0 प्रतिक्रिया
कुम्मायकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
AI सारांश
Fast AI१. कुम्मायक गाउँपालिकामा जेठ १३ र १४ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ।
२. शिविरमा सामान्य चिकित्सा सेवा अन्तर्गत उच्च रक्तचाप, मधुमेह, दम, थाइराइड, ग्यास्ट्रिक, मुटु, कलेजो तथा मिर्गौला सम्बन्धी रोगहरूको परीक्षण तथा उपचार गरिने छ।
३. शिविरमा विशेषज्ञ सेवा अन्तर्गत सर्जरी, बालरोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी सेवा उपलब्ध गराइने छ।
मनोज थापा, पाँचथर
पाँचथर । कुम्मायक गाउँपालिकामा सञ्चालन हुन लागेको बृहत् निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी गराउने उद्देश्यले मंगलबार नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कुम्मायक गाउँपालिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने नेपाली सेना वीरदल गणका गणपति किशोर अधिकारी विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक गाउँपालिका स्वास्थ्य संयोजक केदार बहादुर खड्का, सेमिक लावती, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा लगायत जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कुम्मायक आधारभूत अस्पतालका मेडिकल अफिसर डा. एरिक बाँस्कोटाले आगामी जेठ १३ र १४ गते सञ्चालन हुने बृहत् निःशुल्क स्वास्थ्य शिविरबारे विस्तृत जानकारी गराएका थिए। उनले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच अभावका कारण सामान्य रोगसमेत जटिल बन्दै गएको उल्लेख गर्दै शिविरमार्फत धेरै भन्दा धेरै नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे।
डा. बाँस्कोटाका अनुसार श्री पूर्वी पृतना हे.क्वा.को मार्ग निर्देशन, श्री नं. २१ बाहिनी अड्डाको पहल, श्री सैनिक अस्पताल इटहरी तथा श्री नं. २१ फिल्ड एम्बुलेन्स गुल्मको सहभागिता, नेपाली सेना श्री वीरदल गणको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। कुम्मायक गाउँपालिकाको व्यवस्थापकीय सहयोग तथा कुम्मायक आधारभूत अस्पतालको समन्वयमा सञ्चालन हुने शिविर यासोक बजारस्थित १५ शैयाँ कुम्मायक आधारभूत अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
उनका अनुसार शिविरबाट कुम्मायक, तुम्बेवा, फाल्गुनन्द, मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।
शिविरमा सामान्य चिकित्सा सेवा अन्तर्गत उच्च रक्तचाप, मधुमेह, दम, थाइराइड, ग्यास्ट्रिक, मुटु, कलेजो तथा मिर्गौला सम्बन्धी रोगहरूको परीक्षण तथा उपचार गरिने उनले बताए।
त्यस्तै विशेषज्ञ सेवा अन्तर्गत सर्जरी, बालरोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी सेवा उपलब्ध गराइने जानकारी दिइएको छ।
शिविरमा हर्निया, हाइड्रोसिल, पित्तथैलीको पत्थरी, पायल्स, फिस्टुला लगायतका समस्याको शल्य मूल्याङ्कन गरिनुका साथै माइनर ओ.टी. सेवा अन्तर्गत सिस्ट, लाइपोमा तथा सामान्य घाउको सानो शल्यक्रिया समेत गरिने डा. बाँस्कोटाले बताए।
महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघर खस्ने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने समस्या तथा गर्भवती महिलाको भिडियो एक्स–रेमार्फत परीक्षण गरिने जनाइएको छ। बालबालिकाका लागि कुपोषण, निमोनिया, झाडापखाला तथा वृद्धि विकास सम्बन्धी परीक्षण गरिनेछ।
त्यस्तै हाडजोर्नी तथा नसासम्बन्धी समस्या, बाथ रोग, कम्मर तथा ढाड दुख्ने समस्या, छालाका रोग, एलर्जी, लुतो, कान पाक्ने, पिनास, टन्सिल, मोतिविन्दु तथा दृष्टिदोष सम्बन्धी परीक्षण पनि गरिनेछ।
शिविरमा भिडियो एक्स–रे (USG), इसिजी, अत्याधुनिक प्रयोगशाला सेवा, रगत तथा दिसा–पिसाब परीक्षण, थाइराइड, हेपाटाइटिस, HIV लगायतका परीक्षण निःशुल्क गरिने डा. बाँस्कोटाले जानकारी दिए। साथै विशेषज्ञ चिकित्सकले सिफारिस गरेका औषधि समेत निःशुल्क वितरण गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्लेले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुन लागेको बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलताको शुभकामना व्यक्त गरेका थिए। उनले यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले शिविरलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए। लावतीले शिविरसम्बन्धी सूचना गाउँ–गाउँसम्म पुर्याई उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सेवा लिन प्रेरित गर्न पत्रकार तथा सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









