0 प्रतिक्रिया
७५ औँ वार्षिकोत्सवको अवसरमा फिदिम माविमा हिरक महोत्सव हुने
पाँचथर-पाँचथर जिल्लाको सदरमुकाम फिदिममा अवस्थित फिदिम माध्यमिक विद्यालयले ७५ औँ वार्षिकोत्सवको अवसरमा हिरक महोत्सव आयोजना गर्ने भएको छ।
विद्यालयका अनुसार महोत्सव यही माघ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको पहिलो दिन माघ ९ गते उद्घाटन कार्यक्रम, म्युजिकल पीटी प्रदर्शन, सांस्कृतिक झाँकी, स्मारिका विमोचन, हिरक स्मारक अनावरण, सम्मान तथा अभिनन्दन, विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनीका साथै विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
त्यस्तै महोत्सवको दोस्रो दिन फिदिम नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, इन्जिनियरिङ तथा विज्ञान प्रदर्शनी, कक्षा १२ सम्मका छात्र-छात्राबीच मिनी म्याराथन, फिदिम माध्यमिक विद्यालयका शिक्षक- कर्मचारी र फिदिम नगरपालिकाका जनप्रतिनिधीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथा उत्प्रेरणामूलक प्रवचन कार्यक्रम रहने विद्यालयले जनाएको छ।

महोत्सवको अन्तिम दिन सम्मान कार्यक्रम, सांस्कृतिक प्रस्तुति, विद्यार्थी प्रतिभा प्रदर्शन तथा शैक्षिक सामग्री प्रदर्शनीसहित समापन गरिनेछ।
तीन दिनसम्म सञ्चालन हुने हिरक महोत्सवको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी लोगो तथा ब्यानरको उद्घाटन गरिएको छ। लोगो तथा ब्यानरको औपचारिक उद्घाटन कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा रहनुभएको थियो भने फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षक–अभिभावक संघका अध्यक्ष तथा पूर्वअध्यक्षहरू, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम फिदिम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रप्रसाद नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको हो।












