काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ।
यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था उल्लेख गरेका छन् ।
प्रहरीले उनीविरुद्ध हिजो मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायत ३ वटा मुद्दा दायर गरेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा संघीय संसद सचिवालयमा जानकारी गराए पछि उनी आज निलम्बनमा परेका हुन । उनी चितवन–२ बाट निर्वाचित सांसद तथा सो पार्टीका संसदीय दलका नेता समेत हुन् । निलम्बनमा परेसँगै उनले संघीय संसद सचिवालयवाट पाउने तलब भत्तालगायत सबै सेवावाट बञ्चित भएका छन ।
खासमा संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति सुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनालाई मुख्य आधार बनाएर संसद सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो ।