युद्धबहादुर बोहोरा
इलामः नेपालमा रोजगारीको अवसर नपाएर अधिकांश युवा देश बाहिर रहेको खबरे सुन्न पाइन्छ अनि यथार्त पनि यही छ। नेताले भाषण गर्ने विभिन्न राजनीतिक दलका कार्यक्रममा छिटफुट मात्रै मानिसहरुको उपस्थिति हुने गर्दछ। जे जति आफ्नो घरमा छन् उनीहरु राजनीतिक कार्यक्रममा सहभागी हुन कमै चासो राख्छन्। तर, पछिल्लो समयमा विभिन्न ठाउँमा हुने महोत्सव तथा साँगीतिक कार्यक्रममा दर्शकको भने भिड लाग्ने गरेको छ। यति धेरै मान्छे कहाँबाट कसरी आउँछन् त ? यो धेरैलाई चासोको विषय बनेको छ । यी सबै कुरा हरेक मानिसको इच्छा र चाहानामा भर पर्दछ। प्रायः संगीत मन नपराउने मानिसक कमै होलान्। संगीतले सबै कुरा भन्दा बढी आनन्द दिलाउँछ भन्दा फरक नपर्ला । प्रत्येक मानिसलाई मनोरन्जन आवश्यकता पर्दछ । यसैकारण संगीत प्रेमीहरु साँगीतिक कार्यक्रम संचालन हुने थाहा पाएसंगै उनीहरुको आकर्षण त्यतातिर केन्द्रीत हुने गरेको छ । यस्तै भयो इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पास्थित दोकानडाँडा बजारमा । कक्फेवा तङ्नाम २०८१ का अवसरमा माघे संक्रान्तीका दिन आयोजित साँगीतिक कार्यक्रममा चर्चित गायिका मेचु धिमाल आउने प्रचारप्रसारले धेरै दर्शकको कार्यक्रम हेर्ने रहर बढेको स्थानीय संगीतप्रेमी नवीन बस्नेत बताउँछन् । राष्ट्रिय कलाकारलाई दुरदराजमा देख्न पाउने सौभाग्य ठान्दै बच्चादेखि बुढापाकहरु यस कार्यक्रममा उर्लिएर आए ।
नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सुनिरहने नाम मेचु धिमाल । ढाकाको सारी र चौबन्दी चोली अनि परम्परागत गरगहनामा सजिएकी धिमालले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । उनले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै दोकानडाँडाको माहोलसमेत तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।
निकै लामो समयदेखि सांगीतिक दुनियाँमा आफ्नो करियर बनाउँदै यस क्षेत्रमा होमिएकी मेचुले आफैले संगीत गरेका राम्रो सृजनाहरु दर्शक तथा श्रोता सामु पस्कने गरिकी छिन् । श्रोता दर्शकले पनि रुचाउने उनको आफ्नो छुट्टै पहिचान छ । असल संस्कार तथा संस्कृतिलाई ह्रदयदेखि नै माया र सम्मान गर्दै सभ्य अनि सुन्दर प्रस्तुती दिनु आफ्नो कर्तव्य भएको उनको भनाई छ । आफ्नो सांगीतिक करियरमा सफल र लोकप्रिय गितहरुसंग संगीत प्रेमी श्रोता, दर्शक माझ आफ्नो अलग्गै पहिचान बनाउदै अघि बढिरहेकी धिमाल हाल धेरैको प्रिय गायिका बन्न सफल भएकी छिन् । भिडियो निर्देशन, गीतको सृजना र आँफै संगीत गर्न पनि अब्बल रहेकी उनले हालसम्म डेढसय हाराहारीमा गित गाईसकेकी छिन् । उनका धेरै गीतहरु लोक संगीतमा आधारित छन् । जस्लाई बुढापाकाले पनि मन पराउने गरेका छन् ।
कक्पेवा तङ्नाम मेला आयोजक समिति, फाकफोकथुम ७ एकतप्पास्थित दोकानडाँडाद्वारा आयोजित कार्यक्रममा उनीसंगै बालगायक तुफान मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई नचाए । राती ११ बजेसम्म चलेको सांगातिक कार्यक्रम झण्डै बृहत महोत्सव सरह देखियो । साँझपख संचालन भएको बृहत साँस्कृतिक कार्यक्रममा बालगायक मगरको बेजोड प्रस्तुतीले माहोल अझै मनोरन्जनात्म बन्यो । साथमा नृत्य निर्देशक तेज मगरको पनि उपस्थिति थियो । स्थानीय युवा समाजसेवी आयोजक समितिका सल्लाहकार प्रकाश परियारले साँगीतिक कार्यक्रम सञ्चालन गरेको थिए । स्थानीय कलाकरहरुको पनि प्रस्तुती थियो भने नृत्य प्रतियोगितासमेत भएको र उत्कृष्ट नृत्यकारलाई पुरस्कृत गरिएको आयोजक समितिका सचिव होमकुमार लायो मगरले जानकारी दिए ।
साथमा शैक्षिक तथा सन्देशमुलक कार्यक्रम पनि
दिउँसोको कार्यक्रममा फाकफोकथुम गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । साथै पालिका भित्रका विद्यालयबाट गतवर्ष एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सिंह देवी मावि एकतप्ताका छात्र शिक्षा खनाल र उत्कृष्ट नतिजा प्राप्त गर्ने जालपा मावि लुम्देलाई कदरपत्रसहित सम्मान गरिएको छ । गत शैक्षिक सत्रमा १२ कक्षामा पालिका भरिमा उत्कृष्ट जीपीए प्राप्त गर्ने सिंहदेवी मावि आमचोकका छात्र प्रतिक पौडेल र छात्रातर्फ प्रज्ञा समाललाई पनि सम्मान गरिएको छ ।
पालिका भरिका माध्यमिक तहका जम्मा ११ वटा सामुदायिक विद्यालय मध्ये पाँच वटाले हाँजिरी जवाफतर्फ सहभागीता जनाएका थिए । प्रथम हुने जालपा मावि लुम्दे, दोस्रो सिंह देवी मावि फुएतप्पा,तेस्रो सिंह देवी मावि एकतप्पा,चौथो सिंह देवी मावि आमचोक र पाँचौमा जनकल्याण मावि दोकानडाँडा रहेका छन् । प्रथमलाई दश हजार नगद,दोस्रोलाई नगद पाँच हजार र तेस्रोलाई तीन हजार कप,मेडल तथा प्रमाणपत्रसहित शैक्षिक सामाग्री प्रमुख अतिथि पालिका उपाध्यक्ष कल्पना राई,विशेष अतिथि किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष बुद्धमाया सोङ्मी,वडाध्यक्ष छत्रबहादुर लिम्बूलगायतका अतिथिले हस्तान्तरण गरेका थिए । यसैबीच विभिन्न जातजातिहरूको झाँकी प्रदर्शनमा च्याब्रुङ ( केलाङ नाच) लाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई फाकफोकथुम ७ नम्बर वडाकार्यालयले प्रायोजन गरेको हो ।
जनकल्याण मा.वि. का पूर्वप्रधानध्यापक दुर्गा बहादुर लिम्बुले पुरस्कारको व्यवस्थापन गरेका थिए । मेला संचालन गर्न ७ नम्बर वडाकार्यालय र देश तथा विदेशमा रहेका नेपाली साथै स्थानीवासीले आर्थिक सहयोग गरेका छन् । वक्तृत्वकला प्रतियोगितामा जनकल्याण मावि दोकानडाँडाबाट छात्रा रेजिना लिम्बू प्रथम भइन् भने सिंह देवी मावि एकतप्ताबाट रुविना खनाल दोस्रो र जालपा मावि लुम्देबाट साधना चौहान तेस्रो भइन् । खेमराज लिम्बू,काजीमान येक्तेन र राजेन्द्र योङ्हाङले शैक्षिक कार्यक्रमको गतिविधि संचालनसहित निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
साँझको कार्यक्रममा खुल्ला नृत्य प्रतियोहितमा सात जना सहभागी मध्ये प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार प्रदान गरिएको थियो । प्रथम पुरस्कार स्थानीय समाजसेवी रविन राईले व्यवस्थापन गरेका थिए भने दोस्रो पुरस्कार स्थानीय युवराज लिम्बूले अन्य आयोजकले गरेको जनाइएको छ । प्रमुख अतिथि पालिका उपाध्य राई,विशेष अतिथि सोङ्मी,वडाध्यक्ष लिम्बू,विभिन्न विद्यालयका प्रधानध्यपक,स्थानीय वासी, राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जनचेतना र सन्देशमुलक शैक्षिक कार्यक्रम र संस्कार,संस्कृति संरक्षणमा कफेक्वा तङ्नामको महत्व दर्शाउने उदेश्यले आयोजना गरिएको आयोजक समितिका अध्यक्ष पञ्चबहादुर योङ्हाङ्ले जानकारी दिए । यस ठाउँमा हरेक वर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै चर्चित कलाकारको प्रस्तुती गाउँघरमा हेर्न पाउने अवसर र मनोरन्जनसमेत दिलाउने आयोजनासमितिले अपेक्षा गर्दै पालिकाको प्रवर्दधनमा सहयोग पुर्याउने जनाएको छ।
दोकानडाँडामा दर्शकको ओइरो, मेचु धिमालले तताइन् माहोल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
सम्बन्धित खवर
Advertisment