी धनमता गुरुङको भनाइ छ। “पुल नहुँदा यात्रुहरुले धेरै दुःख पाइरहेका छन । सरकारले गम्भीर भएर काम नगरेको हो कि जस्तो लाग्छ हामीलाई”, गुरुङले भन्नुभयो।
सडक डिभिजन कार्यालय इलामका इन्जिनियर सीताराम गौतमका अनुसार भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको छ । भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपूर्जा भारतबाट मगाइएको थियो । तर एक सातादेखि ती पार्टपूर्जा भन्सारमा आएर थन्किएका छन । “भन्सारमा थन्किएका पार्टपूर्जा आउनासाथ जडानको काम सुरु गर्छौं”, गौतमले भन्नुभयो, “यहाँको समस्याको सहज समाधान भनेकै बेलिब्रिज जडान गर्नु हो ।”
समग्र निर्माण कार्यको ८० प्रतिशतभन्दा बढी काम भइसकेको ७० मिटर लामो बेलिब्रिज गत जेठ ३१ गते निर्माणकै क्रममा भाँचिएपछि यहाँ पुल निर्माण अझै अन्यौलमा छ । बेलिब्रिज भाँचिएका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा समिति नै गठन गरी छानबिन गरेको थियो।
सो समितिले प्राविधिक त्रुटीले बेलिब्रिज भाँचिएको र सोही स्थानमा बेलिब्रिज जडान गर्नु समस्या समाधानको उपयुक्त विकल्प हुने निश्कर्ष निकालेको थियो । तर भाँचिएको बेलिब्रिज खुस्काउने काम सकिएको दुई सातासम्म पनि नयाँ जडानको काम अघि बढ्न नसक्दा यात्रुहरु आक्रोशित छन ।
यही पुलले ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ। निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीका साधन सञ्चालन गर्न सम्भव हुने छैन । जसको असर प्रभावित क्षेत्रका विरामी, विद्यार्थी तथा उत्पादित कृषि उपजमाथि पर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











