मनोज थापा
पाँचथर: किरात धर्मगुरु मुहिङगुम आङ्सिमाङ लिङ्देन सेईङको ७१ औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकामा मङ्गलबार (मंसिर १८ गते) सार्वजनिक विदा दिइएको छ।
दुवै पालिकाले औपचारिक सूचना जारी गर्दै यस क्षेत्रका स्थानीय बासिन्दाका लागि विदा दिने निर्णय गरेका हुन्। धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा माङसेबुङ गाउँपालिका-५ मा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै आएको छ। किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस क्षेत्रमा हरेक वर्ष धर्मगुरुको जन्मोत्सव भव्य रूपमा मनाइन्छ।
धर्मगुरु आत्मानन्द लिङदेन किरात धर्मावलम्बीहरूका लागि प्रेरणाको स्रोत हुन्। यस अवसरमा स्थानीय बासिन्दाले माङसेबुङ र वरपरका क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्।